इटहरी : जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लाई नै समस्या हुनेगरि सहकारीले ऋण बुझाएका छैनन् । सुनसरी जिल्लाको सङ्घलाई सहकारीले लिएको ऋण बापतको रकम नबुझाएपछि समस्या चुलिएको हो ।
रकम असुल नभएपछि सङ्घले धितोमा राखेर ऋण लिएका सहकारीका सञ्चालक र सदस्यको नाममा रहेको सम्पत्ति लिलामी प्रक्रिया सुरु गरेको छ । आइतबार धितो लिलाम गर्ने बारेको ३५ दिने सूचना प्रकाशित गर्दै सहकारीले सुनसरीका ७ वटा सहकारीले राखेको धितोको विवरण उल्लेख गरेको हो । सङ्कटग्रस्त सहकारीको सूचीमा रहेका अधिकांश सहकारीले यस अघि नै कार्यालय बन्द गरिसकेका छन् ।
खराब ऋणीको रूपमा इटहरीको सानिमा र अङ्कुर साकोस देखि धरानको नमोः र झरना समेत छन् । इटहरी-९ मा रहेको सानीमा बचत तथा ऋण सहकारी संस्थाको नाममा रहेको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को कित्ता नम्बर ४७८७ को ६ धुर जग्गा लिलामी प्रक्रियामा समावेश भएको छ । १७ लाख ७९ हजार ऋण लिएको सानिमाले ब्याज ३ लाख ७४ हजार र हर्जना ७८ हजार गरी २३ लाख ८८ हजार बुझाउनुपर्ने देखिन्छ ।
इटहरी-१२ मा रहेको गीताञ्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले समेत ऋण भुक्तानी गरेको छैन । मोरङ उर्लाबारी ७ का खड्ग बहादुर आले (मगर)को नाममा रहेको उर्लाबारी ५ को कित्ता नम्बर १८६४ को १० धुर जग्गा लिलामीको लागि सूचना प्रकाशित गरिएको हो । २०७८ चैतमा ६ लाख ५० हजार ऋण लिएको गीताञ्जलीले २ लाख ३५ हजार ब्याज र ६७ हजार हर्जना गरी ९ लाख ३५ हजार बुझाउनुपर्ने भएको छ ।
इटहरीको अङ्कुर बचत तथा ऋण सहकारीले समेत ऋण भुक्तानी नगरेर खराब ऋणीको रूपमा दर्ज भएको छ । लामो समय देखि बन्द अवस्थामा रहेको सहकारीले सङ्घको ऋण नबुझाएपछि सन्दीप पौडेलको नाममा रहेको इटहरी १७ को कित्ता नम्बर १२०३ को १० धुर जग्गा विक्रीको लागि सङ्घले सूचना प्रकाशित गरेको हो । अंकुरले दुई पटक गरेर ऋण लिएको देखिन्छ । २०७८ असोज १३ गते लिएको २० लाख ऋण हाल ४ लाख ४९ हजार ब्याज र १ लाख ७ हजार हर्जना सहित २७ लाख ४ हजार पुगेको छ । त्यस्तै २०७८ भदौ ३ गते लिएको ६ लाख १९ हजार ऋणको ब्याज मात्र १ लाख ३० हजार र हर्जना ३२ हजार गरी दोस्रो ऋणको ७ लाख ६२ हजार बुझाउनुपर्ने भएको छ । यसरी हेर्दा अंकुरले सङ्घलाई ३४ लाख ६७ हजार बढी रकम तिर्नुपर्ने हुन्छ । ऋण बापतको रकम नबुझाएपछि सङ्घले धितोमा राखेको पौडेलको जग्गा लिलामी प्रक्रिया सुरु गरेको हो ।
