- किशोर नेपाल
अघिल्लो वर्ष भदौको २३ र २४ गते भएको जेनजी विद्रोहको परिणाम स्वरूप गएको फागुन २१ मा भएको ‘असामयिक’ चुनावले सङ्घीय गणतन्त्र नेपालको शासन, प्रशासन र नियमित खालको सुस्त गतिको राजनीतिमा ठुलो उथल पुथल ल्यायो ।
ती परिवर्तनका असरहरू अहिले सतहमा आउन थालेका छन् । देशको राजनीतिक अवस्था अझै सम्हालिएको छैन । राजनीति र प्रशासन आफ्नो गतिमा आइपुग्न थप केही समय लाग्नेछ ।
खास गरेर, नेपालमा लोकतान्त्रिक राजनीतिको ‘माउ’ पार्टीको रूपमा रहेको नेपाली काँग्रेस र २०४६ सालमा नेपाली राजनीतिका ‘लौहपुरुष’ गणेशमान सिंहको नेतृत्वमा भएको पहिलो जन–आन्दोलनका सहयात्री रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी–लेनिनवादीको सरकारको ‘अविच्छिन्न कुशासनका विरुद्ध’ भनिएको जेनजी विद्रोहको नालीबेलीको चर्चा पनि अव समीचीन रहेन । जेनजी आन्दोलन पृष्ठभूमिमा परिसक्यो ।
पन्चायतकालमा राजा महेन्द्र ‘देशका लागि दलीय व्यवस्था अफाप सिद्ध भएको’ नारा लगाउँथे । त्यही नाराको भरमा राजाको सक्रिय नेतृत्वमा सुरु भएको निर्दलीय शासन तीस वर्ष चलेको थियो । त्यो शासनको अन्त्य २०४६ मा भएको थियो ।
त्यसपछिको समयमा पनि नेपाली राजनीति स्थिर रहेन । कहिले काँग्रेस भित्रको आन्तरिक द्वन्द्व, कहिले एमालेसँगको असहमति र त्यसपछिको माओवादी जनयुद्धका कारण नेपाल र नेपालीको भाग्य निर्माणका काम हुनै पाएनन् ।
त्यसपछि आयो २०६२–६३ को जनआन्दोलन र सङ्घीय गणतन्त्र नेपालको घोषणा । २०६२–६३ पछि बल्ल राजनीतिक स्थायित्व आउला आउला जस्तो स्थितिमा पुगेको थियो । लामो रस्साकसीपछि २०७२ देखि राजनीति लयमा फर्किन थालेको हो ।
गत वर्ष भदौमा भएको जेनजी विद्रोहको राप र तापमा फागुनमा सम्पन्न भएको चुनाव नेपाली काँग्रेस, एमाले र माओवादी लगायतका दलहरूका लागि अफाप साबित भयो । रवि लामिछानेको नेतृत्वमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ महानगर पालिकाका पूर्वमेयर बालेन साहसँगको सहकार्यमा, उनैलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर फागुन २१ को चुनाव लड्यो ।
चुनाव परिणाम रास्वपाको पक्षमा गयो । रास्वपाले प्रतिनिधि सभालाई आफ्नो कब्जामा लियो । चुनावी राजनीतिको यो परिदृश्यमा सबैभन्दा बढी घात–प्रतिघातको सिकार भए नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमाले ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विशेष अधिवेशनको आयोजना गरेर जेनजी आन्दोलनका नाममा आएका आक्रमणकारीहरूले मरणासन्न अवस्थामा पुर्याइएका काँग्रेस सभापति शेरबहादुर देउवालाई अपदस्थ गरे । चुनावको मुखैमा भएको त्यो विशेष अधिवेशन ‘जायज’ थियो कि ‘नाजायज’ ? यो प्रश्नको जवाफ के दिनुपर्ने हो ? कसरी दिनुपर्ने हो ? यो कुरा काँग्रेसीहरू आफैले सोचुन् र बुझुन् ।
फागुन २१ गते भएको चुनावमा गगन थापा र उनले हस्ताक्षर गरेको उम्मेदवारीको पत्र बोकेर चुनाव लड्न पुगेका अधिकांश काँग्रेसी पराजित भए । उनीहरूको यो पराजय अस्वाभाविक थिएन । आफ्नो राष्ट्रिय छवि स्थापित गर्ने जोस सहित चुनाव लड्न सर्लाही पुगेका गगन थापा रास्वपाका नेता अमरेशकुमार सिंहसँग पराजित भए । सर्लाहीमा गगनको ‘चमत्कारिक’ व्यक्तित्वले काम गरेन ।
