इटहरी : सुनसरी र मोरङको सिमानामा पर्ने बुढी खोलामा २ लाख भक्तजन भित्राउने योजना सहित छैठको तयारी गरिएको छ । कोशी प्रदेशको सबैभन्दा धेरै भक्तजन आउने अनुमान गरिएको बुढी खोलामा छैठको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

यसअघि श्रद्धालु आफैले छैठको घाट निर्माण गर्ने प्रचलन भएपनि पछिल्लो समय छैठ पर्व सेवा समितिले घाट निर्माण गरेर घाट व्यवस्थापन गर्दै आएको छ । बुढी खोलाको ६ सय मिटर क्षेत्रमा वारिपारि दुवै तर्फ घाट सजावट गरिएको छ । बत्ती, खानेपानी र पार्किङको व्यवस्थापनमा छुट्टै समिति गठन गरेको सेवा समितिले आगन्तुक भक्तजनलाई कुनै पनि समस्या पर्न नदिने बताएको छ ।

छैठ पर्व सेवा समितिका उपाध्यक्ष वासुदेव कर्णका अनुसार इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेलले औपचारिक कार्यक्रमको उद्घाटन गर्ने भएका छन् । २४ लाख रुपैयाँ खर्च अनुमान गरिएको कार्यक्रममा मोरङ र सुनसरी दुवै जिल्लाको प्रहरी प्रशासनले सुरक्षा दिने भएको उनले बताए ।

तिन दिन सम्म मनाइने छैठ आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिए सँगै समापन हुने भएको छ । बुढी खोलाको अलबा केसलीया र हाट खोला लगायत माई, लोहन्द्रा, रतुवा खोलामा छैठ पूजा भव्यताका साथ आयोजना गरिन्छ ।