वराहक्षेत्र : नवौँ स्थापना दिवसको अवसरमा बुधवार वराहक्षेत्र नगरपालिकाले नगर स्तरीय खुल्ला रोड रेस प्रतियोगिता आयोजना गरेको छ।
तेस्रो संस्करणको उक्त प्रतियोगिताको पुरुषतर्फ वराहक्षेत्र-८ का कालुमान राई प्रथम भएका छन् । उनले निर्धारित दुरी २६ मिनेट २ सेकेण्डमा पार गर्न सफल भएका थिए । त्यस्तै २६ मिनेट ४ सेकेन्डमा दुरी पार गर्दै वराहक्षेत्र-७ का सुर्य तामाङ दोस्रो, २६ मिनेट १९ सेकेण्ड दुरी पार गर्दै वराहक्षेत्र-८ का भरत कविरथ तेस्रो भएका छन्।

प्रथम भएका कालुमानले नगद १० हजार, दोस्रो भएका सुर्यले नगद ७ हजार, तेस्रो भएका भरतले नगद ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
त्यस्तै महिला तर्फ निर्धारित ५ किलोमिटरको दुरी २२.२५ मिनेटमा पार गर्दै वडा नं ७ कि रिना खङ्ग प्रथम हुन सफल भएकी छिन् । निर्धारित दुरी २२ मिनेट ३४ सेकेण्डमा पार गर्दै वडा नं ८ कि लक्ष्मी राई दोस्रो र निर्धारित दुरी २३ मिनेट ९ सेकेण्डमा पार गर्दै वडा नं १० कि युनिसा कटुवाल तेस्रो हुन सफल भएकी थिइन् ।
प्रथम भएकी रिना, दोस्रो भएकी लक्ष्मी र तेस्रो भएकी युनिसाले क्रमशः नगद ८ हजार, ६ हजार र ४ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।
विजयी भएका खेलाडीहरूलाई नगर प्रमुख रमेश कार्की, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू लगायतले पुरस्कार वितरण गरेका थिए ।
साबिकका ५ वटा गाउँ विकास समितिहरू मिलेर २०७३ साल फाल्गुन २७ गते हालको वराहक्षेत्र तत्कालीन वराह नगरपालिका घोषणा भएको दिनको अवसरमा स्थापना दिवस मनाउने निर्णय अनुसार तिन दिवससिय कार्यक्रम अन्तर्गत रोड रेस (दौड) प्रतियोगिता आयोजना भएको हो । यस अगाडि नगरपालिकाले स्थापना दिवसको अवसरमा रक्तदान, वक्तृत्वकला प्रतियोगिता, सरसफाइ, दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको थियो ।
पुरुषतर्फ वडा नं ९ र १० को प्रकाशपुर जुगे चौकबाट सयपत्री, शुक्रवारे हुँदै वडा नं ११ को मधुवन बजारसम्मको दुरी निर्धारण र महिलातर्फ वडा नं ९ शुक्रवारे देखी वडा नं ११ मधुवनसम्मको दुरी निर्धारण गरिएको थियो ।