इटहरी : नेपाली काँग्रेसको असन्तुष्ट समूहले आइतबार विराटनगरमा भेला गर्ने भएका छन् ।विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई सङ्गठित गर्दै शक्ति प्रदर्शन गर्न लागेको हो ।
भेलाबारे शनिवार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा असन्तुष्ट समूहले बृहत् भेलाको आयोजना गर्ने जनाएको छ । भेलामा डाक्टर शेखर कोइराला र कृष्ण प्रसाद सिटौलाले सम्बोधन गर्ने भएका छन् ।
सिटौला निकट कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईका अनुसार भेलामा १४ वटै जिल्लाका कार्यकर्ताको उपस्थिति रहने भएको छ ।अहिले विभिन्न गुट र उपगुटमा विभाजित भएको भन्दै नेतृत्वले आम कार्यकर्ताको भावना बुझ्न नसकेको उनको भनाइ छ ।कोइराला, देउवा वा सिटौला समूहभन्दा माथि उठेर काँग्रेसलाई पूर्ण रूपमा एकताबद्ध बनाउन हामी दबाब समूहका रूपमा प्रस्तुत भएको राईले बताए । 
पत्रकार सम्मेलनमा पूर्व मुख्यमन्त्री केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर समेत रहेका मोरङका जिल्ला उपसभापति नागेश कोइराला, नेपाली काँग्रेस विराटनगरका सभापति दीपक चापागाईँ लगायतका स्थानीय नेताहरूको उपस्थिति रहेको थियो ।