वराहक्षेत्र : बृहत्तर वराहक्षेत्र क्षेत्रभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको सम्भावना, संरक्षण, विकास तथा प्रवर्द्धनका विषयमा अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
सुनसरीको वराहक्षेत्र नगरपालिका- वडा नं. १ चतरास्थित बृहत्तर वराहक्षेत्र विकास समिति, चतरा सुनसरीको आयोजनामा समितिको सेवा क्षेत्रभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको वर्तमान अवस्था, सम्भावना र चुनौतीबारे सरोकारवालाहरू बिच अन्तरक्रिया गरिएको हो।
बृहत्तर वराहक्षेत्र विकास समितिको कार्यक्षेत्रभित्र सुनसरीका वराहक्षेत्र नगरपालिका,रामधुनी नगरपालिका, धरान उपमहानगरपालिका, उदयपुरको बेलका नगरपालिका तथा धनकुटाका साँगुरीगढी र सहिद भूमि गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरू पर्दछन्। यी क्षेत्रहरूको संरक्षण, विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा २०६६ सालमा समितिको स्थापना गरिएको थियो। हाल समिति कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुँदै आएको छ।
समितिका कार्यकारी निर्देशक अबिजाल विष्टका अनुसार सेवा क्षेत्रभित्र रहेका धार्मिक तथा पर्यटकीय सम्पदाको संरक्षण, पूर्वाधार विकास, प्रवर्द्धन तथा व्यवस्थापनका विषयमा साझा धारणा निर्माण गर्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो।
समितिका अध्यक्ष प्रकाश बस्नेतको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सभा सदस्य विजय राई, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, विभिन्न वडाका जनप्रतिनिधिहरू,धार्मिक क्षेत्रका पदाधिकारीहरू, सन्त-महन्तहरू, राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीय अगुवा समाजसेवीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले धार्मिक तथा पर्यटकीय क्षेत्रको दिगो विकास, संरक्षण, पूर्वाधार विस्तार, प्रचार-प्रसार तथा पर्यटन प्रवर्द्धनका लागि आवश्यक रणनीति र भावी योजनाका विषयमा आफ्ना धारणा राखेका थिए।