पुर्वको चर्चित पर्यटकीयस्थल हो, भेडेटार । विगतमा अलगै गाविस रहेको भेडेटार अहिले साँगुरीगढी गाउँपालिका ६ मा पर्छ । जाडो होस वा गर्मी समय, पर्यटकको पहिलो रोजाईमा पर्ने ठाउँ हो भेडेटार । भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा पहाडी क्षेत्रमा अवस्थित छ । भेडेटारको चाल्र्स प्वाइन्टबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू एकै पटक हेर्नसकिन्छ । भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वार पनि हो ।

भेडेटारमा हरेक साल अंग्रेजी नयाँ बर्षको अवसरमा फुड फेस्टिवल आयोजना हुन्छ । बिशेष गरी भारतीय पर्यटकहरुलाई लक्षित गरेर आयोजना हुने फेस्टिवलको सातौं सँस्करण पुष १६, १७ र १८ गत हुदैछ । यसै सन्दर्भमा कपुरीकर्मी पारस राईले होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीसँग गरेको संक्षिप्त कुरानकानी:

प्रश्न : भेडेटार फुड फेस्टिवलको तयारी कस्तो हुदैछ ?

उत्तर:– सातौ भेडेटार फुड फेस्टिवलको तयारी अन्तिम अवस्थामा पुगेको छ । अहिले गेट, स्टल निर्माण, प्रचारप्रसार, पार्किङस्थल बनाउने लगायतको काम भईरहेको छ ।

प्रश्न २. फेस्टिवलमा आन्तरिक तथा बाह्य पर्यटक कति भित्रयाउने तपाईहरुको लक्ष्य हो ?

उत्तरः– फेस्टिवलमा आन्तरिक तथा बाह्य पर्यटक ३० हजार भित्रयाउने लक्ष्य राखेका छौ र त्यही अनुसार प्रचारप्रसारमा पनि जोड दिइरहेका छौ । विशेष गरेर प्रत्येक वर्ष अंग्रेजी नयाँ बर्ष अवसरमा फेस्टिवल आयोजना गर्दै आएका छौ । फेस्टिवलमा विगतको तुलना भन्दा भारतीय पर्यटकहरुको निकै वृद्धि हुने अपेक्षा लिएका छौ ।

प्रश्न : फुड फेस्टिवल अर्थात भेडेटारमा पर्यटकलाई आकर्षण गराउने चीजहरु के के छन् ?र यो चोटी फेस्टिवलको मुख्य आकर्षण के हो ?

उत्तरः– भेडेटारमा नमस्ते झरना, सागुरी गढी, नाम्जे, ओख्रे, पाथीभरा, डाडाबजार लगायतको ठाउँहरुमा पर्यटकले अवलोकन गर्न सक्नेछन् । फेस्टिवलको मुख्य आकर्षण यो पटक सिम्रिक एयरको हेलिकप्टरमार्फत ५ मिनेटसम्म उड्न पाउने व्यवस्था छ । त्यसको लागि १ जना पर्यटक बराबर ४ हजार ९ सय रुपैयाँ टिकट रहेको छ ।
पुष १६ गत्तेको दिन पुरानो पैदल हिड्ने बाटो धरानको फुस्रेबाट सागुरीसम्म सेवक अभियानको अगुवाईमा ५० जनाले (हाईकिङ) अर्थात पैदलयात्रा गरेर सुरुवात हुनेछ । फेस्टिवलको उदघाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ज्युबाट हुदैछ ।

प्रश्न : फेस्टिवलमा अरु के के कार्यक्रमहरु छन् ?

उत्तर:– यो फेस्टिवल ३ दिनसम्म सञ्चालन हुन्छ । मौलिक सांस्कृतिक झाँकी प्रर्दशनी, दैनिक स्थानीय तथा चर्चित कलाकारको सांगीतिक प्रस्तुति हुन्छ । गरिमा डान्स सेन्टरको प्रस्तुति हुन्छ । सुरुवातको दिन आदिबासी जनजाति राईको साकेला, लिम्बुको च्याब्रुङ, मगरको हुर्रा, याम्फु जातिको मौलिक नृत्य प्रस्तुति हुनेछ ।

प्रश्न : यो फुड फेस्टिवल भन्नुभयो, फेस्टिवलमा पर्यटकहरुले के कस्ता परिकारहरुको स्वाद लिन पाउने छन् ?