चुनावपछि आफूले कब्जा गरेको काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित बैठकमा गगनले चुनावमा भएको पराजय स्वीकार गर्दै नाटकीय ढङ्गले ‘सभापति’ पदबाट राजीनामा दिए । त्यसलाई उनका घनिष्ठ मित्र विश्वप्रकाश शर्माले उत्तिकै नाटकीय ढङ्गले तत्काल अस्वीकृत गरे ।
कम्युनिस्ट पक्षका लागि त चुनावी परिणाम झनै दुःखदायी रह्यो । काङ्ग्रेससँग ‘आलोपालो’ प्रधानमन्त्री पद चलाउने सम्झौता गरेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रबाट चुनाव हारे । उनको हातमा रहेको ‘सत्ता’ रास्वपाका उम्मेदवार बालेन साहको हातमा गयो ।
अहिले ओली पार्टीभित्र विवादको भुमरीमा परेका छन् । कम्युनिस्ट-काँग्रेस दुवै पक्षका शीर्ष नेताहरूमा पुष्पकमल दाहाल प्रचण्ड मात्रै आफ्नो साख जोगाउन सफल भए । रुकुमका जनताले प्रचण्डको साथ दिएर उनको साख जोगाइ दिए ।
यतिबेला नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) आन्तरिक रडाकोमा परेका छन् । कांगे्रस दुई समूहमा विभाजित भई सकेको छ भने एमाले विभाजनको डिलमा छ । तै, नेतृत्व पङ्क्तिमा रहेका एमालेका नेताहरू केपी ओलीलाई अध्यक्ष पदबाट हटाएर एमालेलाई साबूत राख्न चाहन्छन् । ओली भने देशको सत्ताबाट च्युत भए पनि पार्टीको सत्ता छाडन तयार देखिदैनन ।
जेनजीका नाममा आएका असामाजिक तत्त्व र हुल्याहाहरूको आक्रमणमा परेर गम्भीर घाइते भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सैनिक अस्पतालमा प्रारम्भिक उपचार गराएर थप उपचारका लागि विदेश लागेका थिए । उनी लामै समय विदेशमा रहँदा देशमा उनका बारेमा नानाथरि हल्ला चल्न थालेका थिए । तर, उनी केही दिनअघि मात्रै स्वदेश फर्किएर पार्टी गतिविधिमा सक्रिय हुन थालेका छन् । उनको आगमनसँगै काँग्रेसका सबै ‘गुट’ सक्रिय भएका छन् । ठुलै रडाको मच्चिएको छ काँग्रेसमा ।
देउवाले शान्त स्वभावका भद्र व्यक्तित्व तथा सुप्रसिद्ध नेत्र चिकित्सक डा.शशाङ्क कोइरालालाई महाधिवेशनको संयोजक बनाएर पार्टीमा आफ्नो पकड र प्रभाव मजबुत बनाउने रणनीति लिएको देखिन्छ । नेपाली राजनीतिमा बीपी कोइरालाका कान्छा सुपुत्र शशाङ्क काँग्रेस राजनीतिमा अहिले देखिएका विकृतिहरू हटाउन प्रभावशाली हुने आशा धेरैले राखेका छन् ।
उनलाई देउवाका ‘पोष्टरब्वाइ’ भन्नेहरूको पनि कमी छैन । तर, शशाङ्कको चेहरामा बीपीको आकृति झल्किने मात्र होइन उनको बोली पनि विवेकी र तार्किक सुनिन्छ । देउवा नेतृत्वको काँग्रेसले पार्टी विवादको टुङ्गो लगाउन सर्वोच्च अदालत पनि गुहारेको छ । त्यताबाट आउने आदेश सकारात्मक अथवा नकारात्मक के हुनेछ ? अनुमान लगाउन सकिँदैन ।
देउवा पक्षका मानिने काँग्रेसका कतिपय नेताहरू पछिल्लो समयमा गगनतिर लहसिन थालेका छन् । पार्टीभित्र इमानदार र मध्यमार्गीका रूपमा परिचित पूर्ण खडका जस्ता नेताहरू अहिले पनि ‘किं कर्तब्यविमूढ’ मनस्थितिमा देखिएका छन् । पछिल्लो समयमा काङ्ग्रेसभित्र उनी नजिक मानिएका उनका केही ‘हितैषीहरू’ गगन पक्षमा खुल्न थालेका छन् । उनीहरू मध्ये एक जनाको भनाइ थियो: म जोगी हुन राजनीतिमा लागेको होइन ।








































































