धरान : भानुचौकको बसपार्क असार १ गते देखी धरान–८ नयाँ बसपार्कमा उद्घाटन गरी सार्ने धरान उपमहानगरपालिकाको पूर्व निर्धारित मिति पछि सर्ने सम्भावना बढेको छ ।
यातायात व्यवसायीहरूले बसपार्क सार्नु अघि पूर्व तैयारी गर्नुपर्ने धेरै कार्य अधुरो भएकोले ती कामहरू पुरा गरेर मात्र बसपार्क सार्न अनुरोध गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले बताएका छन् ।
उनका अनुसार व्यवसायीहरूको सुझावलाई सकारात्मक रूपमा लिएमा धरान उपमहानगरपालिकाले बसपार्क उद्घाटनको कार्यक्रम असार १३  गते शनिवार सम्म सार्ने सम्भावना छ । बसपार्क सार्ने मिति सरेको बारेमा उपमहानगरपालिकाले भने सार्वजनिक जानकारी दिएको छैन ।
यसअघि जेठ ४ गते बसपार्क सञ्चालन गर्न गठित व्यवस्थापन समितिले नै नयाँ बसपार्क सञ्चालन गर्न आवश्यक सुधार कार्यहरूको सूचि उपमहानगरपालिका लाई  दिएको थियो । श्रेष्ठले भने तर ती सुझावहरू अनुसार कार्य नभएकाले बसपार्क सार्ने कार्य असहज हुने यातायात व्यवसायीहरूले बताएका थिए ।
उनका अनुसार नयाँ बसपार्कमा तत्काल पुरा गर्नु पर्ने कार्यहरूमा टिकट काउन्टर नपुग हुनाले दुई ठाउँमा काउन्टर थप गरिने र विभिन्न रुटमा जाने गाडीको ट्याक निर्माण गर्न रेखा, लेन बनाउनु पर्ने थियो ।
प्रत्येक रुटमा चल्ने रुट अनुसारको बोर्ड बनाएर लगाउने, यात्रुहरूलाई आफू चढ्ने गाडी पहिचान गर्न डिजिटल डिस्प्ले बोर्ड राख्ने सुझाव दिइएको थियो । बिचको भागमा ट्याक्सी, माइक्रो स्टेण्डमा यात्रुहरूलाई घाम पानीबाट जोगाउन कम्तीमा ६ वटा प्रतीक्षालय बनाउनु पर्ने सुझाव दिइएको छ । 
नयाँ बसपार्क पूर्वपट्टि ४ कठ्ठा खालि जग्गामा पार्किङ व्यवस्था गर्न माटो पुरेर गाडी पार्किङ व्यवस्था गर्ने व्यवस्था गर्न माग पनि सुझावमा छ ।  नयाँ बसपार्कमा पार्किङ अभाव हुने भएकोले दक्षिण तर्फ रेडियो नेपाल सँग समन्वय गरेर २ बिगाहा जग्गा भाडामा लिएर भए पनि सम्पूर्ण सवारी साधनलाई पार्किङ व्यवस्था गर्ने सुझाव पनि पुरा हुन बाँकी छ ।
भानुचौकबाट धरान८ बजारको पुछारमा बसपार्क सार्दा यात्रुलाई असहज, व्ययभार बढ्ने भएकोले यात्रुहरूको सहजताका लागी पनि केही समयलाई नगर बस सञ्चालन गर्नु पर्ने सुझाव पनि दिइएको छ । त्यसको कुने सुरसार भएको छैन ।
पहाडी खण्डबाट धरान तथा धरान दक्षिण तर्फ जाने यात्रुवाहक सवारीलाई माछा भौडि हुँदै सदन रोड पिण्डेश्वर चौक भै नयाँ बसपार्क लाने पूर्व तयारी भएकाृे छ । तर उक्त रुटको सडक तत्काल मर्मत गर्नु पर्नेमा त्यो पुरा हुन सकेको देखिन्न ।
समितिका सदस्य समेत रहेका श्रेष्ठका अनुसार समितिले पेस गरेको सुझावप्रति उपमहानगरपालिका गम्भीर र तदारुकता पूर्वक नलागेको यातायात व्यवसायीहरूको गुनासो छ । तसर्थ सरोकारवालाहरूको सहयोगबाटै बसपार्क सर्ने कार्यको लागि तत्काल पुरा गर्न सकिने  आवश्यक काम सम्पन्न गर्न उद्घाटनको मिति सार्न यातायात व्यवसायीहरूले आग्रह गरेको हो ।