उत्तरः– जातीय मौलिक विशेष गरी आदिबासी जनजातीहरुको परिकारहरु हुनेछ । फेस्टिभलमा राई, लिम्बु, मगर, नेवारको मौलिक खाना पाउने छ । घरेलु सामाग्रीहरु अल्लो, ढाकाको कपडा साथै अग्यार्निक सागसब्जी,तरकारी, फलफुलहरु उपलब्ध हुनेछन् ।

प्रश्न : भेडेटार कस्तो ठाउँ हो ?

उत्तर:– प्राकतिक वातावरण सधै चिसो जाडोमा घाम लाग्ने ठाउँ हो भेडेटार । तराईमा गर्मी हुदाँ भेडेटारमा चिसो हुने ठाउँ हो । जस्ले गर्दा शैक्षिक भ्रमण, एनजिओ आईएनजिओको पिकनिक, मिटिङ, विभिन्न तालिम तथा सेमिनार गर्नका लागि उपयुक्त ठाउँ हो भेडेटार । लगभग १ सय देखि १ सय ५० सम्म अटाउने क्षमता भएको होटल तथा लजहरु पनि छन् भेडेटारमा । साथै नाम्जेमा होम स्टे पनि छ ।

प्रश्न : सातौँ फुड फेस्टिवलमा विगतको भन्दा के फरक छ ? तीन दिनमा कति आम्दानी होला ?

उत्तरः– विगतको भन्दा फेस्टिवल फरक छ, यस पटक पर्यटन प्रबद्र्धनका लागि हेलिकप्टर टुर राखेका छौ । कम्पनि र स्थानीयबाट आएको बजेटलाई सही सदुपयोग गर्ने छौँ । फेस्टिवलबाट एक करोड आम्दानी हुने लक्ष्य लिएका छौँ ।

प्रश्न : सातौ फुड फेस्टिवलसम्म आइपुग्दा भेडेटारको पर्यटनमा के उपलब्धी हासिल भएको छ ?


उत्तर: यो त हामीले प्रत्यक्ष महसुस गरेका छौ । शुरुमा फेस्टिवल गर्दा कति जना भारतीय पर्यटकहरु आए भनेर खोज्नु परेको थियो । निरन्तर फेस्टिवल आयोजना गरेर नै अहिले भारतीय पर्यटकहरुको पहिलो रोजाईको गन्तव्य भेडेटार बनाउन सफल भयौ । अचेल अंग्रेजी नयाँ बर्षमा भेडेटार जाने भनेर भारतीय पर्यटकहरुको क्यालेन्डर नै बनेको हुन्छ । एक साताअघि देखि नै भेडेटारको होटल बुक भइसक्छ, र यतिबेला आउने पर्यटकहरु ९० प्रतिशत भारतीय हुन्छन् । यो भेडेटारको लागि मात्र होइन, प्रदेशकै पर्यटनको लागि ठुलो उपलब्धी हो ।

प्रश्न : भेडेटारमा पार्किङको ठुलो समस्या देखिन्छ, फेस्टिवलको बेला त झनै घुइचो हुन्छ । दीर्घकालीन समाधान कसरी होला ?

उत्तर: हो, यो हाम्रो लागि पनि एकदमै चिन्ताको बिषय बनेको छ । हरेक बर्ष ४, ५ वटा नयाँ भवन बनिरहेको छ, र खाली ठाउँहरु सकिदै जादा पार्किङ गर्ने ठाउँ नै हराउदैछ । यो समस्याप्रति गाउँपालिका पनि चिन्तत बनेर आधुनिक, व्यवस्थित पार्किङको योजना बन्दैछ । हामीले अस्ति मुख्यमन्त्री ज्युलाई पनि भेट गर्दा यो समस्याबारे जानकारी गराएका छौ, उहाँ उद्घाटन समारोहमा आउनुहुदा अवलोकन पनि गराउने भएका छौ । प्रदेश सरकारले पनि आवश्यक योजना र बजेट छुट्याउने आशामा छौ ।