धरान : श्रमदानबाट निर्माण भएको खानेपानी योजनामा श्रमदान गर्न जान नभ्याउने घरधुरीहरुसंग १००० को दरले रुपया असुल गरेका देउराली सामुदायिक टोल विकास संस्थाका अध्यक्ष कवि याख्खा सहित पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।
उनीहरूले त्यसरी रकम असुल गर्नु गलत भएको स्वीकार गर्दै पदबाट संयुक्त राजीनामा दिएका हुन । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष याक्खाले टोल विकासका सदस्यहरूबाट त्यसरी रकम उठाउने निर्णय गलत भएकोले त्यसको नैतिक जिम्मेवारी आफूले लिएको बताए ।
उनले देउराली खानेपानी तथा सरसफाइ उपभोक्ता समिति समुदायको साझा गौरव, एकता र सामूहिक श्रमको प्रतीक भएको बताए । खानेपानी ट्याङ्की निर्माण, पाइपलाइन विस्तार देखी हाल पान मारा जङ्गलमा डिप बोरिङ पाइपलाइन विस्तार कार्य सबैको सहभागितामा भएको उनले बताए ।
सदस्यहरूबाट असुल भएको रकम सामुदायिक काममा खर्च गरिने उद्देश्य भए पनि उक्त निर्णयले समुदायले असहज रूपमा लिएको बताए । उनले भने ‘उद्देश्य असल भए पनि निर्णय गलत भयो, नेतृत्वको हैसियतले नैतिक जिम्मेवारी म स्वयं ग्रहण गर्दछु ।’उनले हाल सम्म ८८ घरधुरीबाट ८८००० सङ्कलन गरेको रकम उनै व्यक्तिहरूलाई फिर्ता गरिने बताए । 
खानेपानीको श्रमदानमा सहभागी नभएकाहरूसँग भन्दै रकम असुल गरेको थाहा भएपछि खानेपानी योजना उपभोक्ता समितिले आपत्ति प्रकट गर्दै पत्रकार सम्मेलन आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा उपभोक्ता समितिले श्रमदानमा आउन नभ्याउनेसँग रकम असुल गर्ने कुनै निर्णय नगरेको र रकम असुल गर्नु गलत भएको बताएका थियो ।