धरान :स्थानीय चुनाव आउन एक वर्ष अघिदैखी तयारीमा लागेको सांसद हर्क साम्पाङको पार्टीबाट उनका निकटका नेता निनाचन्द्र राई सहित १०२ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
यसलाई माटो चुनाव चिन्हको श्रम संस्कृति पार्टीमा चुनाव अघि ठुलै पहिरो गएको अर्थमा उनका समर्थकहरूले अनुभव गरेका छन् ।
निनाचन्दले हर्क साम्पाङलाई नगर प्रमुख र सांसदको चुनाव जिताउन निर्णायक भूमिका खेलेका थिए । पार्टी परित्याग गरेको घोषणासँगै निनाचन्दले आउँदो चुनावमा आफू नगर प्रमुखको स्वतन्त्र उम्मेदवार बन्न सक्ने सङ्केत दिएर साम्पाङलाई चुनौती समेत दिएका छन् ।
औपचारिक रूपमा पार्टी परित्याग गरेको घोषणा गर्न आज बुधवार आयोजित पत्रकार सम्मेलनमा साम्पाङ निकट नेता निनाचन्दले हर्क साम्पाङले आउँदो चुनावमा मेयर पदको उम्मेदवार बनाउने प्रतिबद्धता जनाएर पार्टी प्रवेश गराएकोको बताउँदै ‘तर साम्पाङले प्रतिबद्धता तोडेको’ बताए ।
निनाचन्द्रले आफ्नो छुट्टै समूह भएको स्पष्ट गर्दै भने ‘उनले (साम्पाङले) हामीलाई राजनीतिक रूपमा धोखा दिए ।’ हामीसँग भएको सहमति र प्रतिबद्धता विपरीत निर्णय गरेकोले नैतिक रूपमा पार्टीमा बसिरहन नसक्ने अवस्था सिर्जना भयो ।’ अनि आफू सहित १०२ जनाले सामूहिक रूपमा पार्टी परित्याग गरेको घोषणा गरेको उनले बताए ।
निनाचन्द्रले अध्यक्ष साम्पाङले पटक–पटक फोन सम्पर्क गरेको, प्रत्यक्ष भेटेर आगामी स्थानीय निर्वाचनमा मेयर पदका लागि पार्टीको उम्मेदवार बन्न पार्टीमा प्रवेश गर्न आग्रह गरेको बताए । उनले भने ‘त्यसैले आफ्नो समूहबिच विभिन्न चरणमा छलफल गरी सहमति गरेर पार्टी प्रवेश गरेका थियोैं ।’
उनले भने ‘तर साम्पाङले सहमति विपरीत निर्णय गरेपछि पार्टीभित्र बसिरहनुको औचित्य समाप्त भएको हाम्रो समूह निष्कर्षमा पुर्यो ।’ अब आगामी निर्वाचनमा स्वतन्त्र रूपमा सहभागी हुने र धरानका २० वटै वडामा उम्मेदवार उठाउने तयारी रहेको पनि उनले जानकारी दिए ।
निनाचन्द्रले ‘मलाई साम्पाङले केटाकेटीलाई ललिपप देखाएझैँ गरे ।’ भनी बताउँदै आफु सहित अन्य साथीहरु वैशाख १५ गते नै पार्टी प्रवेश गरेका थिए, वडा ४ का अध्यक्ष धनबहादुर राई पनि भर्खरै एमालेबाट पार्टी प्रवेश गरेका हुन ।तर उनलाई साम्पाङले फेसबुकबाटै नगर प्रमुखको उम्मेदवार बनाउने कुनै किसिमको कुराकानी नभएको उनले बताए ।
निनाचन्द्र राई र हर्क साम्पाङबीच मदन भण्डारी राजमार्ग धनकुटे रोडबाट लैजान सडक विस्तार विरुद्धको आन्दोलनबाट सुरु भएको थियो । उनीहरू दुवैको घर धनकुटै रोडमा पर्दछ ।
सडक विस्तारका कारण दुवैको घर तथा संरचना प्रभावित हुने भएपछि उनीहरूले धनकुटे रोड सङ्घर्ष समिति गठन गरी संयुक्त आन्दोलन चलाएका थिए। पछि निनाचन्द्रले साम्पाङको नगर प्रमुख चुनावमा सक्रिय भूमिका खेलेका थिए ।