इटहरी : कोभिड महामारी पछि मुर्झाएको अर्थतन्त्रका बिच उमेश अधिकारीले कपडाको होलसेल पसल खोले । उत्साहका साथ इटहरी ६ सङ्गीत चोकमा घर भाडामा लिएर यु एण्ड वि इन्टरप्राइजेज सुरु गरे । पहिलो चरणको लकडाउन लगत्तै पसल खोलेका उनले दोस्रो चरणको ३ महिने लकडाउनको सामना गर्नु पर्यो ।

लकडाउन पछि व्यापार राम्रो सँग चल्यो । सुरुवाती अवस्थामा उत्साहित भए उमेश । व्यापार बढ्दै गएपछि पार्टनर र उनी खुसी भए । खुद्रा व्यापारी सँग राम्रो सम्पर्क हुँदै गयो । सोही अनुसार सामान पनि गयो ।

बिस्तारै सामानको माग घट्न थाल्यो । पैसा पनि उठ्न छाड्यो । उधारो सामान लिएकाहरू सम्पर्कमा आउन छाडेपछि समस्यामा पर्दै गए अधिकारी । पैसा उठाउन जाँदा व्यापारीले उल्टै गालीगलौज गर्ने गरेको उनको गुनासो छ ।

५० लाख लगानीको व्यापार डुबेपछि पसल बन्द गरेर हाल उनी काठमाण्डौमा छन् । विदेश जाने तयारीमा रहेको बताउँदै उनले सुरुवातको लगानी बाहेक अन्य ऋणले समस्या पारेको बताए । त्यसअघि होटेल गरेका उनले घाटा खाएर विक्री गरेको सुनाउँछन् ।

सङ्गीत मार्केटका गोविन्द गौतम विदेश जाने तयारीमा छन् । करोड बढी लगानी गरेर कपडाको होलसेल सुरु गरेका उनी व्यापार नचलेपछि पलायन हुने तरखरमा छन् । पछिल्लो समय देखा परेको आर्थिक मन्दीको कारण समस्यामा परेको बताउँछन् गौतम ।

एकातिर सहकारीको समस्या र अर्कातिर बैङ्कको महँगो ब्याजदरले व्यापारीहरू मारमा परेको उनले बताए । बजारमा पैसा चलायमान नहुँदा खुद्रा व्यापारीको व्यापार नभएको र त्यसको कारण होलसेलमा सङ्कटमा परेको उनको बुझाइ छ । न्यु गौतम सप्लायर्सका सञ्चालक उनले महिना दिनदेखि सटर बन्द गरेका छन् ।

तिन वर्षदेखि व्यापार सुरु गरेका गौतमले पहिलो पटक लामो समय एक रुपैयाँको समेत नभएको अनुभव गर्नुपर्‍यो । सँगैका साथीहरूले व्यापार छाडेकोमा धन्यावाद दिएको बताउँदै उनले दसैँ पछि धेरै व्यापारी पलायन हुन सक्ने बताए ।

सङ्गीत मार्केटमै बिएम सप्लायर्स चलाइरहेका रुपेश श्रेष्ठ आर्थिक मन्दीले व्यापारी सङ्कटमा परेको बताउँछन् । रेडिमेड व्यवसायी सङ्घ इटहरीका महासचिव समेत रहेका उनी कोभिड पछाडि बिस्तारै व्यापार समस्यामा पर्दै गएको सुनाउँछन् । विक्री शून्य भएपछि त्रासमा रहेको बताएका श्रेष्ठ कहिले सम्म यस्तो अवस्थामा टिक्न सकिएला भन्दै प्रश्न गर्छन् । बैङ्कको चर्को ब्याजदर र कोभिड पछिको प्रभाव अहिले व्यापारमा देखिएको उनको बुझाइ छ ।

सुरुमा एउटा मात्र सटर लिएका उनले पछि व्यापार बढाउन सटर पनि बढाए । भाडा पनि सोही अनुसार दोब्बर भयो तर व्यापार चौपट हुँदै गयो । ‘पहिलो पटक अत्यासलाग्दो अनुभव भएको छ । यस्तो व्यापार जीवनमा भोगेको थिइन । बोनी नभएका धेरै दिनहरू भोग्नु परेको छ,’ उनले भने ।

बेलबारीबाट इटहरी आएर व्यापार गर्दै गरेका उनले अब के गर्ने भन्नेमा समस्या परेको बताए । अब धेरै साथीहरू विदेश जाने तरखरमा रहेको सुनाउँदै उनले भने, ‘बैङ्कको व्याज र साहुको ऋणले च्यापेपछि विस्थापित हुने भयले धेरै व्यापारीहरू पलायन भइरहेका छन् ।’

इटहरीकै पुराना कपडा पसल क्लोथ हाउसका सञ्चालक नटवर राठीले पनि अवस्था सङ्कटग्रस्त रहेको प्रतिक्रिया दिएका छन् । कपुरी न्युज सँग कुरा गर्दै उनले ६० प्रतिशत व्यापार कम भएको सुनाए । कहिलेकाहीँ मौसमी रूपमा व्यापार घट्ने गरेको बताएका उनले यस पटक लामो समय सङ्कट देखा परेको बताए । अहिले सस्तो र अत्यावश्यक कपडाको मात्र खपत हुने गरेको उनको अनुभव छ ।

समस्या व्यापारीको मात्रा हैन गार्मेन्ट उद्योगमा समेत परेको छ । जे एण्ड बि गार्मेन्ट उद्योगका सञ्चालक राजु राय पहिला भन्दा ६० प्रतिशत व्यापार घटेको बताउँछन् । बजारमा सामानको माग घटेपछि उत्पादन घटाएको उनले बताए । ६ महिना अगाडी सय जनाले काम गर्ने उद्योगमा हाल ५० जना मात्र कर्मचारी रहेको रायको भनाइ छ । बजारको आवश्यकता अनुसार कपडा उत्पादन गर्दै आएका रायले पहिलो पटक गम्भीर सङ्कटको सामना गरेको बताउँछन् ।

इटहरीमा सञ्चालित १ हजार रेडिमेड व्यवसायीले एउटै समस्या भोगिरहेका छन् । ४० भन्दा बढी होलसेल विक्रेताहरू विस्थापित भएको रेडिमेड व्यवसायी सङ्घको तथ्याङ्क छ । न्यूनतम ५० लाख देखी २ करोड सम्म लगानी गरेका लगानीकर्ता समस्यामा परेका छन् । बजारमा खाद्यान्न लगायत अत्यावश्यक बस्तुहरू महँगो भएको कारण विलासी बस्तुको खरिद कम हुँदै गएको व्यापारीहरू बताउँछन् ।

स्थानीय सरकारले लगाएको राजस्वले व्यवसायीलाई मात्र सङ्कट परेको उनीहरू बताउँछन् । हरेक वर्ष भाडामा वृद्धि हुँदा स्थानीय सरकार र सरोकारवाला निकायले बेवास्ता गरेको उनीहरूको गुनासो छ । घर बहाल करले व्यापारी सङ्कटमा र घरबेटी फाइदा परेका व्यापारीको तर्क छ ।