इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेश अधिवेशनबाट सभापति पदमा पराजित भएसँगै गोमा तामाङ (सरिन)ले राजनीति नै त्यागेको घोषणा गरिन् । इटहरीका चन्द्र राई सभापतिमा विजयी भएपछि उनले असन्तुष्टि जनाउँदै राजनीति त्यागेको बताएकी हुन् । 

७०२ प्रतिनिधिमध्ये ४९० मत खसेको र त्यसमध्ये राईको पक्षमा २८० र तामाङको पक्षमा ११४ मत खसेको थियो । त्यसबाहेक खगेन्द्र कटवालले ४१, चन्द्र कुमार गौलीले २७ र एकमत बदर भएको निर्वाचन समितिले जनाएको छ । 

प्रतिनिधिसभाका सांसद तथा केन्द्रीय सदस्यहरू आफू विरुद्ध लागेको भन्दै उनले आफ्नो सोझोपनको फाइदा लिएको टिप्पणी गरिन् । नेतृत्वले गुटबन्दी गरेको आरोप लगाएकी तामाङकै नेतृत्वमा प्रथम कोशी प्रदेश अधिवेशन सम्पन्न भएको हो । 

तामाङको यो पराजय पार्टीभित्र पहिलो भएपनि निर्वाचनको हिसाबमा तेस्रो हो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जनता समाजवादी पार्टीका अशोक राईसँग ४ सय ५३ मतले पराजित उनी २०८२ मा पनि पराजित बनिन् । सुनसरी क्षेत्र नम्बर १ बाट दुई पटक उम्मेदवार बनेकी उनी दुवै पटक पराजित भइन् । पछिल्लो समय श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले उनलाई ८ हजार बढी मतान्तरले पराजित गरे । 

बारम्बारको पराजयले थाकेकी उनले पार्टी प्रतिनिधिलाई धन्यवाद दिँदै राजनीतिक बिट मारेको बताइन् । उनले प्रदेश निर्वाचनमा प्रतिनिधि सभा सदस्य तथा केन्द्रीय सदस्यहरूले प्यानल सिर्जना गरेको आरोप पनि लगाएकी छिन्  । 

उनले लेखेकी छिन्, ‘आखिर माथिको ह्विप भन्दै हराएरै छाड्यौ माननीय  तृतीय ज्यु र केन्द्रीय सदस्य ज्यु धन्यवाद ! तपाईँ चौथाज्युहरुलाइ सायद अनेक  सेटिङ प्यानल बनाउन जानिन मैले यो कारण गुटबन्दीको घाउले पिरोल्छ कोसीलाई भनेर तर यो मेरो सोझो सिधापन आज दु:खाइ भो सबैलाई । हजुरिको राजनीतिक गर्नै जानिन कमजोरी भो मेरो ।’

निर्वाचनमा नेतृत्वले प्यानल सिर्जना गरी मत मागेको भन्दै विरोध जनाएकी थिइन् । बुधवार उद्घाटन सत्रपछि कार्यकर्तामाझ बोल्दै तामाङले प्रतिनिधि सभाका सांसदहरूले गुटबन्दी गरेको बताएकी थिइन् । प्रतिनिधिसभा सदस्यहरूले आफू विरुद्ध प्रचारबाजी गरेर चुनावमा हराएको उनको आरोप छ ।