धरान : कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की हप्ताको २ दिन बिदाले सरकारी कार्यालयलाई कार्य घण्टा नपुग्ने र खर्च तथा इन्धनको बचतमा पनि खासै उपलब्धि नदेखिएको फेसबुक स्ट्याटसलाई अहिले ‘कन्टेन्ट’ क्रिएटरहरुले सामाजिक सञ्जालमा भाइरल बनाएका छन् ।
मुख्यमन्त्री कार्कीले व्यक्तिगत फेसबुक आइडिमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सँग यो २ दिने बिदा हटाएर पुरानै बिदा कायम गर्दा कस्तो होला ? भनी सुझाव दिनुका लागि उक्त स्ट्याटस लेखेको देखिन्छ ।
उनले स्ट्याटसमा लेखेका छन् ‘कोसी प्रदेश सरकारले आफ्ना मन्त्रालय र मातहत कार्यालयलाई हप्ताको ६ दिन नै कार्य दिन बनाएर (साबिक झैँ बिदा शनिवार १ दिन मात्रै) कायम गर्दा कस्तो होला ?
हप्ताको ५ दिन मात्रै काम गर्दा कार्य दिन नपुग्ने र खर्च तथा इन्धन बचतमा खासै उपलब्धि देखिएन । यहाँको सुझाव पाउँ ।’
मुख्यमन्त्री कार्कीको स्ट्याटसले सङ्घीय सरकारको २ दिने बिदाको सट्टा कोसी प्रदेश सरकारको मन्त्रालय र मातहत कार्यालयलाई १ दिन मात्र लागु गर्ने हो कि! भनी सुझाव माग गरिएको बुझिन्छ । प्रदेशमा सङ्घीय सरकार र स्थानीय सरकारका कार्यालयहरूपनि छन् ।
हप्ताको दुई दिने बिदा प्रधानमन्त्री बालेन शाहको सरकारले गत चैत २२ गते पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले लागु गरेको हो । सोही अनुसार अहिले सरकारी कार्यालय, विद्यालय तथा विभिन्न सार्वजनिक निकायमा शनिवार र आइतबार बिदा दिइँदै आएको छ ।
कोसी प्रदेशका मुख्यमन्त्री कार्कीको स्ट्याटस आएपछि भने सङ्घीय सरकारले नै हप्ताको दुई दिने सार्वजनिक बिदा हटाउने तयारी गरेको मिडिया कन्टेन्टहरू भाइरल भएको छ । गृह मन्त्रालयले दुई दिने बिदा अपेक्षा भए, नभएको पुनरावलोकन गर्ने तयारी गरेको ती कन्टेन्टहरूमा उल्लेख पाइन्छ ।
तर, आधिकारिक रूपमा भने दुई दिने बिदा खारेज गर्ने तयारी भएको कुनै समाचार प्रकाशित भएको पाइन्न । सरकारका प्रवक्ताले पनि यसबारे कुनै सार्वजनिक विज्ञप्ति जारी गरेका भने छैनन् ।










































































