इटहरी: निर्माणाधिन रानी–बिराटनगर–इटहरी सडक चौडा पार्नका लागि संघर्ष समितिले बुधबार सडक विभागलाई पनि ज्ञापन पत्र बुझाएको छ ।

संघर्ष समितिका संयोजक मदन चुडालका अनुसार ६ लेन सडक राजमार्ग ऐनले तोकेको सीमा केन्द्रबाट २५–२५ मिटर दाँया र बाँया कायम रहने गरी सर्भिस लेनसहितको व्यवस्था गर्न माग गर्दै विभागमा ज्ञापन पत्र बुझाइएका हो । मापदण्ड विपरीत इटहरीको मुख्य चोक क्षेत्रमा सडक नभएको भन्दै स्थानीय युवाहरु आन्दोलित छन् । तरहरा क्षेत्रमा भने मापदण्ड अनुसार नै सडक विस्तार गरिएको थियो । इटहरीमा भने ठुला व्यापारी र पहुँचवालाहरुको घर जोगाइदिन सडक साँघुरो बनाइएको संघर्ष समिति तथा स्थानीय युवाहरुको आरोप छ ।

6-lean-(1)

सडक विभागले साढे ८२ फुट सडक निर्माण गर्ने भनिएको भएपनि इटहरीको मुख्य चौक आसपासमा ६५ फुट मात्र सडक चौडा गरिएको संघर्ष समितिको भनाई छ । समितिले यो काम तत्काल रोक्नुपर्ने अथवा बराबर फुट बाटो हुनुपर्ने मागसहित ज्ञापन पत्र सडक विभागमा बुझाएको हो । सडक विभागका इन्जिनियर रमेशकुमार गोईतलाई ज्ञापन पत्र बुझाइएको संघर्ष समिति संयोजक चुडालले जानकारी दिए । 'कतै घटी कतै बढी भन्दा पनि सबैतिर दीर्घकालीन फाइदाका लागि बराबर सडक बनाउँनुपर्छ,'चुडालले भने ।

ज्ञापन पत्र लिएपछि इन्जिनियर गोईतले आँफूहरुले सडक चौडा पार्ने बताउँदै यसअघि कसैले पनि सहयोग नगरेको कारण समस्या भएको बताएका थिए । उनले भने,'अब हामी २५ मिटर नै कायम गर्छौँ ।' उनले यसअघि स्थानीय प्रशासनबाट सहयोग नभएको बताउँदै संघर्ष समितिसँग बसेर सल्लाह गरी सडक चौडा पार्ने कामलाई तीब्रता दिने बताए । यसअघि इटहरी उपमहानगरपालिकालाई पनि समितिले ज्ञापन पत्र बुझाएको थियो । तत्कालै उपमहानगरपालिकाले सडक विभागसँग सबै कागजात समेत माग गरेको छ ।