धरान : पर्यटकीय सांस्कृतिक स्थल धरान २० माथिल्लो सुलीकोट शिखर स्थित मुन्धुम यकमा तोडफोड गरी दान पेटिकाको नगद रकम समेत चोरी भएको निर्माण समितिले बताएको छ ।
समितिका अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङका अनुसार मङ्गलवार अवलोकनका लागि विदेशबाट आएका दाता सहित शिखरमा पुग्दा त्यहाँ ‘नाहेन मुन्धुम’ गरी स्थापना गरिएका लुङ ढुङ्गाहरू भत्काएको पाइएको हो । उनका अनुसार तोडफोड गर्नेहरूले त्यहाँ सिलाम साक्माको खम्बामा राखिएको दान पेटिकाको ताला फुटाएर नगद रुपैयाँ पनि लगेका छन् ।
मुन्धुम यकमा पदमार्गका पूर्वाधार बनेपछि अवलोकन गर्न आउनेहरूले त्यहाँ स्थापना गरिएका लुङहरुमा नगद रुपैयाँ चढाउने गरेको पाइएपछि दान पेटिका राख्न थालिएको अध्यक्ष मोहनकुमारले बताए । उनका अनुसार पहिलो पटक भुईँमा चढाइएको पैसा सङ्कलन गर्दा ३ हजार ५०० सय रुपैयाँ सङ्कलन भएको थियो ।
दान पेटिका राखेको ४/५ महिना भएको थियो, खोलिएको थिएन । उनले भने ‘हिजो माथि पुग्दा तोडफोड गरिएको, दान पेटीकाको ताला तोडेर २५० रुपैयाँ चैँ छोडेर सबै पैसा चोरेर लगेका छन् ।’ यसअघि सङ्कलित रकम संरक्षणको लागि आवश्यक खर्च गर्न टिएलओलाई प्रदान गरिएको थियो ।
पदमार्गको गन्तव्य बन्दै गएको पर्यटकीय सांस्कृतिक स्थलमा भएको तोडफोड र लुटपाटको घटना स्थानिय समुदायका लागि पनि असुरक्षाको विषय भएकोले घट्नामा संलग्नहरूको खोजी गरी कारबाही गर्न निर्माण समितिले माग गरेको छ ।
समितिले प्रेस विज्ञप्ति जारी गर्दै ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक आस्थासँग जोडिएको मुन्धुम यकको पवित्र थानमा तोडफोड गरिएको, दानपेटिका समेत क्षतिग्रस्त बनाई रकम चोरी गरिएको निन्दनीय घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
धार्मिक तथा सांस्कृतिक सम्पदामाथि गरिएको अराजक र आपराधिक कार्य केवल भौतिक संरचनामाथिको आक्रमण मात्र होइन, यो हाम्रो पुर्खाको इतिहास, मौलिक संस्कृति, सभ्यता, सामूहिक आस्था र पहिचानमाथि गरिएको गम्भीर प्रहार भएको समितिको भनाई छ ।
आस्थाको धरोहर र भावी पुस्तालाई हस्तान्तरण गर्नु पर्ने सम्पदाको संरक्षण गर्नु हामी सबैको साझा दायित्व र नैतिक जिम्मेवारी हो । श्रद्धा र सम्मानको ठाउँमा तोडफोड र चोरीजस्ता घृणित गतिविधि हुनु अत्यन्तै लज्जास्पद घटनाप्रति घोर भर्त्सना तथा कडा निन्दा गरिएको छ ।
समितिले स्थानीय प्रशासनसमक्ष घटनाको निष्पक्ष र गम्भीर छानबिन गरी दोषीलाई यथाशीघ्र पहिचान गरेर कानुन बमोजिम कडा कारबाही गर्न र क्षतिग्रस्त धार्मिक तथा सांस्कृतिक सम्पदाको पुनर्स्थापना एवं संरक्षणका लागि आवश्यक पहल गर्न आग्रह गरेको छ ।