धरानको नमोः बचत तथा ऋण सहकारीले समेत ऋण भुक्तानी गरेको छैन । संस्थाका सञ्चालक सदस्य शिवराज श्रेष्ठले विभिन्न समयमा गरी ५० लाख ऋण लिएका छन् । १९ लाख ब्याज र ५ लाख बढी हर्जना गरी ७४ लाख बढी रकम तिर्नुपर्ने नमोः सहकारीले रकम नबुझाएपछि सङ्घले लिलामी प्रक्रिया सुरु गरेको हो । श्रेष्ठको नाममा रहेको धरान ८ को कित्ता नम्बर २२३६ र २२३८ को क्रमशः १४.७५ धुर र १.७५ धुर जग्गाको विक्री प्रक्रिया सुरु भएको छ । श्रेष्ठ गत असारमा भएको सुनसरी उद्योग वाणिज्य सङ्घको निर्वाचनमा अध्यक्षका उम्मेदवार थियो ।
झरना बचत तथा ऋण सहकारी संस्था धरानले समेत ऋण तिर्न सकेको छैन । बन्द अवस्थामा पुगेको सहकारीले येम बहादुर आले मगरको नाममा रहेको इटहरी २ को कित्ता नम्बर १७५५ को १० धुर जग्गा लिलामीमा राखिएको हो । सोही जग्गामा रहेको मगरको पक्की घर समेत लिलामी हुने भएको छ । इटहरी ३ को कित्ता नम्बर १२१४ को १२ धुर जग्गा समेत डाक बढाबढको आधारमा सङ्घले विक्री गर्ने भएको छ ।
झरनाले २०७९ असोज १३ गते लिएको ५० लाख ऋणको एक किस्ता पनि बुझाएको छैन । १५ लाख १३ हजार ब्याज र ४ लाख ६० हजार हर्जना सहित ६९ लाख ७३ हजार बढी रकम भुक्तानी गर्नुपर्ने देखिन्छ ।
इनरुवा बचत तथा ऋण सहकारी समेत ऋण रकम नबुझाएपछि मनमाया माझीको धितो बापतको जग्गालाई लिलामीमा निकालिएको हो । वराहक्षेत्र ७ मा रहेको माझीको कित्ता नम्बर ७४३ को एक कट्ठा ९ धुर जग्गा लिलामीमा निकालिएको छ । २०७९ मङ्सिर ११ गते लिएको १४ लाख २५ हजारको ब्याज र हर्जना सहित १९ लाख ८४ हजार पुगेको छ ।
सुनसरीको गढी २ को धर्मदेव बचत तथा ऋण सहकारी संस्थाले धितोमा राखेको विष्णुकान्त चौधरीको जग्गा लिलामी प्रक्रिया सुरु भएको छ । चौधरीको दुहबी ९ मा रहेको कित्ता नम्बर ९२५ को ३ बिगाहा जग्गा लिलामी गर्न लागिएको छ । धर्मदेवले ६ लाख २६ हजार ऋणको ६ लाख ६२ हजार तिर्नुपर्ने देखिन्छ ।
सङ्घले प्रकाशित गरेको सूचना अनुसार सहकारी ऐन २०७४ को दफा ६९ र सहकारी नियमावली २०७५ को नियम ३० (घ) अनुसार डाक बढाबढमा लिलाम विक्री गर्न लागिएकाले खरिद गर्न लागिएको हो । डाक बढाबढका केही सदस्यले आवेदन नदिए वा उपस्थित नभएमा सङ्घको नाममा हुने ब्यहोरा जानकारी गराइएको छ ।
संरक्षणमा रहेको धितो विक्री गर्दा सङ्घले लिनुपर्ने सम्पूर्ण सम्पत्ति असुल नभएमा सदस्य तथा संस्थाका सञ्चालकको चलअचल सम्पत्तिबाट असुलउपर गर्ने उल्लेख गरिएको छ । सहकारी ऐन २०७४ को दफा ८० बमोजिम कालोसूचीमा नाम समावेश गर्ने जनाइएको छ ।
ऋणी सदस्यले रकम चुक्ता गर्न आएमा जुनसुकै समयमा धितो लिलामको प्रक्रिया स्थगित हुने सर्त राखिएको छ । डाक बढाबढमा सहभागी संस्था वा व्यक्तिले कबोल गरेको रकमको १० प्रतिशत जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडको खातामा जम्मा गर्नुपर्ने भएको छ।



































































