धरान : कोशी प्रदेश नामाङ्कन खारेजीको माग सहित प्रदर्शनमा घाइते भई मृत्यु भएका पदम लिम्बु लाजेहाङको शव सहिद घोषणा र पुनः नामकरणको मागमा राज्यले सम्बोधन नगरे सम्म जिम्मा नलिने संयुक्त सङ्घर्ष समितिले निर्णय गरेको छ ।

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको आज शुक्रवार काठमान्डुमा बसेको आपतकालिन बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले आजै बेलुकी ५ देखी प्रदेशको १४ वटै जिल्लामा र काठमान्डुमा समेत विरोध सभा गर्ने निर्णय गरेको छ। जिल्ला नगरहरूमा सङ्घर्ष समितिका घटकका नेताहरूको सक्रियतामा विरोध सभा आयोजना गर्ने निर्णय भएको हो ।

भोलि चैत ११ गते प्रदेशभरी २ घण्टा चक्काजाम गर्ने निर्णय पनि सङ्घर्ष समितिले गरेको छ । दिउसो १ देखी २ बजे प्रदेशका १४ वटै जिल्ला स्थानिय संयुक्त सङ्घर्ष समितिहरूद्वारा चक्काजाम गराइने भएको हो ।

घट्नाको छानबिन आयोग गठनको माग सहित सङ्घर्ष समितिले संयुक्त राष्ट्रसङ्घ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने निर्णय गरिएको छ ।

सङ्घर्ष समितिको प्रमुख घटक किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोका अनुसार निर्णयमा भनिएको छ ‘प्रदेशको नाम कोशी खारेजी गरी ऐतिहासिक पृष्ठभूमिको आधारमा बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन नगरुन्जेल र आन्दोलनकारी वीर योद्धा सहादत प्राप्त पदम लिम्बु लाजेहाङलाई राज्यले सहिद घोषणा गरी क्षतिपूर्ति नगरुन्जेल मृतकको शव जिम्मा नलिने ।’

संयुक्त सङ्घर्ष समितिको तर्फबाट मृतक परिवारलाई तत्कालका लागि आज शुक्रवार बेलुकी सम्ममा १ लाख ५० हजार रुपया तत्काललाई उपलब्ध गराउने निर्णय पनि भएको छ । संयुक्त सङ्घर्ष समितिका घटक सङ्गठनहरूको पहलमा सम्बद्ध सङ्गठनका शीर्ष नेताहरू आजै सहिद पदम लिम्बु लाजेहाङको शव रहेको स्थान धरानमा केन्द्रित हुने निर्णय गरिएको छ ।

कोशी प्रदेश नामाङ्कन खारेजीको माग सहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते धरान-१५ का पदम लिम्बु लाजेहाङको शुक्रवार बिहान २:३० बजे निधन भएको हो ।

उनको बिपी प्रतिष्ठानको आइसियुमा उपचार भइरहेको थियो । टाउकोमा चोट लागेका लाजेहाङलाई बुधवार राती बान्ता गरेपछि बेहोस भएको अवस्थामा उपचारार्थ बिपी पुर्‍याइएको थियो ।

धरान-१५ मा बसोबास गर्दै आएका लाजेहाङ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह-कमान्डर थिए । ४२ वर्षीय लाजेहाङ मोरङ जिल्ला लालभित्तिका छत्रबहादुर लिम्बुका छोरा हुन । उनी २०५२ देखी लिम्बुवान आन्दोलनमा सक्रिय थिए ।

संयुक्त सङ्घर्ष समितिले एक वक्तव्यमा ‘लाजेहाङको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढङ्गले कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवं नेपाल प्रहरीले लिनु पर्दछ ।’ भन्दै लिम्बुको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गर्न माग गरेको छ ।