इटहरी : नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन सम्पन्न भइसक्दा समेत सुनसरीमा क्षेत्रीय अधिवेशन अन्योलमा परेका छन् । सुनसरी क्षेत्र नम्बर २ को अधिवेशनमा मतदान बिचमै स्थगित गरेर क्षेत्रीय समिति विहीन अवस्थामा पुर्‍याइएको हो ।
सुनसरी क्षेत्र नम्बर १ मा बाहेक अन्य तीन वटै क्षेत्रमा विवाद देखिएको छ । क्षेत्र नम्बर १ मा पर्ने धरान र वराहक्षेत्र नगर तथा प्रदेश क्षेत्रीय अधिवेशन समेत प्रक्रिया मार्फत टुङ्गो लागेको हो । बाँकी २, ३ र ४ नम्बर क्षेत्रको विवादले सुनसरी काँग्रेसमा नीति भन्दा नेता र विधि भन्दा हुकुमले शासन गरेको स्थानीय कार्यकर्ताको बुझाइ छ ।
सुनसरी २ मा प्रभावशाली नेताहरू महाधिवेशन प्रतिनिधिमा पराजित हुने देखिएपछि महाधिवेशन प्रतिनिधि र क्षेत्रीय समितिको मतदान स्थगित भएको थियो । कुल ११८३ मत मध्ये ४८३ मत खसेपछि निर्वाचन प्रक्रिया स्थगित गरेर नेताहरूको सहमतिमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनौट गरियो ।
सर्वसम्मत महाधिवेशन प्रतिनिधि भएका सिजन गुरुङले आफ्नो नाम समेटिएको भए पनि आपत्ति जनाए । यसअघि इटहरी उपमहानगर समिति देखि क्षेत्रीय समितिमा समेत सर्वसम्मतको प्रयास गरेका उनले कार्यकर्ताको विरोध भएपछि फरक मत राखेका हुन् ।
छनौट भएका महाधिवेशन प्रतिनिधिबाट राजीव कोइराला केन्द्रीय सदस्य निर्वाचित भए भने राजीव ढुङ्गाना सहमहामन्त्रीको उम्मेदवार बने । नवोदीता चौधरी र सुशीला चौधरी पनि केन्द्रीय सदस्यमा पराजित भए ।
क्षेत्रीय सभापतिका उम्मेदवार मध्ये राजन मेहता महाधिवेशन प्रतिनिधि बनेका छन् भने अर्का उम्मेदवार सुदीप अधिकारीले अस्वीकार गरे । अधिकारीले रोकिएको निर्वाचन प्रक्रिया अविलम्ब सुचारु गर्न जिल्ला समितिलाई लिखित आग्रह गरेका छन् । तर जिल्ला समितिले भने यस विषयमा ठोस निर्णय गर्न सकेको छैन ।
मतदान स्थगित गरेर सहमतिको नेताहरूले सहमति गर्ने भएपछि २(क) प्रदेश क्षेत्रीय सभापति सुवेच्छु देवानले आपत्ति जनाए । एकलौटी ढङ्गबाट महाधिवेशन प्रतिनिधि छनौट गर्ने प्रक्रिया लोकतान्त्रिक विधि र प्रक्रिया विपरीत रहेको उनको भनाइ थियो ।
विवाद सुनसरी २ मा मात्र होइन सुनसरी २ (क) प्रदेश क्षेत्रीय समितिमा समेत छ ।  सभापति सुवेच्छु देवान र सचिवमा रोशन भुजेल सर्वसम्मत भए पनि बाँकी पदाधिकारी तथा प्रदेश महाधिवेशन प्रतिनिधि छनौट हुन सकेका छैनन् । अन्य पदाधिकारी तथा सदस्य समेत अझै अन्योल अवस्थामा राखिएको छ ।
सुनसरी २ (ख) मा समेत निर्वाचनमा धाँधली भएको भन्दै सभापतिका उम्मेदवार चिरञ्जीवी बस्नेतले मतगणना बहिस्कार गरे । मतगणनामा तीन वटा मतपेटिकाको मत गन्दा प्रतिनिधि भन्दा २४ मत बढी आएपछि आफूले धाँधली भएको भन्दै मैदान छाडेको उनले बताए । बस्नेत पक्षका प्रतिनिधिको हस्ताक्षर बिना नै निर्वाचन परिणाम घोषणा भएर श्यामलाल मेहता सभापति घोषित भएका छन् ।
सुनसरी २ मै पर्ने देवानगञ्ज गाउँपालिकाको पालिका अधिवेशन हुन सकेको छैन । देवानगञ्जको अधिवेशन भए सुनसरी २ को महाधिवेशन प्रतिनिधि र क्षेत्रीय समितिको अधिवेशनमा फरक परिणाम आउने बुझेपछि नेताहरूको इसारामा अधिवेशन रोकिएको प्रष्ट छ ।
केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि जिल्ला र प्रदेशको अधिवेशनको मङ्सिर भित्रै गर्नेगरि तयारी भइरहेको छ । देवानजञ्ज गाउँपालिकाको अधिवेशनमा भने निर्वाचन समितिले नेताहरूको आदेश पर्खिरहेको स्थानीय नेताहरू बताउँछन् ।
देवानगञ्ज र सुनसरी २ मात्र होइन सुनसरी ४(क) क्षेत्रीय अधिवेशन समेत अन्योलमा परेको छ । क्षेत्र नम्बर ४ को अधिवेशनमा निर्वाचन भाँडिएपछि सर्वसम्मत समिति र महाधिवेशन प्रतिनिधि छनौट भए । गफार अन्सारीको नेतृत्वमा क्षेत्रीय समिति गठन भयो तर ४(क) प्रदेश क्षेत्रीय समितिको निर्वाचन प्रक्रिया समेत सुरु हुन सकेको छैन ।
क्षेत्र नम्बर ३ मा क्षेत्रीय सभापति मतदान बाट टुङ्गो लगाइयो । बाँकी पदमा सर्वसम्मत भएको थियो । महाधिवेशन प्रतिनिधिमा भने एकलौटी निर्णय भएको भन्दै इटहरीका नगर सभापति विकास केसीले आरोप लगाए । सामाजिक सञ्जाल फेसबुकका भिडियो सन्देश जारिगर्दै क्षेत्रीय सभापति दीपक ढकालले एकलौटी ढङ्गले सल्लाह नगरी महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको उनको भनाइ थियो ।
इटहरी उपमहानगरपालिकाको अधिवेशनमा सर्वसम्मतिको नाममा जबरजस्ती भएको भन्दै कपुरी न्युजले समाचार प्रकाशित गरिसकेको छ । पदाधिकारीका उम्मेदवारहरूले आफ्नो सहमति बिना नै सर्वसम्मत गरिएको आरोप लगाएका छन् ।
नगर उपसभापतिका उम्मेदवारहरू बिसुधन राई र घनश्याम बरालले अझैसम्म उम्मेदवारी फिर्ता लिएका छैनन् । अन्य उम्मेदवारलाई नेताहरूले सहमति गराएको विषयमा आपत्ति नजनाउने सर्तमा हस्ताक्षर गराइएको छ । सभापतिका उम्मेदवार बालकृष्ण विष्टलाई महाधिवेशन प्रतिनिधि बनाउने सर्तमा उम्मेदवारी फिर्ताको लागि दबाब दिइएको थियो भने उम्मेदवारी नै नदिएका सूर्यनारायण चौधरी सचिव बनेका छन् ।