इटहरी : कोशी राजमार्ग अन्तरगत धरान लाइन हलगडाको सरस्वती हार्डवेयर बन्द भएको ६ महिना पुरा भयो । स्थानीय आलोक रिजालले सञ्चालन गरेको हार्डवेयरमा व्यापार सुक्दै गएपछि बन्दको अवस्थामा पुग्यो । आर्मी क्याम्प अगाडी सुमित खेडियाको इटहरी सप्लायर्स पनि सोही समयमा बन्द हुन पुग्यो । इटहरी सप्लायर्स नजिकै रहेको अमर इन्टरप्राइजेज पनि बन्द अवस्थामा छ ।
यसबाहेक बन्द गर्न नसक्ने र विस्थापित हुन पनि नसक्ने अवस्थामा धेरै व्यापारी रहेका छन् । आर्मी क्याम्प अगाडी नै ग्राहक कुरेर बसिरहेका छन् जनक गौतम । जगदम्बा सप्लायर्सका सञ्चालक गौतम एक लाख रुपैयाँको एकमुष्ट रकम देख्न नपाएको ६ महिना भएको बताउँछन् ।
निर्माण व्यवसायको कारोबार ठप्प भएकाले अहिले धेरै समस्या भएको उनले बताए । मुख्यतः बैङ्कको ब्याजदर र ऋण प्रवाहमा देखिएको असन्तुलनले अप्ठ्यारो पारेको गौतमको बुझाइ छ ।
उनका अनुसार इटहरीमा मात्र दुई सय हार्डवेयर भए पनि अहिले धेरै विस्थापित हुने अवस्थामा पुगेका छन् । ‘करोडौँ लगानी गरेर विस्थापित हुन पनि नसक्ने र टिक्न पनि नसक्ने अवस्थामा पुगिएको छ । यसबिचमा सबैतिर ६० प्रतिशत बढी कर्मचारी कटौती गरेर खर्च व्यवस्थापन गर्नुपरेको छ । स्टाफ कटौती गरेर खर्च घटाउनुपर्ने अवस्था छ,’ उनले भने । 
इटहरी पश्चिम लाइनको विवेक सप्लायर्सका मालिक विवेक पोखरेल व्यापार ६० प्रतिशत कमी भएको बताउँछन् । दुई वर्ष देखि सुस्त भएको व्यापार अहिले सम्म उठ्न नसकेको उनको भनाइ छ । आफ्नै घरमा चलाउँदा समेत समस्या भएको बताउँदै उनले भने, ‘घर भाडा लिएर बस्नेको झनै हालत खराब भएको छ । स्टाफ देखि कर र भाडाले उठिबास लगाउँछ । १० वर्षमा पहिलो पटक यस्तो अनुभव भएको छ ।’
धरान हार्डवेयर व्यवसायी सङ्घका अध्यक्ष मनोज तोदी हार्डवेयरको व्यापार शून्यताको नजिक पुगेको बताउँछन् । असोज कार्त्तिक व्यापार बढ्ने समय भए पनि अहिले झिँगा धपाएर बस्नुपर्ने अवस्था आएको उनले बताए । ‘सिजनको बेलामा सुतेर बस्नु परेको छ । चाडपर्व नजिकिए सँगै रंगरोगन गर्ने बेला हुन्छ । यस बेला कम्तीमा रङ्ग त विक्री हुन्थ्यो । अहिले दिनमा एक डिब्बा रङ्ग विक्री हुँदैन । अरू त कुरै नगरौँ,’ उनले भने, ‘बैङ्कले होम लोन बन्द गरेपछि यो समस्या सुरु भएको हो ।’ 
धरानमा ८० भन्दा बढी हार्डवेयर भए पनि हालसम्म १५ वटा जति बन्द भइसकेको उनले जानकारी दिए । दसैँ पछि धेरै व्यापारीहरू विस्थापित हुने अवस्थामा पुगेको उनको भनाइ छ ।
विराटनगर रानीका व्यवसायी एमडी रब्बानीले पनि दसैँ र तिहार पर्खिएर बसेको बताए । मुन्ना हार्डवेयरका सञ्चालक उनले व्यापारमा पहिलो पटक यति धेरै सुख्खा लागेको उनको अनुभव छ । अघिल्लो वर्षसम्म प्रत्येक दिन २/३ लाखको कारोबार हुने गरेको बताएका उनले अहिले एक दिनमा दुई हजारको सामान बेचेर बस्नुपरेको भन्दै दुखेसो व्यक्त गरे । 
पसलमा आउने ग्राहकले पनि बैङ्कको ब्याजदरको कारण समस्या आएको बताउने गरेको उनले सुनाए । विराटनगरका अधिकांश हार्डवेयर व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको उनले बताए । 
हार्डवेयर व्यवसायबाट विक्री हुने सामग्रीको मुख्य खपत घर तथा भौतिक संरचना निर्माण हुन्छ । सरकारी संरचनाको निर्माणको काम सुरु नभएपछि व्यवसाय चलायमान बन्न नसकेको व्यवसायीहरू बताउँछन् । घर निर्माणमा समेत गिरावट आएपछि टिक्न गाह्रो भएको उनीहरूको अनुभव छ ।
इटहरी उपमहानगरपालिकामा २०७७ को असार मसान्त सम्म एकबर्ष भित्र ९४३ वटा घर सम्पन्न भएका थिए । जुन कोभिड महामारीको वर्ष हो । त्यसपछि २०७८ को असार मसान्त सम्म १०३८ घर निर्माण सम्पन्न भनभने २०७९ को असार सम्ममा जम्मा ८५० वटा घर निर्माण भएका थिए ।
त्यस यता घर निर्माणको दरमा कमी हुँदै आएको छ । जसको प्रत्यक्ष प्रभाव हार्डवेयर व्यवसायमा परेको छ ।
गत आर्थिक वर्षमा निर्माणाधीन अवस्थामा रहेका घरहरू चालु आर्थिक वर्षको असोज १४ गतेसम्म १४७ वटा घर निर्माण सम्पन्न भएका छन् । इटहरी भरि हालसम्म जम्मा ३७ वटा घर निर्माण प्रक्रियामा छन् ।