धरान : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुनसरी जिल्लाबाट सहभागी हुने ब्याडमिन्टन खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ।
जिल्ला खेलकुद विकास समितिको आयोजना तथा सुनसरी जिल्ला ब्याडमिन्टन सङ्घको सह-आयोजनामा भएको प्रतियोगिता समितिका सदस्य देवेन्द्र खड्काको संयोजकत्वमा सम्पन्न भएको हो।
ब्याडमिन्टन सङ्घका अध्यक्ष, राष्ट्रिय ब्याडमिन्टन प्रशिक्षक तथा टेक्निकल इन्चार्ज प्रतीक श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाल ब्याडमिन्टन सङ्घका उपाध्यक्ष चन्द्रशेखर लामा प्रमुख अतिथि थिए।
कार्यक्रममा कराँते प्रदेश अध्यक्ष कुबेर राई, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विमल पोख्रेल, कराँतेका वरिष्ठ प्रशिक्षक किरण लामा, अनुगमन समितिका संयोजक हरिबहादुर राउत, सदस्य चन्द्रकला राई, बक्सिङ प्रशिक्षक निमा तामाङ, धरान ब्याडमिन्टन ग्रुपका अध्यक्ष मणि चाम्लिङ, धरान ब्याडमिन्टन क्लबका सदस्य खगेन्द्र मेन्याङ्बो, अमर सेवा समाजकी उपाध्यक्ष कमला श्रेष्ठ तथा लोटस इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक गणेश राईलगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताको रेफ्री मोहन प्याकुरेल रहेका थिए भने कार्यक्रम सञ्चालन सुनसरी जिल्ला ब्याडमिन्टन सङ्घका सचिव सुरेश कार्कीले गरेका थिए।










































































