वराहक्षेत्र : नेपाली काँग्रेस वराहक्षेत्र नगर कार्यसमितिले शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुक्रवार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ। चक्रघट्टीस्थित नेपाल रेडक्रस सोसाइटी महेन्द्रनगरको प्राङ्गणमा आयोजित कार्यक्रममा काँग्रेसका नेता, कार्यकर्ता तथा विभिन्न तहका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
नगर सभापति रोशन खड्काको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा कोशी प्रदेश महामन्त्री उमेश थापा, नेपाली काँग्रेस सुनसरीका सभापति तथा इनरुवा नगरप्रमुख केदार भण्डारी, जिल्ला उपसभापति नागेशचन्द्र राई, पङ्कज महतो लगायतको विशिष्ट आतिथ्यता रहेको थियो। वराहक्षेत्र नगरप्रमुख एवं काँग्रेसका निवर्तमान नगर सभापति रमेश कार्की पनि कार्यक्रममा सहभागी थिए।
कार्यक्रममा पार्टीका महाधिवेशन प्रतिनिधि, जिल्ला तथा क्षेत्रीय समितिका पदाधिकारी, प्रदेशसभा कार्यसमितिका पदाधिकारी, वडा सभापति, वडा अध्यक्ष, क्षेत्रीय प्रतिनिधि, अग्रज नेता तथा क्रियाशील कार्यकर्ताहरूको उपस्थिति थियो।
चाडपर्वको शुभकामना आदानप्रदानसँगै नेता तथा कार्यकर्ताबिच आपसी भेटघाट, विचार आदानप्रदान र सङ्गठनात्मक एकता सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगर सभापति खड्काले बताए। उनले काँग्रेसको सङ्गठनलाई तल्लो तहसम्म थप सुदृढ, गतिशील र प्रभावकारी बनाउन नियमित संवाद, सहकार्य र समन्वयलाई प्राथमिकता दिइने बताए।
यसैबिच, कार्यक्रमकै अवसरमा नेपाली काँग्रेस वराहक्षेत्र नगर कार्यसमितिको सचिवालय कार्यालयसमेत उद्घाटन गरिएको छ। सचिवालय सञ्चालनमा आएसँगै नगर कार्यसमितिका नियमित साङ्गठनिक गतिविधि, बैठक, छलफल तथा कार्यकर्ता भेटघाटलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको सञ्चालन नगर सचिव युवराज भट्टराईले गरेका थिए भने स्वागत मन्तव्य नगर उपसभापति दिनेश राईले व्यक्त गरेका थिए।









































































