धरान : सर्प भन्ने बित्तिकै जो कोहीलाई डर लाग्छ । त्यसैले घर वरिपरि सर्प देखे मार्नका लागि लौरो लिएर निस्कन्छौँ । सकेसम्म मार्छौँ । तर, प्रदेश नम्बर १ मा एक जना सर्प संरक्षणमा लागिपरेका छन् । विभिन्न ठाउँमा पुगेर सर्पको उद्धार गर्दै आएका छन् । उनले अहिलेसम्म हजारौँ विभिन्न विषालु प्रजातिको सर्पको उद्धार गरिसकेका छन् । ‘स्नेकमेन’ उपनामले चिनिने उनै सर्प प्रेमी हुन् प्रेम विष्ट ।
४९ वर्षअघि पूर्वी पहाडी जिल्ला खोटाङको सिमपानीमा जन्मिएका प्रेम विष्टले सुरुवातताका पहाडमा विषालु मानिने गुर्भे सर्प समाउन सुरु गरेका थिए । त्यति बेला उनको उमेर नौ वर्षको मात्रै थियो । ‘सर्पबारे केही पनि थाहा थिएन,’ प्रेमले भने, ‘काँक्रोको झ्याङमा भेटिएको त्यो गुर्भे सर्प नै मैले पक्रेको पहिलो सर्प थियो ।’ यसपछि सर्पप्रति प्रेम बढ्दै गएको प्रेमको भनाइ छ । उनले आफूले थाहा पाएदेखि एउटा पनि सर्प मारेका छैनन् ।
विष्ट नेपाल प्रहरीमा जागिरे भए । त्यसपछि उनले बिस्तारै सर्पबारे जान्न र बुझ्न थाले । प्रहरी हवलदारबाट अवकाश पाएका विष्टले पछिल्लो समय प्रदेश १ मा सर्प बचाउ र पर्यावरण जोगाउको अभियानमा लागेका छन् । अहिले उनी पूर्व-पश्चिम राजमार्गमा रहेको मोरङको सलकपुर स्थित सब डिभिजन वन कार्यालयमा सशस्त्र वन रक्षककोरुपमा कार्यरत छन् ।
यस क्षेत्रमा कहीँ कसैले सर्प देखे त्यसको उद्धार गर्न प्रेमलाई फोन गरेर बोलाउने गर्दछन् । यो क्रममा उनले प्रदेश नम्बर १ का विभिन्न गाउँसम्म पुगेर सर्पको उद्धार गर्दै आएका छन् । यसरी उद्धार गरेको सर्पलाई सुरक्षित स्थानमा लगेर छाडिदिने गर्दछन् । त्यसैले उनलाई ‘स्नेकमेन’ पनि भन्न थालेका छन् ।
कसैले सर्प देखे र बोलाएको ठाउँमा आफ्नै खर्चमा पुग्छन् । उनले पूर्वी तराईको चार कोशे जङ्गलमा पाइने धेरै वटा अजिङ्गरको पनि सफल उद्धार गरिसकेका छन् । सर्प समाउन स्टिक, ग्लोब र बुट आवश्यक भए पनि उनी खाली हातले नै सर्प समाउँछन् ।
गर्मीको याममा तराई क्षेत्रमा सर्पको बिगबिगी हुन्छ । यही याममा धेरैलाई सर्पले डस्ने गर्दछ । त्यसैले सर्पको डसाइबाट जोगिन हामी सर्प देख्ने बित्तिकै मार्न तम्सिन्छौ । मानिसमा सर्पप्रति भएको यही नकारात्मक सोचलाई बदल्दै संरक्षण गर्नु पर्दछ भन्ने भावना जनाउने अभियन्ता विष्टको घर मोरङको विराटनगर हो ।
विष्ट आफूले भ्याएसम्म र आफ्नो पहुँच पुगेको ठाउँसम्म पुगेर सर्पको उद्धार गर्दछन् । उद्धार गरिसकेपछि त्यहाँ भेला भएका सर्वसाधरणहरुलाई सर्पबारे जानकारी पनि दिन्छन् । विष्टका अनुसार नेपालमा ८० प्रजातिका सर्प पाइन्छ । तीमध्ये १८ प्रजातिका विषालु र बाँकी विष रहित हुन्छन् । त्यसैले सर्प भन्ने बित्तिकै मार्न नहुने उनका भनाइ छ । हाम्रो छेउछाउमा भेटिने सर्प मारे भोलि हामीलाई ठुलो आपत्ति आइपर्ने विष्ट बताउँछन् । पर्यावरणमा ठुलो क्षति पुग्दछ ।
उनका अनुसार विषालु सर्पले डसेको मानिसको उपचार गर्न विषालु सर्प नै आवश्यक पर्ने हुन्छ । विषालु सर्पले डसेको बिरामीको उपचारमा आवश्यक ‘एन्टी स्नेक भेनम’ विषालु सर्पको विषबाट बनाइन्छ । त्यसैले विषालु सर्पको संरक्षण हुन आवश्यक रहेको उनको भनाइ छ । एउटा सर्प बचाउनु भनेको हजारौँ मानिसको ज्यान बचाउनु हो, विष्ट भन्छन् ।
सर्प बचाउ अभियानकर्मी प्रेमले अहिलेसम्म नाजा नाजा कौखिया, नाजा नाजा र राजगोमन (किङकोब्रा) गरी तीन प्रजातिको कोब्रा, करेत लगायतका ४ हजार ५ सय १३ वटा विषालु सर्पको उद्धार गरिसकेको बताउँछन् ।
विष्ट फुर्सदको समयमा विभिन्न विद्यालयहरूसम्म पुगेर सर्पले डसेको खण्डमा कसरी बिरामीलाई उपचार गराउन अस्पताल लाने र हाम्रो वरिपरि भएका कति प्रजातिका सर्प विषालु हुन् र कति विष रहित हो भन्ने जानकारी समेत दिन्छन् ।
‘सर्पले हत्तपत्त डस्दैन । उसलाई टेक्यौँ र जिस्कायौँ भने मात्रै डस्छ,’ उनी भन्छन्, ‘हिउँदको तुलनामा बर्खामा सर्प बढी सक्रिय हुन्छन् । त्यसैले हाम्रो घर वरिपरि सफा राखौँ । प्वालहरू टालौँ र सर्पबाट टाढै बसौँ ।’
एक पटक सिन्धुली पुगेर सर्पको उद्धार गरी फर्कने क्रममा बाटोमा मोटरसाइकलमा चिप्लिएर लडे । यसरी लड्दा उद्धार गरेको गोमन सर्पले झोलाभित्रबाट हातमा डस्यो । उक्त समयमा ९८ प्रतिशत आफू मरेर बाचेको अनुभव उनमा छ ।
विषालु सर्पको टोकाइको मृत्युको मुखमा पुगेर फर्किए पनि विष्ट दत्तचित्त भएर सर्प बचाउ अभियानमा लागिपरेका छन् । उनको अभियानमा सर्प सम्बन्धी अध्ययन अनुसन्धान गरिरहेका विज्ञ र केही साथी भाइहरूले साथ सहयोग गरिरहेका छन् ।
उनको यो अभियानमा अहिले आफू कार्यरत रहेको सब डिभिजन वन कार्यालय र कार्यालय प्रमुखले पनि साथ सहयोग गरिरहेको उनी बताउँछन् । उनको यो अभियानमा हामी सबैले साथ दिनुपर्ने सर्प विज्ञहरूको भनाई छ ।