धरान : महालेखा परीक्षकको प्रतिवेदनले धनकुटाको साँगुरी गढी गाउँपालिका आर्थिक वर्ष २०८१/८२ मा ४९ लाख ५९ हजार रुपैयाँ बेरुजु देखाएको छ । यसअघिको सहित साँगुरीगढीको कुल बेरुजु १० करोड ५३ लाख १६ हजार ३७५ रुपैयाँ पुगेको छ ।
गापाले १४ करोड ४३ लाख ८४ हजार रुपैयाँ बराबरको पुँजीगत खर्च तथा निर्माण कार्य गर्दा सार्वजनिक खरिद ऐनअनुसार आवश्यक वार्षिक खरिद योजना र गुरुयोजना तयार नगरेको पाइएको छ। साथै ठेक्का व्यवस्थापनसम्बन्धी अभिलेख पनि व्यवस्थित रूपमा नराखिएको उल्लेख छ।
चालु आर्थिक वर्षमा १ अर्ब २४ करोड ५२ लाख ४९ हजार रुपैयाँ बराबरको लेखापरीक्षण गर्दा प्रारम्भिक ५६ लाख ४५ हजार ३३७ रुपैयाँ बेरुजु देखिएको थियो। स्पष्टीकरणपछि ६ लाख ८५ हजार ९४९ रुपैयाँ फर्स्योट भई ४९ लाख ५९ हजार ३८८ रुपैयाँ कायम भएको हो ।
चालु वर्षको बेरुजुमध्ये २९ हजार ८०० रुपैयाँ असुल गर्नुपर्ने,१३ लाख ५६ हजार ७०६ रुपैयाँ नियमित गर्नुपर्ने र ३५ लाख ७२ हजार ८८२ रुपैयाँ प्रमाण कागजात पेस गर्नुपर्ने प्रकृतिको रहेको छ।
पालिकालाई कानुनअनुसार खरिद योजना तथा ठेक्का अभिलेख व्यवस्थित गर्न निर्देशन दिइएको छ।