धरान : नेपाली काँग्रेस कोशी प्रदेश समितिका महामन्त्री उमेश थापाले आज शुक्रवार औपचारिक रूपमा पार्टीको प्रदेश महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
काँग्रेस सुनसरी १ को क्षेत्रीय समिति, प्रदेश सभा समितिको शपथ ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रममा उनले अहिले सम्म मेरा शुभेच्छुक साथीहरूले सामाजिक सञ्जालमा आफूलाई सभापतिको उम्मेदवारको रूपमा प्रचार गर्दै आएको बताउँदै भने ‘आज यस सभाबाट म औपचारिक रूपमा काँग्रेसको कोशी प्रदेश सभापतिमा उम्मेदवार भएको घोषणा गर्दछु।’
महामन्त्री थापाले सभापति पदमा उम्मेदवारीको तयारी गर्दै आएकोमा औपचारिक कार्यक्रम मार्फत घोषणा गर्ने अवसर पार्टीको शपथ ग्रहण समारोह उपयुक्त भएकोले ‘यसै सभाबाट सभापतिको उम्मेदवर भएको घोषणा गर्दछु’ भनी बताएका हुन ।
उनले सभापति पदको उम्मेदवारको तयारीको क्रममा वर्तमान सभापति पूर्व मुख्यमन्त्री उद्धव थापासँग पनि छलफल गरेको बताए । उनले भने ‘उहाँसँग सभापतिमा मेरो उम्मेदवारीको बारेमा कुराकानी गर्दा उहाँले आफू उम्मेदवार नबन्ने बताउनु भएको छ ।’
महामन्त्री थापाले आफू सभापतिको उम्मेदवारीको तयारीमा रहे पनि सहमतीय पद्धतिको सम्भावनाबारे पार्टी सभापति गगन थापा तथा नेताहरूसँग छलफल बाँकी रहेको बताए । पन्ध्रौँ महाधिवेशनको सफलताले काँग्रेसलाई प्रदान गरेको गतिशितला र उत्साहलाई अघि बढाउन सक्षम नेतृत्वको लागि आफ्नो उम्मेदवारी भएको उनको भनाई थियो ।
कार्यक्रममा सुनसरी १ काँग्रेस क्षेत्रीय सभापति तिलक राईले महामन्त्री थापाको सभापतिको उम्मेदवारी घोषणालाई युवा नेतृत्वमा आएको नयाँ उत्साह बताए । उनले सुनसरी १ बाट महामन्त्रीको सफल नेतृत्व सम्हालेका थापाले साथ दिने कुरामा सुनसरी १ का आधिकारिक प्रतिनिधिहरू एक ढिक्का हुनुपर्नेमा जोड दिए । सभापति राईले भने ‘यस विषयमा हामी द्विविधामा रहनु हुँदैन ।’ कार्यक्रममा नेपाली काँग्रेस सुनसरी १ मा असोज ११ र १२ गते भएको महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि, संसदीय क्षेत्रीय समिति एवं प्रदेश क्षेत्रीय समिति 'क र ख'का अध्यक्ष सहित कार्यसमितिका निर्वाचित पदाधिकारी सदस्यहरूलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरिएको थियो।
सोही अवसरमा उनीहरूले नेपाली कांंग्रेसको प्रतिज्ञा पत्र सामूहिक वाचन गरी शपथ ग्रहण गरे ।
निर्वाचन अधिकृत अभिवक्ता अनिता राईका सभापतित्वमा भएको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा शपथ ग्रहण सञ्चालन निर्वाचन अधिकृत विष्णु बराल र निर्वाचन अधिकृत हर्ष सुब्बाले प्रमाणपत्र वितरण, धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा प्रदेश 'क' सभापति सन्तोष लिम्बु, प्रदेश 'ख' पूर्व सभापति मुरारी भट्टराईले सुनसरी १ को काँग्रेस अधिवेशन उदाहरणीय भएको बताए । कार्यक्रममा कोशी प्रदेश सभा सदस्य ममता तामाङको पनि उपस्थिति थियो । उनी सुनसरी १ प्रदेश ख बाट निर्वाचित महाधिवेशन प्रतिनिधि हुन ।