धरान : धरान उपमहानगरपालिकाले भानुचोकबाट पुरानो बसपार्कलाई असार १ गते देखी धरान–८ मा  निर्मित धरान बस टर्मिनलमा स्थानान्तरण गर्दैछ । नयाँ बसपार्कबाट सार्वजनिक सवारी चलाउन धरान बजारमा वान–वे को नयाँ रुट प्रणाली लागु गर्ने तयारी हुँदैछ । 
कार्यपालिकाको जेठ २२ गतेको बैठकले असार १ गतेदेखि भानुचोक आसपासको क्षेत्रमा वान–वे प्रणाली लागू गर्ने निर्णय गरेको छ । 
नयाँ व्यवस्था अनुसार उत्तरतिरबाट आएका सवारी साधनहरू अब धरान बजारमा वन–वे प्रणाली अनुसार माछा भौडीबाट–सदन स्कुल, पिण्डेश्वरी चोक हुँदै बरगाछी–अरुण पेट्रोल पम्प सम्मको सडक खण्डमा लागु हुनेछ । नयाँ व्यवस्था अनुसार अब पुरानो बजारबाट झरेका सवारीहरू देशी लाईन हुँदै भानुचोक आउन पाउने छैन । 
बजार अनुगमन अधिकृत बेद प्रसाद सापकोटाका अनुसार रुट व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन मङ्गलवार स्थलगत अनुगमन गरिएको छ । अनुगमनका क्रममा सडक प्रयोगको अवस्था, ट्राफिक चाप तथा सम्भावित जाम हुने क्षेत्रहरूको अध्ययन गरिएको उनले बताए ।
रुट व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक सुधारका पक्ष पहिचान गर्दै आगामी दिनमा थप समन्वयात्मक कदम चालिने उनको भनाई छ । 
भानुचोक क्षेत्रमा लामो समयदेखि देखिँदै आएको ट्राफिक चाप घटाउने उद्देश्यले बसपार्कलाई स्मार्ट बसपार्कमा सार्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ । नयाँ प्रणाली लागू भएपछि ट्राफिक व्यवस्थापन थप सहज हुने अपेक्षा गरिएको छ ।