धरान : उज्यालो, उमङ्ग, आस्था र पारिवारिक आत्मीयताको पर्व तिहार आजदेखि सुरु भएको छ । नेपाली समाजमा दसैँपछिको दोस्रो ठुलो चाडका रूपमा मनाइने तिहारको पहिलो दिन आज धनतेरस मनाइँदै छ । धन, वैभव, आरोग्य र समृद्धिको कामनासहित मनाइने धनतेरसले पाँच दिनसम्म चल्ने यमपञ्चकको उल्लासपूर्ण वातावरणलाई औपचारिक रूपमा सुरुवात गरेको छ ।
तिहार केवल दीपावली र पूजाआजाको पर्व मात्र होइन, यो प्रकृति, जीवजन्तु, धन सम्पत्ति, स्वास्थ्य, पारिवारिक सम्बन्ध र मानवीय संवेदनालाई सम्मान गर्ने नेपाली संस्कृतिको अनुपम उत्सव पनि हो । घर आँगनमा दीप प्रज्वलन, फूलमाला, रंगोली, देउसी भैलो र दाजुभाइ दिदीबहिनीबिचको आत्मीयताले तिहारलाई अन्य पर्वभन्दा विशिष्ट बनाएको छ ।
आज धनतेरस
कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिमा मनाइने धनतेरसलाई हिन्दु धर्मावलम्बीले धन र समृद्धिको विशेष पर्वका रूपमा लिने गर्छन् । 'धन' र 'तेरस' अर्थात् त्रयोदशी शब्दबाट बनेको धनतेरसमा नयाँ सुनचाँदी, गरगहना, धातुका भाँडाकुँडा तथा अन्य मूल्यवान् वस्तु खरिद गरी घरमा भित्र्याउने परम्परा छ ।
धार्मिक विश्वासअनुसार यस दिन खरिद गरिएका वस्तुले घरमा सुख, शान्ति र समृद्धि ल्याउने मान्यता छ । सुन, चाँदी, तामा, पित्तलका सामग्रीसँगै कौडी, कमल गट्टा, बेसार, कुचो, बिमिरो, धनियाँको दाना, श्रीयन्त्र, स्वस्तिक र रातो कपडालगायत सामग्रीलाई पनि लक्ष्मीको प्रतीकका रूपमा शुभ मानिन्छ ।
यस दिन घरको सरसफाइ गरी लक्ष्मीपूजाको तयारी गरिन्छ । घरको मूलढोका र आँगन सजाउने, दीप प्रज्वलन गर्ने तथा साँझ यमराजका नाममा दीपदान गर्ने चलन छ । परिवारका सदस्यको दीर्घायु, सुरक्षा र सुखमय जीवनको कामना गर्दै गरिने यमदीपदानलाई धनतेरसको महत्त्वपूर्ण धार्मिक परम्परा मानिन्छ ।
धनतेरसको धार्मिक महत्त्व धनसम्पत्तिमा मात्र सीमित छैन । पौराणिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा भगवान् धन्वन्तरी अमृत कलशसहित प्रकट भएको दिन कात्तिक कृष्ण त्रयोदशी हो । त्यसैले यस दिनलाई धन्वन्तरी जयन्तीका रूपमा पनि मनाइन्छ ।
भगवान् धन्वन्तरीलाई आयुर्वेदका प्रवर्तक तथा स्वास्थ्य र आरोग्यका देवताका रूपमा पूजा गरिन्छ । धनसम्पत्तिसँगै निरोगी शरीर र दीर्घायु पनि जीवनको वास्तविक सम्पत्ति हो भन्ने सन्देश यस पर्वले दिन्छ ।
तिहारलाई यमपञ्चक पनि भनिन्छ । यस अवधिमा मृत्युका देवता यमराजसँग सम्बन्धित विभिन्न धार्मिक अनुष्ठान गरिन्छन् । परिवारका सदस्यको नाममा साँझ दक्षिणतर्फ फर्केर दीपदान गर्ने परम्पराले परिवारको सुरक्षाप्रतिको कामनालाई प्रतिबिम्बित गर्छ ।
त्रयोदशीकै दिन मनाइने कागपूजा र धन्वन्तरी जयन्ती भोलि शनिबार परेको छ । आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र सोही दिन साँझ लक्ष्मीपूजा गरिनेछ । कात्तिक २५ गते भाइटीका मनाइनेछ ।
तिहारको अर्को विशिष्ट पक्ष भनेको प्रकृति र जीवजन्तुप्रतिको सम्मान हो । काग, कुकुर, गाई र गोरुको पूजा गर्नुका पछाडि धार्मिक विश्वाससँगै मानव जीवन र प्रकृतिबीचको अन्तरसम्बन्धको सन्देश पनि जोडिएको छ ।
कागलाई सन्देशवाहक, कुकुरलाई रक्षक, गाईलाई लक्ष्मीको प्रतीक र गोरुलाई कृषि जीवनको सहयात्रीका रूपमा सम्मान गरिन्छ । यसले मानिसको जीवनमा पशुपक्षी र प्रकृतिको योगदानलाई स्मरण गराउँछ ।
लक्ष्मीपूजाका दिन घरआँगन सफा गरी दीपावली गर्ने, झिलिमिली बत्ती बाल्ने र फूलमालाले सजाउने परम्परा छ । घरको मूलढोकादेखि पूजाकोठासम्म लक्ष्मीको पाइला बनाउँदै समृद्धिको स्वागत गरिन्छ । साँझ देवी लक्ष्मीको पूजा गरी धनधान्य, सुख, शान्ति र पारिवारिक कल्याणको कामना गरिन्छ ।
तिहारको सांस्कृतिक रौनक देउसी भैलो बिना अधुरो हुन्छ । गाउँसहरका टोलटोलमा गुञ्जिने देउसीभैलोका भाका, मादलका ताल र सामूहिक उत्सवले सामाजिक एकता र सद्भावलाई बलियो बनाउँछन् ।
तिहारको अन्तिम तथा सबैभन्दा आत्मीय पक्ष भाइटीका हो । दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने र माला पहिर्याउने परम्परा छ । दाजुभाइले पनि दिदीबहिनीप्रति प्रेम, सम्मान र संरक्षणको प्रतिबद्धता व्यक्त गर्छन् ।
भाइटीका केवल टीका र उपहार आदानप्रदान गर्ने दिन होइन, पारिवारिक सम्बन्ध, माया, विश्वास र आत्मीयताको नवीकरण गर्ने अवसर पनि हो ।









































































