धरान : किरात राई यायोक्खाका संस्थापक केन्द्रीय अध्यक्ष गङ्गाराज राईको ७९ वर्षको उमेरमा काठमाण्डौमा दुःखद निधन भएको छ ।
नवमीको दिन कात्तिक २ गते निधन भएका उनको अन्तिम संस्कार बिहीबार एकादशीका दिन धरान स्थित हरियाली बनको समाथीस्थलमा गरिएको यायोक्खाका पूर्व केन्द्रीय अध्यक्ष तिलक राईले बताए ।
दिवङ्गत राई विगत लामो समय देखि पक्षाघातग्रस्त थिए । पछिल्लो समय काठमाडौँ मेडिकल कलेज केएमसी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो ।
अधिकृत तहको सरकारी सेवाबाट अवकाश प्राप्त राईले त्यस अघि पत्रकारितामा पनि गरेका थिए । काठमाडौँ बसोबास गर्दै आएका उनी पञ्चायत राजनीतिका चर्चित राजनीतिज्ञ भूइदल राईको छोरा थिए ।
मुलघर भोजपुर भएका दिवङ्गत पिता भुइदल राईको अन्तिम संस्कार धरानमा गरिएको समधीस्थल सँगै उनको शव समाधिस्थ गरिएको पूर्व अध्यक्ष तिलक राईले बताए । दिवङ्गत राईका शोकाकुल परिवारमा उनको पत्नी, तीन छोरा र एक छोरी छन् ।










































































