धरान : नव निर्मित धरान बसपार्क सञ्चालनमा ढिलाई भइरहेको बारेमा सरोकारवाला विभिन्न पक्ष सँग छलफल गर्दै आएको धरान विचार मञ्चले नयाँ बसपार्कमा आवश्यक रहेका केही पूर्वाधार चाँडो पुरा गर्न धरान उपमहानगरपालिकालाई सुझाव दिएको छ ।
मञ्चको प्रतिनिधि मण्डलले शुक्रवार धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख अइन्द्रबिक्रम बेघालाई भेटगरी अध्ययन प्रतिवेदन सहित उक्त सुझाव दिएको हो ।
मञ्चले नयाँ बसपार्क सहित धरानको बाँदर आतङ्क, ठुला आवाजमा चलाउने मोटर बाइकले सर्वसाधारणलाई आतङ्कित बनाएको लगायतका समस्यामा सरोकारवालाहरुसंग द्धलफल गरी समाधानको उपाय सहितको प्रतिवेदन कावा प्रमुख मार्फत धरान उपमहानगरपालिकालाई बुझाएको छ ।
यसअघि धरान उपमहानगरपालिकाले नयाँ बसपार्क असार १ गते उद्घाटन गरी भानु चोकबाट धरान –८ मा सार्ने निर्णय प्राविधिक कारण भन्दै स्थगित गरेको सामाजिक सञ्जाल मार्फत सार्वजनिक सूचना जारी गरेको छ ।
असार १ गते देखी बसपार्क सार्ने विषयमा यातायात व्यवसायीहरूले आधारभूत पूर्वाधारहरू पुरा नभएकोले कठिनाई हुने सुझाव सहित उद्घाटन कार्यक्रम साता दिन पछि सार्न आग्रह गरेको थियो । उपमहानगरपालिकाको सूचनामा भने निकट भविष्यमा चाँडो सञ्चालन गर्ने गरी स्थगन गरिएको उल्लेख छ ।
धरान विचार मञ्चका अध्यक्ष डा.आनन्द आचार्यका अनुसार बसपार्क निर्माणमा प्रत्यक्ष योगदान पुर्याएका पूर्व नगर प्रमुखहरू तिलक राई, मनोजकुमार मेन्याङबो, उपमेयर मञ्जु भण्डारी सहित यातायात व्यवसायीहरुसंग छलफल गरी सुझाव सहितको प्रतिवेदन कार्यवाहक नगर प्रमुखलाई बुझाइएको हो ।
यसअघि यातायात व्यवसायीहरूले नयाँ बसपार्कमा थप आवश्यक पूर्वाधार निर्माण गर्नु पर्ने कार्यको सूचि उपमहानगरपालिकालाई बुझाएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले मञ्चको टोलीलाई बताएका थिए ।
मञ्चका अध्यक्ष डा. आचार्यले निर्धारित मिति स्थगन गरिएपछि स्थगन अवधिमा उपमहानगरपालिकाले आवश्यक थप पूर्वाधार निर्माण र तयारी पूरा गर्न जरुरी भएको बताए । उनले भने ‘चाँडो पूर्वाधारको मम सकेर बसपार्क सञ्चालन गर्ने कार्य गरियोस् ।’
मञ्चले बसपार्क सहित धरानमा अहिले ज्वलन्त समस्या अनुभव गरिएको बाँदरको उपद्रव र मध्यरातमा समेत सर्वसाधारण आतङ्कित हुन गरे ठुलो आवाजमा हाँकने मोटरसाइकल नियन्त्रण गर्नु पर्ने मागको ज्ञापन पत्र पनि बुझाएको छ ।
ज्ञापन पत्रमा मोटरसाइकलको तीव्र गति र ठुलो हर्नले गृहिणीहरू, विद्यार्थीहरू र मुटुरोगीहरुका लागि आतङ्कित गराउने जोखिम बढेको उल्लेख छ । यस्तो ध्वनी प्रदूषणको आतङ्कले बालबलिकाहरुमा नकारात्मक असर पर्ने सम्बन्धित विज्ञहरूले बताएको ज्ञापन पत्रमा उल्लेख छ ।
धरानमा बाँदरको उपद्रव नियन्त्रण गर्न बाँदर समस्याका विज्ञ अनुसँधानकर्ताहरुको समाधानका उपायहरू उल्लेख गर्दै उपमहानगरपालिकाले यसलाई गम्भीर रूपमा लिनु पर्ने सुझाव दिइएको छ ।
सुझाव कम ‘बाँदर समस्या समाधानका निमित्त ‘बायो मेडिकल ल्याब’को स्थापना समेत गरिनु पर्ने’ कुरा उल्लेख छ । बाँदर आतङ्कको समस्या अन्य मुलुकमा पनि पाइने र ती मुलुकहरूले ‘मंकी पार्क’ निर्माण गर्ने सार्थै अनुसन्धान तथा अन्य प्रयोजकका लागि हुने बाँदर निर्यातलाई पनि प्रोत्साहित गर्नुपर्ने सुझावमा छ ।
सार्थ भानुचौक स्थित सब्जी मण्डिमा उपभोक्ताको भिडभाड बिच मोटरसाइकल, स्कुटर,टेम्फे सफारी पनि जबरजस्ती चलाउने गर्दा किनमेल गर्न आउन उपभोक्ता महिला, बालबालिका कठिनाई भोग्दै आएकाले बजार भित्र सवारी पूर्ण तयार निषेध गर्न माग गरिएको छ ।
ज्ञापन पत्र बुझेर कार्यवाहक प्रमुख बेघाले प्रतिवेदन सहितको ज्ञापन पत्रमा उल्लेखित सुझावहरू महत्त्वपूर्ण भएको उल्लेख गर्दै कार्यान्वयन गरिने प्रतिबद्धता प्रकट गरेको अध्यक्ष आचार्यले बताए ।
ज्ञापन पत्र बुझाउन मञ्चका सल्लाहकार पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङबो, उपाध्यक्ष डा.खालिद हुस्सैन हक,कोषाध्यक्ष रुक्मिणी मास्के, प्रवक्ता वीरेन्द्रकुमार थापा, सदस्य डा.अशोककुमार झा, प्रा.विदुर राई, वरिष्ठ पत्रकार किशोर कार्की सहभागी रहेको मञ्चले जनाएको छ ।