धरान : राष्ट्रिय स्वतन्त्र पार्टीले देश बनाउने जगको रूपमा रहेको स्थानिय तहको निर्वाचनमा स्पष्ट भिजन भएको सक्षम र योग्य व्यक्तिलाई मात्र उम्मेदवार बनाउने उक्त पार्टीका प्रतिनिधि सभा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले बताएका छन् ।
उनले भने ‘रास्वपा गठन भएको बेला जस्तो घण्टी बजाएको भरमा चुनावको टिकट बाँडिँदैन ।’ धरान १२ मा आइतबार आयोजित तिहार, छठ लगायत पर्वको शुभकामना कार्यक्रममा उनले स्थानिय चुनावको उम्मेदवार चयन गर्न पार्टीले ‘क्याण्डिडेट क्लब’ प्रक्रिया अपनाएको बताए।
संसदीय सचेतक परियारका अनुसार उम्मेदवार बन्न इच्छुकहरूले क्याण्डिडेट क्लबमा आफू प्रत्याशी बन्ने नगर, उपमहानगरको कायापलट गर्ने अवधारण, रोडम्याप, योजना स्पष्ट रूपमा पेस गर्नु पर्नेछ । पार्टीले उसको अवधारणा, योजनमा छलफल गर्नेछ । उनले भने ‘आफ्नो योजनाको ब्लुप्रिन्टनै पार्टीको साइटमा राख्नु पर्नेछ ।’
उनले पुरानो पार्टीहरूले चुनावमा उम्मेदवारी दिने गरेको पद्धतिको कारण अहिले देशभर पार्टीप्रति जनताको मोह भङ्ग भएको बताए । व्यक्ति भएर मात्र भएन जनताले विश्वास गर्ने विकासको अवधारणा र ठोस योजनासँगै अबका चुनावमा जनताको घर दैलो जानुपर्ने उनको भनाई थियो ।
प्रधानमन्त्री बालेनको भ्रष्टाचार निर्मूल गर्ने अभियान निर्णायक रूपमा अघि बढिरहेको बताउँदै उनले भने ‘कर्मचारी लगायतको टूेड युनियन खारेज गरिएपछि अहिले कर्मचारीहरूमा भयत्रास र दबाबमा काम गर्नु पर्ने अवस्था समाप्त भएको छ ।’ प्रशासनिक क्षेत्र र प्रहरी अहिले स्वतन्त्र रूपमा काम गरिरहेको उनले बताए ।
तथापि पार्टीका केही अगुवाहरूका कारण पार्टीप्रति प्रश्न गर्ने स्थिति उत्पन्न हुने गरेको बताउँदै संसदीय सचेतक परियारले पार्टीले पाएको करिब दुई तिहाइको बहुमत छ, भनेर यसको दम्भमा जे सुकै बोल्ने नेताले यो दुई तिहाइको बहुमत स्थायी होइन भन्ने पनि बुझुन् पर्ने खबरदारी गरे ।
कार्यक्रममा धरान १२ मा बसोबास गरी विभिन्न क्षेत्रमा लामो सेवा र योगदान गरेका व्यक्तिहरू एवं पूर्व वडा अध्यक्षहरूलाई सम्मानित गरियो । सम्मानित पूर्व वडाध्यक्षहरूमा किशोर सुब्बा, किशोर राई, सुनिलचन्द्र श्रेष्ठ, राजकुमार थापा, मदन कर्माचार्य, मोहन श्रेष्ठ र वर्तमान वडाध्यक्ष टङ्कबहादुर राई छन् ।
सोही अवसरमा वीपी प्रतिष्ठानका निवर्तमान उपकुलपति प्राडा. विक्रमप्रसाद श्रेष्ठ, शिक्षासेवी राजविमल श्रेष्ठ, होमियोपैथि विशेषज्ञ दिनेश आचार्य, आर्थिक विश्लेषक कृष्णकुमार अग्रवाल, प्राध्यापक हरिबहादुर विष्ट, उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठ, चित्रकार प्रनोद दत्त, विष्णु तामाङलाई सम्मानित गरियो ।
यसैगरी दृष्टिविहीनको शिक्षा सेवी विद्या शाक्य, समाजसेवी  हरिकृष्ण श्रेष्ठ, मेहरमान हयुजलाई प्रमुख अतिथि सचेतक परियारले सम्मान पत्र तथा खादा लगाएर सम्मानित गरेका थिए ।
कार्यक्रममा सम्मानितबाट हरिबहादुर विष्टा र मदन कर्माचार्यले मन्तव्य प्रकट गरे । रास्वपा नेताहरू राजेशमान श्रेष्ठ, सुमन श्रेष्ठ, सन्दीप शाक्यले पार्टीको शुभकामना आदान प्रदान कार्यक्रमको औचित्यका बारेमा प्रकाश पारेका थिए । पार्टीका प्रदेश समिति सदस्य कृष्ण प्रसाईँ उपस्थित थिए ।
कार्यवाहक नगर सभापति सुभद्रा श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम क्षेत्रीय सचिव विमल शाक्यले सञ्चालन गरेका थिए । कार्यक्रम संयोजक सन्दीप शाक्य थिए ।
RSP news 2