इटहरी : इटहरीको विश्व आदर्श स्कुलमा कक्षा ९ मा पढ्छिन् सविज्ञा दाहाल । पढाइमा पनि राम्रो नतिजा ल्याइरहेकी उनी राष्ट्रिय स्तरकी ब्याडमिन्टन खेलाडी हुन् । उनले दुई वर्षको अवधिमा विभिन्न जिल्लाको प्रतियोगितामा सहभागी भएर ७ वटा गोल्ड मेडल जितिसकेकी छिन् । त्यसबाहेक रजत र कास्य पदकको हिसाब समेत गरेकी छैनन् ।
सविज्ञा साँझको समय इटहरी रङ्गशालामा रहेको ब्याडमिन्टन हलमा भेटिन्छिन् । हाल प्रशिक्षणमा रहेकी उनी स्फूर्तिका साथ खेलिरहेकी छिन् । उमेरले भर्खर १४ वर्ष वर्ष पुगेकी उनको हाउभाउ निक्कै निखारिएको छ । ब्याडमिन्टनमा सपना बुनेकी उनी सङ्गीतकी साधक समेत हुन् । बिहान ६ बजेदेखि डेढ घण्टा सङ्गीत कक्षामा व्यस्त रहन्छिन् । त्यसपछि उनको दैनिकीले विद्यालय पुर्‍याउँछ ।
स्कुलबाट घर पुगे लगत्तै ब्याडमिन्टन हल पुग्छिन् सविज्ञा । सविज्ञाको सारथि छन् उनका बा विप्लव दाहाल । सारथि भन्दा पनि सपनाको बाटोमा पुर्याउने नै उनकै बा हुन् । विगतमा विप्लवले शारीरिक व्यायामको लागि ब्याडमिन्टन खेल्न जाँदा छोरीलाई सँगै लिएर गए । सोही क्रममा सविज्ञाको लागि ब्याडमिन्टनको मोह जाग्यो । त्यही मोहले उनलाई नयाँ सपनाको बाटो देखाएको हो । 
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको सहभागिता बढ्दै गएको छ । सहभागिता मात्र होइन गोल्ड मेडलका उपाधि भरिँदै गएकी छिन् उनी । काठमाडौँ, पोखरा देखि दार्जिलिङ सम्मका प्रतियोगितामा प्रभावशाली उपस्थिति देखाउँदै आएकी छिन् । 
सर्वप्रथम २०८२ को सुरुवातमै भोजपुरमा भएको अन्डर १३ मा गोल्ड मेडल जितिन् । लगत्तै काठमाण्डौमा भएको अन्डर १३ प्रथम टोखा मेयर कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितिन् । सोही वर्ष इटहरीमा भएका तेस्रो सगरमाथा खुल्ला राष्ट्रिय प्रतियोगिता र दमकको नमुना राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि हात पारिन् । एकैबर्ष ४ वटा गोल्ड मेडल जितेपछि उनको हौसला झनै बढेर गयो । 
२०८३ मा पोखरामा एउटा र फिदिममा अन्डर १३ र अन्डर १५ का दुई वटा प्रतियोगिताको विजेता बनिन् । खेल्न सुरु गरेपछि राम्ररी नै खेल्ने बताएकी उनले भोजपुरको उपाधिले धेरै उत्साहित बनाएको सुनाइन् । नियमित ट्रेनिङमा रहने सविज्ञा भन्छिन् ,‘अहिले ट्रेनिङमा प्रेसर नहुने भएकाले रमाइलो हुन्छ तर प्रतियोगितामा प्रेसर हुन्छ। जति प्रेसर भएपनि एकदमै मेहनत गर्नुपर्छ । मेहनतको फल मिठो हुन्छ नि ।’
फलस्वरूप पछिल्लो समय काठमाण्डौमा भएको महिला खुल्ला प्रतियोगितामा उनी तेस्रो बनिन् । राष्ट्रिय स्तरमा आफ्नो लेबलमा बारम्बार विजेता बनेकी उनको अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना छ । छोरीको यही सपनालाई पछ्याइरहेका छन् विप्लव ।  
ब्याडमिन्टनको खेल अलि बढी खर्चिलो भए पनि अझैसम्म सविज्ञालाई कुनै दबाब महसुस गराएका छैनन् । विभिन्न खेलप्रेमि सहयोगीहरूले समेत साथ दिएको कारण थप हौसला पाएको बताउँछन् विप्लव । छोरीको लगावमा सम्पूर्ण रूपमा लागिपर्ने उनले बताएका छन् ।
sabigyan dahal babasabigya dahal 2