इटहरी : अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलनका प्रतिवादीहरूलाई सुनसरी जिल्ला अदालतले तोकेको धरौटी रकम बढाएर उच्चले फैसला गरेको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य विष्णु कुमारी लिम्बु (अमृता सुब्बा) सहित १३ जनालाई धरौटी रकम बढाएर लिने गरी फैसला गरेको हो ।
सुब्बाले २१ लाख ५५ हजार अपचलन गरेकी सुब्बालाई जिल्लाको ५ लाखमा थप हुनेगरि उच्चले ५ लाख धरौटी माग गरेको छ । 
बचत रकम अपचलनमा जोडिएका प्रतिवादीहरू उपरको सुनसरी जिल्ला अदालतको थुनछेक आदेशलाई उच्चले धरौटी थप गरेको हो ।
तत्कालीन अध्यक्ष फडिन्द्र बहादुर पुर्वछाने (मगर)ले जिल्लाको फैसला विरुद्ध उच्चमा रिट दायर गरेका थिए ।
सोही रिट निवेदन उपर मङ्सिर ६ गते बिहीबार फैसला सुनाएको उच्च अदालतले मगरलाई पुर्पक्षको लागि थुनामै राख्ने आदेशलाई सदर गरिदिएको छ । 
लेखा सुपरिवेक्षण समिति संयोजक राहुल अग्रवाल, सदस्य कुमार आले र शिला विश्वकर्मालाई धरौटी रकम थप गरिदिएको छ । यसअघि अग्रवाललाई तोकिएको १० लाखमा थप २० लाख बुझाउनुपर्ने भएको छ ।
आले र विश्वकर्माले यसअघि ५ लाख बुझाएको र पुनः थप ५ लाख बुझाएर पुर्पक्ष गर्न अदालतले आदेश दिएको हो । 
मीन कुमार मगरलाई २० लाखमा थप १५ लाख र शुद्ध तारेखमा रिहा भएका पशुपति श्रेष्ठलाई १० लाख धरौटी माग भएको छ ।
५ लाख धरौटी आदेश भएका राजकुमार तामाङले थप १० लाख गरी १५ लाख बुझाउनु पर्ने भएको छ । भुवन कुमार तामाङको १५ लाखमा थप ५ लाख र टेक बहादुर चर्मकारको ३ लाखमा थप १२ लाख गरी जम्मा १५ लाख धरौटी पुगेको छ । 
आशिका राईलाई र सुजन चौधरीले २ लाखमा थप ५ लाख गरी ७/७ लाख पुगेको छ । सागर राईको १५ लाखमा पुनः १५ लाख थप भएको छ भने भूमि प्रसाद आचार्यको १ लाखमा ३ लाख थप, चन्द्रकुमार गेलाललाई १ लाख ५० हजारमा ८ लाख धरौटी रकम थपिएको हो । 
अन्य प्रतिवादीहरू कृष्ण बहादुर कटुवाल, शम्भु दाहाल, तारामान लिम्बु, विमला चौधरी, खड्ग कोइराला र तारा राईलाई तोकेको धरौटी यथावत् राख्ने आदेश भएको छ ।
इटहरीमा केन्द्रीय कार्यालय रहेको सहकारीले विराट चोक, विराटनगर र दमकका नागरिकको बचत अपचलन गरेको हो।ambe1
ambe-2