धरान : बहुसांस्कृतिक, भाषिक, धार्मिक शहर धरानमा आज आइतबार सूर्यास्तको समय अर्घ दिँदै छठ पर्व मनाइएका छन् । छठ पूजामा देखिएका समावेशी व्रतालुहरूले यो पर्व धरानवासीको सद्भाव र सहिष्णुताको पर्व बनेको झल्को दिदैं आएको छ ।

धरानको पूर्व स्थित सेउती र पश्चिम स्थित सर्दु खोलालाई छठ पूजाको घाटको रूपमा बेहुली झैँ सिँगारिएको छ । साँझ अर्घ दिने समय छठको व्रत बस्ने व्रतालुहरूको निकै बाक्लो उपस्थिति देखियो ।

छठ पर्वलाई धरानमा उल्लासमय रूपमा मनाईदैछ । छठ पहिले तराईवासीले मात्रै मनाउने गरेका थिए । पछिल्लो समय यो पर्वले अन्य जाती समुदायले मनाउन थालेपछि समावेशी पर्वको रूपमा विकास भएको छ ।

धरानमा तराईका समुदायसँगै पहाडी समुदायले सूर्य उपासनाप्रति आस्थाका साथ मनाउन थालेका हुन् । छठ पर्वमा व्रतालुहरू अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिए देखि निराहार वर्त बस्ने गरिन्छ ।

साँझ परेपछि खोलाको किनार, तलाउमा गएर अस्ताउँदो सूर्यलाई पूजा गरी विभिन्न प्रकारका फलफूल पानीमा डुबाएर सूर्यलाई चढाउनेछन् ।

भोलीपल्ट बिहान पुनः घाटमा गएर उदाउँदो सूर्यलाई पूजा गरी अर्घ दिएपछि व्रत समाप्त हुने धार्मिक परम्परा रहेको छ । छठ पर्वमा भगवतीको पूजा अर्चना गरी भाकल गरेमा मनकामना पुरा हुने धार्मिक विश्वास पाइन्छ ।

केही वर्ष अघि सम्म तराईमा मात्रै मनाइने छठ पर्व अहिले भने पहाडी जिल्लामा पनि मनाउने गरेको पाइन्छ ।