बराहक्षेत्र :  बराहक्षेत्र नगरपालिकाको आयोजनामा माध्यमिक विद्यालय (कक्षा ९–१०) स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ। आइतबार नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले चतराधामस्थित श्री राधाकृष्ण संस्कृत वेद विद्याश्रम गुरुकुलम माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता आयोजना गरेको हो।

नगरभित्रका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा कोशी माध्यमिक विद्यालय, बाग्झोडाका छात्र आयुष बोगटी प्रथम हुन सफल भएका छन्।

त्यसैगरी, सरस्वती माध्यमिक विद्यालय, राजावासकी छात्रा प्रनिसा आचार्य द्वितीय, श्री राधाकृष्ण संस्कृत वेद विद्याश्रम गुरुकुलम माध्यमिक विद्यालयका छात्र कृष्ण उपाध्याय तृतीय तथा पिल्पुस इङ्लिस स्कुल, भरौलका छात्र शिशिर पौडेल सान्त्वना हुन सफल भएका छन्।

प्रतियोगितामा प्रथम हुने आयुषले नगद ४ हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गरे। द्वितीय भएकी प्रनिसाले नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल, तृतीय भएका कृष्णले नगद २ हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल तथा सान्त्वना स्थान हासिल गरेका शिशिरले नगद १ हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्।

बराहक्षेत्र नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उत्तमराज भारतीका अनुसार विद्यार्थीहरूमा साहित्य सिर्जना, अभिव्यक्ति क्षमता र रचनात्मक प्रतिभाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार कृष्ण विनोद लम्साल रहेका थिए। उत्तमराज भारतीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर शिक्षा समितिका सदस्य ज्ञानबहादुर पाण्डे, आदर्श माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक प्रह्लाद भट्टराई, श्री राधाकृष्ण संस्कृत वेद विद्याश्रम गुरुकुलम माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज पौडेल, प्रधानाध्यापक जमुना दाहाललगायतले विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए।