धरान : सूचना विभागमा दर्ता नभएको, मूलधारसँग मिल्दोजुल्दो मिडियाको नाममा फेसबुक पेज खोलेर भ्रामक कन्टेन्ट प्रचार गर्नेहरूका बारेमा नेपाल प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको अनुगमन अधिकृत एनिका राईले बताएकी छन् ।

पूर्वको मिडिया सरोकारका बारे अनुगमनमा प्रेस काउन्सिलको टोलीसँग आज बिहीबार धरानमा सुनसरी पत्रकार महासङ्घ कार्यालयमा भएको छलफलमा उनले भनिन् ‘प्रेस काउन्सिलले व्यक्तिको फेसबुकमा सरोकार राख्दैन तर मिडिया सम्बद्ध सञ्जालबाट हुने भ्रामक कन्टेन्ट अनुसन्धानको विषय हुन्छ ।’

कुनै अनलाइन मिडियाको नाममा फेसबुक आइडी चलाउने तर त्यस्तो मिडिया सूचना विभागमा दर्ता नहुने मात्र होइन, सञ्चालनै नभएको पाइने विषयमा सहभागीहरूले प्रेस काउन्सिलको ध्यानाकर्षण गराएका थिए ।

वैधानिक रूपमा मिडिया दर्ता र सञ्चालन नभएको तर, फेसबुक पेज सञ्चालन गरेर समाचार लगायतका कन्टेन्टहरू प्रसारण गर्ने फेसबुक पेजको सङ्ख्या पछिल्लो समय बढेको छ । त्यस्ता आइडीबाट प्रसारण भइरहेका फेक न्युज, एआई जनेरेटेड कन्टेन्ट नियन्त्रण गर्न काउन्सिलले प्रभावकारी कदम चाल्न आवश्यक भएको सुझाव सहभागीहरूले दिएका छन् ।

सूचना विभागमा दर्ता भएका अनलाइन न्युज पोर्टलहरू अब प्रेस काउन्सिलले सूचिकृत गराई रहनु नपर्ने अनुगमन अधिकृत एनिकाले बताएकी छन् । यस अघि अनलाइन न्युज पोर्टल दर्ता गरेपछि आधिकारिक रूपमा सञ्चालन गर्न प्रेस काउन्सिलमा सूचीकरण अनिवार्य गरिएको थियो ।

काउन्सिलले गर्दै आएको सूचीकरण गत: वर्ष देखी सरकारको निर्णय अनुसार बन्द गरिएको थियो । दर्ता प्रक्रिया चालु रहेता पनि सूचीकरण नखुल्दा पुराना दर्तावाल अनलाइनहरूको नवीकरण रोकिने अवस्था आउन सक्ने बारे छलफलमा सोधिएको थियो ।

उनले भनिन् ‘अब सूचना विभागमा दर्ता गर्नु नै आधिकारिक हो, दर्ता गरेपछि सूचीकरण गरिरहनु पर्ने प्रक्रिया हटाइएको छ ।’ अधिकृत राईले हालै सरकारले जारी गरेको प्रेस काउन्सिलले ऐन संशोधन सम्बन्धी अध्यादेशले काउन्सिलका कतिपय पद्धति र प्रक्रियामा सुधार गरेको बताइन् ।

सामाजिक सञ्जालमा अल्गोरिदमका रूपमा आउने भ्रामक र आपत्तिजनक कन्टेन्टहरू देशको राजनीति र सामाजिक मर्यादाको लागि घातक बन्दै गएकोमा छलफल बिच चिन्ता प्रकट गरियो । पत्रकारहरूले पत्रकारिता र फेसबुककारिताको परिभाषा स्पष्ट गरी कडा नियमनको कानुन आवश्यक भएकोमा जोड दिए ।

अनुगमन अधिकृत राईको टोलीमा पत्रकार ननुता राई पनि थिइन् । छलफलमा पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, सदस्य रोहित राई, वरिष्ठ पत्रकार हर्ष सुब्बा, देवेन्द्र कार्की, खिलानाथ विश्वकर्मा, गोविन्द बस्नेत, रश्मि प्रधान लगायत सहभागी थिए ।

press council news 2