धरान : वंशाणुगत देखिएको मधुमेह रोगबाट पनि खानपान, दैनिक आचार व्यवहारमा सुधारबाट मुक्त रहन सकिने चिकित्सा विज्ञानमा भएको अनुसन्धानबाट पुष्टि भएको बिपी प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा.सञ्जीवकुमार शर्माले बताएका छन् । यसअघि वंशाणुगत आएको मधुमेहको रोग निको नहुने मान्यता थियो ।
विश्वका शीर्ष २ प्रतिशतमा नेपालका ३१ वैज्ञानिकको नाम मध्ये एक बिपी प्रतिष्ठानका प्राडा शर्मासँग आज मङ्गलवार बिहान भएको संवादमा उनले मधुमेह निर्मूल गर्न प्याङक्राइज प्रत्यारोपण गर्ने उपचार अनुसन्धानको क्रममा रहेको बताए ।
प्याङक्राइज प्रत्यारोपण विकासीत मुलुकमा दुर्लभ मानिएको बताउँदै उनले भने ‘तर, नेपालमा त्यो अहिले सम्भव छैन ।’ मधुमेह रोगबाट मुक्त रहन खानपान र दैनिक आचार व्यवहार मुख्य भएको उनको भनाई छ । प्राडा.शर्मा मृगौला र मुटुरोग विशेषज्ञ हुन ।
मधुमेह रोगबारे केएचडिसीले गरेको अनुसन्धानले विकासीत मुलुक र नेपाल जस्तो विकासशील देशको प्रवृत्ति फरक रहेको मान्यता स्थापित गरेको उनले बताउँदै उनले भने ‘त्यसको उपचार पद्धतिमा अनुसन्धान गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुटिओ)ले भनेको छ ।’
उनका अनुसार युरोप, अमेरिकातिर मधुमेहका ७५ प्रतिशत बिरामी ८० वर्ष नाघेका ज्येष्ठ नागरिकहरू पाइन्छन् । नेपाल जस्तो मुलुकमा कम उमेर तथा बाल मधुमेह समेत पाइने गरेको छ । प्राडा.शर्माले भने ‘मधुमेह रोगको यो प्रवृत्तिको उपचार पद्धति एउटै हुन सक्दैन भन्ने अनुसन्धानको मुख्य विषय हो ।’
नेपाल स्वतन्त्र यातायात मजदुर सङ्गठन धरान, सुनसरीको सहकार्यमा केन्द्रीय अध्यक्ष भीम ज्वाला राईद्वारा विश्वका शीर्ष वैज्ञानिक प्राडा.शर्माका अनुसन्धानले स्वास्थ्य क्षेत्रमा पुर्याउने लाभका बारेमा संवाद आयोजना गरिएको हो ।
प्राडा. शर्माले केएचडिसीले पहिले लामो समय सर्प दंशका उपचारको बारेमा गरेको अनुसन्धानले सर्पको विषबाट मानिसलाई बचाउन सकिने सम्भावनाको खोजलाई विश्वले मान्यता दिएको छ । उनले भने हामीले गरेको अनुसन्धानले विश्वमा सर्प दंशको उपचार पद्धतिमा फरक ल्याएको छ ।’
उनका अनुसार नेपाल र क्यामरुनमा भएको सर्पदशंको अनुसन्धानले सर्पको विषका बारेमा नयाँ तथ्यहरू पत्ता लागेको हो । विशेष गरी ग्रामीण क्षेत्रका सीमान्तकृत वर्ग र किसानहरूले बर्सेनि सर्पदशंबाट ज्यान गुमाउनु परेको अवस्थामा अनुसन्धान सुरु गरिएको उनले बताए ।
अनुसन्धानको क्रममा नेपालमा ३००० सर्प दंशका पीडितलाई अकाल मृत्युबाट बनाउन सकिएको छ । प्राडा. शर्माले विश्व स्वास्थ्य सङ्गठन ड्ब्लुएचओमा सर्पदंंश सम्बन्धी नेपालको प्रतिनिधित्व गर्दै आएका छन् ।
उनले विश्वमा हुने अनुसन्धानहरूले स्वास्थ्य उपचार विज्ञानको क्षेत्रलाई नयाँ मार्गचित्र दिने भएकाले मानवरहितका लागि महत्त्वपूर्ण भएको बताए । त्यसमा बिपी प्रतिष्ठानको नाम जोडिनु गौरवको विषय भएको उनको भनाई छ ।
प्राडा.शर्माका अनुसार विश्वको स्वास्थ्य विज्ञानको क्षेत्रमा भएको अनुसान्धानहरुको प्रतिवेदन अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीद्वारा एन्सेभियरको जनरलमा प्रकाशित हुन्छ । स्ट्यानफोर्ड विश्वविद्यालय सँगको सहकार्यमा तयार गरिने वार्षिक प्रतिवेदनमा ग्लोबल वैज्ञानिक प्रभाव र्याकिङ गरिन्छ ।


































































