धरान : धरान उपमहानगरपालिकाले दोस्रो पटक आयोजना गरी रोकिएको धरान नगर स्कुल ओलम्पिक पाँच वर्ष पछि तेस्रो संस्करण ‘धरान मेयर कप’ स्कुल ओलम्पिक फेस्टिभल २०८३ को रूपमा असार १० देखी १७ गते सम्म सञ्चालन हुने भएको छ ।
स्कुल ओलम्पिकको तेस्रो संस्करण धरान खेलकुद मञ्चले आयोजना गर्ने भएको हो । यसअघि उपमहानगरपालिकाको खेलकुद विकास समितिले प्रतियोगिता सञ्चालन गरेको थियो ।
दिवङ्गत नगर प्रमुख तारा सुब्बाले स्कुल ओलम्पिक सुरु गरेका थिए ।पछिल्लो पटक नगर प्रमुख हर्क साम्पाङको कार्यकालमा उनले बजेट विनियोजन नगरेको मात्र होइन खेलकुद समिति नै गठन गरेनन् ।
स्कुल ओलम्पिकको जानकारी दिन शनिवार आयोजित पत्रकार सम्मेलनमा खेलकुद मञ्चका अध्यक्ष किशोर राईले भने ‘यसपाली देखी धरान उपमहानगरपालिकाले धरानका खेलसंघहरुसंग सहकार्य गरेर मञ्चको व्यवस्थापनमा स्कुल ओलम्पिक सञ्चालन गर्ने नयाँ नीति बनाएको हो ।’
धरान उपमहानगरपालिकाको संयोजनमा हुने मेयर कप स्कुल ओलम्पिकमा १० खेलमा कुल ७६ स्वर्ण पदक, १४४ रजत पदक र १४८ कास्य पदकका लागि विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने बताइएको छ ।
बाल खेलाडीलाई सानै उमेर देखी ओलम्पिक चार्टर अनुसार खेलकुदको अभ्यास गराउने स्कुल ओलम्पिकमा एथलेटिक्स खेलहरू समावेश गर्न नसकिएकोमा आयोजक अध्यक्ष राईले दुःखेसो सुनाउँदै भने ‘धरानमा एथलेटिक्स खेलको पूर्वाधार नभएको मात्र होइन भएका खेलकुदका पूर्वाधारहरूको सम्भार हुन सकेको छैन ।’तर धरान खेलकुदको राजधानी भएको यहाँ भएका पूर्वदारहरूमा देखिने खेलकुद प्रतियोगिताको व्यस्तताले साबित गर्दै आएको उनले बताए । भने ‘प्रतियोगीताहरुका लागि प्रयोजक पनि सहज रूपमा पाईने गरिएको कुराले पनि धरान खेलकुदको शहर भएको साबित गर्दछ ।’
मेयर कप स्कुल ओलम्पिक तयारीको खबर सुनेपछि खेलकुदका सामाग्री प्रोडक्ट कम्पनी एपिक प्रा.ली.ले प्रतियोगीतालार्य प्रयोजन गर्ने भएको राईले बताए । उनले भने ‘एपिक प्रालि स्कुल ओलम्पिकको मुख्य प्रायोजक हुनेछ ।’ कम्पनी सञ्चालक सन्तोष थोप्रासंग प्रयोजनको विषय समझदारी भैसकेको राईले बताए ।
पत्रकार सम्मेलनमा तेस्रो स्कुल ओलम्पिकमा फुटबल, क्रिकेट, भलिबल, सितेरियो कराते, तेक्वान्दो, बास्केटबल, टेबल टेनिस, सेपाक ताक्रो, उसु र ब्याडमिन्टन समावेश रहेको बताइएको छ । प्रतियोगितामा स्कुलहरूले १० वटै खेलमा सहभागी बन्न पाउने छन् । न्यूनतम २ खेलमा सहभागी हुन चाहने आधारभूत तहका विद्यालय पनि स्कुल ओलम्पिकमा सहभागी पाउने बताइएको छ ।
स्कुल ओलम्पिकको उद्घाटन कार्यक्रम धरान रङ्गशालामा मिनी ओलम्पिक खेलकुद समारोहको रूपमा आयोजना गरिने छ । खेल प्रतियोगीताहरु धरान तथा धरानका स्कुलहरूमा पर्याप्त मानिएको खेलकुद स्थलमा सञ्चालन गरिने बताइएको छ ।