वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगर कार्यपालिकाले प्रमुख प्रशासकीय अधिकृत राधिका गिरीलाई मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको छ।

नगर कार्यपालिकाको २०८३ कात्तिक १० गते बसेको ७२औँ बैठकले गिरीलाई अब उप्रान्त कार्यालयमा हाजिर हुन नदिने र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको हो।

गत चैतदेखि वराहक्षेत्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेकी गिरीको कार्यसम्पादन, प्रशासनिक कामकाज र समन्वयमा कमजोरी देखिएको भन्दै कार्यपालिकाले यस्तो निर्णय गरेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाबाट हुने प्रशासनिक कार्य, योजना सञ्चालन, कार्यपालिकाका निर्णय कार्यान्वयन तथा समन्वयलगायत विषयमा गिरीको भूमिकालाई लिएर नगरवासी र सेवाग्राहीबाट गुनासो आउने गरेको बताइएको छ। पछिल्लो चार महिनाको कार्यकालमा कार्यालयको नियमित कामकाजसँग सम्बन्धित विभिन्न कमजोरी देखिएको नगरपालिकाको भनाइ छ।

नगरवासी तथा सेवाग्राहीबाट प्राप्त गुनासा र उनको कार्यसम्पादनलाई आधार बनाएर कार्यपालिकाको बैठकले मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको नगर प्रमुख रमेश कार्कीले बताए।

कार्यपालिकाको निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पत्राचारसमेत गरिएको नगर प्रमुख कार्कीले जानकारी दिए।