चतरा : वराहक्षेत्र नगरपालिका र जिल्ला प्रशासन कार्यालय सुनसरी बिच स्थानीय तह र स्थानीय प्रशासन समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा वराहक्षेत्रमा विकृत रूपमा फैलिएको लागूऔषध दुर्व्यसनी, नागरिकताको समस्या व्यवस्थापन र जोखिम न्युनिकरणको विषयमा बैठकमा छलफल भएको थियो । बैठकमा वडाध्यक्ष तथा वडाका जनप्रतिनिधिले नागरिकताको समस्या, सुरक्षा, लागूपदार्थ दुर्व्यसनी लगायतको समस्या राखेका थिए ।
वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीको सभाध्यक्षतामा भएको बैठकमा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले अपराध न्यूनीकरण, शान्ति सुरक्षा, महिला हिंसा, बजार अनुगमन लगाएका विषयमा स्थानीय पालिका सँग समन्वय गरेर काम गर्ने बताइन ।
जिल्लाको शान्ति सुरक्षा, सुशासन र जबाफदेहिता आफ्नो प्राथमिकतामा रहेको बताउँदै जिल्लामा हुने विभिन्न गतिविधिलाई निगरानी गर्दै जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति हुने योजना तयार गरी अगाडी बढ्ने उनको भनाई थियो । सुनसरीमा आएपछि तीन जिल्लामा कार्य गरेको अनुभवका आधारमा काम गर्न सहज हुने बताउँदै उनले सबै सँग समन्वय र सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन् ।  
पाण्डेले सुनसरी भौगोलिक हिसाबले पहाड, मधेस भू-भाग देखि भारतीय खुल्ला सीमा सँग जोडिएकोले सुरक्षा चुनौती भएको उल्लेख गर्दै उनले भूगोललाई सम्बोधन गर्ने आफ्नो प्रयास निरन्तर जारी रहने बताइन् । 
कार्यक्रम वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले वराहक्षेत्रको सम्भावना र चुनौती बारे जानकारी दिएका थिए । शान्त, सभ्य र सुन्दर नगरपालिका बनाउन लागि परेको बताउँदै नगर प्रमुख कार्कीले यसकालागि प्रशासन र सुरक्षासँग समन्वय गरेर अभियान सञ्चालन गर्ने कार्कीको भनाई रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रभु प्रसाद ढकालले जिल्लाको सुरक्षा अवस्थाको बारेमा प्रहरीबाट भइरहेको सचेतना, अभिमुखीकरण लागुऔषध नियन्त्रण तथा नियमन, सीमा सुरक्षा निगरानी लगायतका बारेमा जानकारी दिएका थिए ।
सशस्त्र प्रहरी सुनसरी प्रमुख, राष्ट्रिय अनुसन्धान सुनसरीका प्रमुख, वराहक्षेत्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋद्बिप्रकास सिटौला लगायत वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रम वराहक्षेत्र नगरपालिकाले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी पाण्डेलाई नगर प्रमुखले स्वागत सम्मान समेत गरेका थिए ।