इटहरी : इटहरी उपमहानगरपालिकाले २०७९ चैतमा बेसमेन्टको उपयोग सोही प्रयोजनमा गर्नुपर्ने भन्दै घरधनीलाई पत्राचार गर्न पत्र तयार गर्‍यो । तयार भएको पत्र उपमहानगरको फाइलमा थन्किएर बसेको छ । कानुन अनुसार कारबाही गर्ने ब्यहोरा सहित तयार भएको पत्र घरधनी सम्म पुग्न सकेन ।

उपमहानगरले कुन कानुनको आधारमा कारबाही गर्ने भन्ने यकिन गरेको छैन । अहिलेसम्म बेसमेन्टको उपयोग सम्बन्धी कुनै कानुन निर्माण भएकै छैन ।

त्यसअघि २०७९ भदौ १३ गते उपमहानगरले मुख्य चोक आसपास राजमार्गमा पार्किङ गर्न नपाइने निर्णय गर्‍यो । ट्राफिक प्रहरी लगायत सरोकारवाला सँगको छलफल पछि कार्यपालिकाबाट पार्किङ निषेधको निर्णय भयो ।

ट्राफिक प्रहरी, नगर प्रहरी र जनप्रतिनिधि आफै फिल्डमा खटिएर पार्किङ निषेधको निर्णय कार्यान्वयनमा ल्याउने कोसिस गरे । कुनै विकल्प नदिई पार्किङ हटाएको भन्दै स्थानीय व्यापारीले विरोध जनाए । बाहिरबाट आउने सर्वसाधारणले पनि पार्किङ हटाउने निर्णयले विकल्प विहीन काम गरेको भन्दै आलोचना गरे ।

सडकमा पार्किङ निषेध भएपछि इटहरीका भित्री बजार तथा गल्लीमा असरल्ल पार्किङ हुने गरेका छन् । चोक आसपास निर्माण भएका बेसमेन्टको उपयोग नभएकै कारण पार्किङको समस्या बढ्दै गएको छ । इटहरी सङ्गीत चोकमा रहेको इन्टुरिस्ट होटेलमा पनि बेसमेन्ट छ । तर कुन प्रयोजनमा बेसमेन्ट तयार भएको भन्ने इटहरी उपमहानगरपालिका बेखबर छ ।

धरान लाइनमा रहेको स्काई प्लाजामा सयौँको सङ्ख्यामा सवारी पार्किङ गर्न मिल्ने बेसमेन्ट छ । बेसमेन्टमा विभिन्न पसलहरू सञ्चालनमा छन् । मुख्य चोकको सेन्ट्रल प्लाजाले बेसमेन्टको उपयोग पार्किङ प्रयोजनमा उपयोग गरेको छ । सेन्ट्रल प्लाजाका व्यापारी व्यवसायी तथा बरन्डा होटेलका ग्राहकको लागि पार्किङको व्यवस्था मिलाएको हो ।

इटहरीको सबैभन्दा पुरानो व्यापारिक मल गोर्खा डिपार्टमेन्ट स्टोरले अन्डरग्राउन्ड बनाएर हाल त्यसलाई अन्य व्यवसायीक प्रयोजनमा उपयोग गरिरहेको छ । उपमहानगरले चासो नदिएको कारण धेरै बेसमेन्टहरु व्यवसायीक प्रयोजनमा भाडामा छन् । जनता गल्लीमा भर्खरै निर्माण सम्पन्न भएको भवनमा फराकिलो बेसमेन्ट छ । भवन बाहिरको साँघुरो गल्लीमा असरल्ल पार्किङ छ तर बेसमेन्टमा एउटा पनि सवारी पार्किङ भएका छैनन् ।

पश्चिम लाइनबाट गुद्री बजार छिर्ने गल्लीमा पनि पार्किङको उस्तै समस्या छ । तर त्यही अगाडी ग्लोबल आइएमई बैक भएको भवनमा विशाल बेसमेन्ट छ । जुन सर्वसाधारणको प्रयोजनको लागि खुल्ला गरिएको छैन । प्रभु बैङ्क भएको भवन अगाडी राजमार्गमा पार्किङ हुने गरेको छ । त्यही भवनको बेसमेन्टमा होटेल सञ्चालन भइरहेको छ ।

सङ्गीत चोकमा भर्खरै निर्माण सम्पन्न भएका दुई वटा भवनले पार्किङ प्रयोजनमै बेसमेन्ट प्रयोग गरिरहेका छन् । पार्किङ समस्या समाधान गर्ने योजना बनाएको उपमहानगरले व्यवसायीक पार्किङको लागि कानुन बनाउन सकेको छैन । कानुनको अभावका बेसमेन्टको कार्यान्वयन हुन नसकेको भवन अनुमति तथा मापदण्ड शाखाका प्रमुख इन्जिनियर कैलाश तिम्सिना बताउँछन् ।

उनका अनुसार हालसम्म निर्माण भएको भवनको बेसमेन्ट कुन प्रयोजनमा निर्माण भएको प्रष्ट भएको छैन । ‘पार्किङ प्रयोजनमा हो भने उसले भाडामा लगाउन पाउने कि नपाउने भन्ने कानुनी व्यवस्था हुनुपर्छ । हामी सँग अहिले कानुनको अभाव छ । कानुन बनेपछि पार्किङ प्रयोजनको लागि निर्माण भएका भवनको हकमा कडाइ गर्न सकिन्छ,’ उनले भने ।

besment parking itahari