धरान : धरान वडा २० माथिल्लो सुलीकोट शिखर स्थित मुन्धुमी पर्यटकीय सांस्कृतिक स्थल याक्थुङ मुन्धुम यक सम्म पुग्ने पदमार्ग निर्माणमा कुल ३५ लाख, २३ हजार, ६७५५ रुपैयाँ खर्च भएको हिसाब निर्माण समितिले आज शनिवार सार्वजनिक गरेको छ ।

निर्माण समितिद्वारा प्रकाशित ‘याक्थुङ मुन्धुम यक स्मारिका’ विमोचन सहित त्यसमा प्रकाशित हिसाब किताब सार्वजनिक गरिएको हो । आयव्यय सहितको स्मारिक विमोचन गर्दै धरान–१५ का वडाध्यक्ष नरेश इङवारमले नगरपालिकाको बजेट लगानी भन्दा बिस गुना बढी जनसहभागिता जुटाएर निर्माण भएको यो पदमार्ग विकास र पारदर्शी हिसाब किताबको उदाहरण भएको बताए ।

माथिल्लो सुलीकोटको फेदीबाट करिब २ किलोमिटर माथि समुद्री सतहबाट १५४३ दशमलव ४० मिटरको उचाइको शिखरमा पुग्ने पदमार्ग निर्माण गरिएको हो । सांस्कृतिक एवं पर्यटकीय शिखर सम्म पदमार्ग बनाउन उपमहानगरपालिकाले १ लाख, ५५ हजार रुपैयाँ मात्र लगानी गरेको छ । उक्त रकममा निर्माण समितिले देश, विदेशबाट आर्थिक सहयोग जुटाई ३५ लाख रुपया भन्दा बडी लागतमा पदमार्ग निर्माण गरेको हो ।

स्मारिकामा प्रकाशित हिसाबमा पदमार्ग निर्माणको लागि युके (बेलायत) स्थित भूपू सैनिकहरूबाट १० लाख, २२ हजार, ६२५ रुपया र गेट निर्माण गर्न छुट्टै सोम लिम्बु र अशोक लिम्बुबाट २ लाख ५० हजार रुपया प्राप्त भएको छ । यसै गरी हङकङबाट ५ लाख, ८५ हजार, ४५० रुपया र नेपाल भित्रबाट कुल १३ लाख, ४१ हजार, ८७६ रुपया सङ्कलन भएको उल्लेख छ ।

पदमार्ग निर्माण समितिका अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङले पदमार्ग बनेपछि पदमार्गीहरुको चहल पहल बढेको शिखरमा हालै भएको तोडफोड र दान पेटिकाको नगद रकम समेत चोरी भएको घट्नाको दोषी पत्ता लगाई कारबाही गर्न माग गरेका छन् ।

उनका अनुसार गतः मङ्गलवार अवलोकनमा शिखर पुग्दा त्यहाँ ‘नाहेन मुन्धुम’ गरी स्थापना गरिएका लुङ ढुङ्गाहरू भत्काएको पाइएको हो । तोडफोड गर्नेहरूले त्यहाँ सिलाम साक्माको खम्बामा राखिएको दान पेटिकाको ताला फुटाएर नगद रुपैयाँ पनि लगेका छन् ।

युमा साम्यो महासभा केन्द्रीय अध्यक्ष डा.रमेश इजमले लिम्बुवानको राजधानी विजयपुरको इतिहाससँग जोडिएको ठाउँको पहिचान गरी पूर्वाधार सहित याक्थुङ मुन्धुम यक नामकरण गरिनु ऐतिहासिक कार्य भएको बताए ।

चुम्लुङ केन्द्रीय सचिव सङ्गीता सुब्बा, चुम्लुङ केन्द्रीय सदस्य डा.कमल तिगेला लिम्बु, ले मुन्धमी स्थलमा पदमार्गको निर्माणले धरानको सांस्कृतिक पर्यटनमा नयाँ गन्तव्य थपिएको बताए । स्मारिकाका सम्पादक चुम्लुङ जिल्ला अध्यक्ष शिव सुब्बा इस्वोले पर्यटन र सांस्कृतिक स्थलको नयाँ ठाउँको बारेमा जानकारीसँगै आम्दानी खर्च पारदर्शी गर्न स्मारिका प्रकाशन गरिएको बताए ।