धरान : धरानमा श्रमदानबाट राम्रा काम भैरहेको बेला श्रमदानमा नआउनेसँग टोलका अगुवाले रकम असुल गरी कमाई गर्ने माध्यम बनाएको पनि खुलासा भएको छ ।
धरान–५ देउराली खानेपानी उपभोक्ता संस्थाकी अध्यक्ष लक्ष्मी नेम्बाङले श्रमदानमा बनेको खानेपानी योजनामा श्रमदानमा सहभागी नभएका उपभोक्तासँग तल्लो देउराली सामुदायिक टोल विकास संस्था टिएलओका अध्यक्ष कवि याक्खाले प्रतिव्यक्ति १ हजारका दरले रकम असुलेको प्रमाण फेला परेको आरोप लगाएका छन् ।
देउराली खानेपानी संस्थाद्वारा आज बुधवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेम्बाङले संस्थाको विधान, नियमावली वा कार्यविधिमा श्रमदान नगर्नेलाई अनिवार्य रूपमा शुल्क वा जरिवाना तिर्नुपर्ने कुनै व्यवस्था नरहेको स्पष्ट पारेका हुन ।
उनले उपभोक्ताहरूको श्रमदान अभियानमा टोल विकास संस्थाका अध्यक्षले व्यक्तिगत रूपमा श्रमदानमा नआएको भनी रकम असुल्नु गैर कानुनी भएको उनले बताए।
श्रमदान नगर्ने उपभोक्ताबाट रकम उठाइएको विषयमा अध्यक्ष नेम्वाङले भने ‘श्रमदान सामुदायिक सहभागिताको अभ्यास हो, त्यसमा सहभागी नभएकै आधारमा उपभोक्तामाथि आर्थिक दायित्व थोपर्न मिल्दैन ।’
श्रमदान नगरेको भन्दै उपभोक्ताबाट १ हजारका दरले रकम उठाइएको विषय संस्थाको जानकारीमा आएपछि उपभोक्ताहरूले आपत्ति जनाई विवाद चर्किएको उनले बताए। विवाद उत्पन्न भएपछि सोध खोजी गर्दा टोल विकास संस्थाका प्रतिनिधिहरू कवि याक्खाले करिब २०० घरधुरीबाट जरिवाना उठाएको पाइएको बताए ।
त्यसैको सिको गर्दै समानता टिएलओ अध्यक्ष जितबहादुर लगायतले समेत श्रमदानमा नजाने उपभोक्ताबाट रकम असुल्न गर्न खोजेको उनले बताइन् । तर आफूले थाहा पाए पछि त्यसो नगर्न आग्रह गरेकामा टोल विकास संस्थाका प्रतिनिधिहरू याक्खा र जित बहादुरले श्रमदानमा नआउने उपभोक्ताको खानेपानी बिलमै अतिरिक्त रकम जोडेर उठाउनुपर्ने प्रस्ताव राखेको अध्यक्ष नेम्वाङले बताए। तर उपभोक्ताबाट त्यसरी अनुचित रकम असुल गर्न नहुने भनी आफूले सो विषय ईन्कार गर्दे उपभोत्ताहरुलाई सचेत गराउन पत्रकार सम्मेलन गरिएको उनको भनाई थियो । उनले आजै वडा कार्यालयमा वडाअध्यक्ष मानप्रसाद लिम्बु र स्थानीय सरकार धरान उपमहानगरपालिकालाई समेत जानकारी गराइने जानकारी दिएका छन् ।
अध्यक्ष नेम्बाङले ‘दैनिक ज्यालादारीमा महिला श्रमिकले ७५० र पुरुष श्रमिकले ८०० पाउने अवस्थामा एक दिनको श्रमदान बराबर भन्दै १ हजार असुल्नु न्यायोचित नभएको र उनीहरूको पेटमा मारेर रकम अशुल्न नहुने बताए ।
विवादित रकम सङ्कलनको विषयमा संस्थाले आधिकारिक निर्णय गरेको छैन । व्यक्तिगत तहबाट रकम उठाइएको हो । आफूलाई नियत वस विवादमा पार्न समेत याक्खाले रकम उठाएको हुन सक्ने उनको भनाई छ ।







































































