इटहरी : सुनसरी जिल्ला क्रिकेट सङ्घको अध्यक्षमा सञ्जीव ढुङ्गाना सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिवार सुनसरीको इनरुवामा आयोजित चौथो वार्षिक साधारण सभाले ढुङ्गानाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा अफजल हुसेन, सचिवमा गोविन्द पौडेल र कोषाध्यक्षमा अब्दुल्ला खान चयन भए ।
सदस्यहरूमा सिपी पौडेल, विकास निरौला,ताहिर हुसेन, जयव्रत सरकार, रतन रौनियार, आनन्द अग्रवाल, नुनुदास गुप्ता, सुनोज निरौला, शिव यादव र सरोज बस्नेतले जिम्मेवारी पाए ।
साधारण सभामा खेलकुद विद्याका पत्रकार अर्जुन सुवेदी सम्मानित भएका छन् । नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष समेत रहेका सुवेदी सहित फोटो पत्रकार गुरु ढकालले समेत सम्मान पाए ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले पछिल्लो समय सुनसरीले राष्ट्रिय तथा स्थानीय स्तरका प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै नेपाली क्रिकेटको विकासमा उल्लेखनीय योगदान पुर्याएको बताए ।
यस्तै साधारण सभामा प्रशिक्षक प्रदीपराज पाण्डे, राजकुमार प्रधान समेत सम्मानित भए । उमेर समूहका खेलाडीहरू अन्डर १६ का कविराज खत्री र रबीन मण्डल, अन्डर १९का रोहन शाह, समीर कार्की, सिनियर खेलाडीहरू प्रकाश कार्की र सुमन गहतराजलाई सम्मान पत्र प्रदान गरिएको हो ।






































































