धरान : निकट भविष्यमा हुने स्थानिय चुनावमा नेपाली काँग्रेसले धरान उपमहानगरपालिकाको वडा तथा मेयर, उपमेयरको उम्मेदवार सर्वसम्मत नभए ‘प्रि-इलेक्सन’ बाट चयन गर्ने प्रक्रिया अपनाइने सुनसरी १ क्षेत्रीय सभापति तिलक राईले बताएका छन् ।

गत असोज ११ र १२ गते भएको सुनसरी-१ पार्टीको निर्वाचनमा विजयी पदाधिकारी, सदस्यहरूको पदस्थापन, प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित सभापति राईले सुनसरी क्षेत्र १ को २७ वटै वडामा १/१ जना मात्र वडा अध्यक्षको उम्मेदवार तयार हुन सकेन भने आन्तरिक चुनाव गरेर एक जना चयन गर्न सकिने बताए ।

उनले भने ‘वडाको चुनावमा उम्मेदवर तय गर्न वडामै संयन्त्र तयार गर्नु पर्‍यो ।’ पहिलेको जस्तो आपसमा समझदारी कायम गर्नुको सट्टा ४/५ जनाको नाम पठाउने चलनबाट पार्टीले सर्वसम्म प्रत्याशी चुनावमा उठाउन नसक्ने उनको भनाई थियो । अध्यक्ष राईले भने ‘सर्वसम्मत उम्मेदवार बन्न नसके वडा तहमै कार्यकर्ता बिच ‘प्रि-इलेक्सन’ गरेर एक जना मात्र उम्मेदवार चयन गर्न सकिन्छ ।’

चुनावको मुखमा काँग्रेस कार्यकर्ताहरू बिच एकले अर्कालाई उचाल्ने, पछार्ने प्रवृत्तिका कारण कसैको महत्त्वाकाङ्क्षा बढाउने, कसैलाई हतोत्साहित गरिने काम भइरहेको उनको भनाई छ । उनले भने ‘अहिलेको बदलिएको परिस्थितिमा कसैलाई उचाल्ने कसैलाई पछार्ने नियतले काम नगरौँ ।’

धरान उपमहानगरपालिकामा काँग्रेसको मेयर र उपमेयरको उम्मेदवारको विषयमा जिम्मेदार अगुवाहरू गम्भीर हुनुपर्ने बताउँदै मेयर उपमेयरको उम्मेदवारको कुरा हल्लाको विषय बनाउनु हुँदैन, इच्छुक साथीहरू आपसमा बसेर छलफलबाट यस्ता कुरा परिपक्व बनाउनु उचित हुने बताए ।

अध्यक्ष राईले भने ‘म कुने पनि पदको लागि आफै दाबेदारी गरेर आफै अघि बढ्ने मानिस होइन ।’ उनले पार्टीमा ‘अरू कोही चुनाव जित्ने देखिएन, अनि मैले तयारी गरेँ’ भन्नेहरू पनि हुने गरेको बताए । पार्टीमा आफै स्वघोषित नहुने उदीयमान योग्य प्रतिभाहरू छन् भने उनीहरूलाई प्रोत्साहित गर्नु उचित हुने उनको भनाई थियो ।

उनले भने ‘सबैले भन्छ भने म पनि तयार छु ।’ भन्ने वातावरण तयार गर्न सके, कार्यकर्ताको रुझान को तर्फ कति रहेछ भन्ने बुझ्न सहज भई उम्मेदवार चयन प्रक्रिया लोकतान्त्रिक बनाउन सकिने उनले बताए ।

अध्यक्ष राईले सुनसरी १ मा काँग्रेसलाई सहमतीय आधारमा सुदृढ बनाउन पार्टी चुनाव अघि भएका सहमतिहरू अक्षरशः पालन गरिने बताए । उनले भने ‘म क्षेत्रीय सभापतिको नाताले चुनाव अघि भएका सहमति अक्षरशः पालन गर्छु ।’

तर, बलजफ्ती, बाध्यतामा पारेर, बल पूर्वक घेराबन्दीमा पारेर, नियतवश, जोर जबरजस्ती, घाँटीमा तलवार झुण्डाएर भने सहमति गराउन उचित नहुने उनले बताए । अध्यक्ष राईले काँग्रेस सभापति गगन थापा अहिले पनि पार्टी एकताका लागि शेरबहादुर देउवा पक्षसँग वार्ता गरिरहेको प्रसङ्ग उल्लेख गर्दै भने भने ‘सभापतिलाई माखेसाङलोमा पारेर अप्ठ्यारोमा पार्ने गलत काम गराउन हुँदैन ।’ त्यसले कार्यसमितिलाई नै अप्ठेरोमा पार्न सक्ने उनको भनाई थियो।

सभापति राईले काँग्रेस कोशी प्रदेश महामन्त्री मुकेश थापाले कार्यक्रम बिच गरेको सभापतिको उम्मेदवारी घोषणालाई युवा नेतृत्वमा आएको नयाँ उत्साह बताए । उनले सुनसरी १ बाट महामन्त्रीको सफल नेतृत्व सम्हालेका थापाले साथ दिने कुरामा सुनसरी १ का आधिकारिक प्रतिनिधिहरू एक ढिक्का हुनुपर्नेमा जोड दिए । सभापति राईले भने ‘यस विषयमा हामी द्विविधामा रहनु हुँदैन ।’

कार्यक्रममा नेपाली काँग्रेस सुनसरी १ मा असोज ११ र १२ गते भएको महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि, संसदीय क्षेत्रीय समिति एवं प्रदेश क्षेत्रीय समिति 'क र ख'का अध्यक्ष सहित कार्यसमितिका निर्वाचित पदाधिकारी सदस्यहरूलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरिएको थियो ।

सोही अवसरमा उनीहरूले नेपाली कांंग्रेसको प्रतिज्ञा पत्र सामूहिक वाचन गरी शपथ ग्रहण गरे ।

निर्वाचन अधिकृत अभिवक्ता अनिता राईका सभापतित्वमा भएको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा शपथ ग्रहण सञ्चालन निर्वाचन अधिकृत विष्णु बराल र निर्वाचन अधिकृत हर्ष सुब्बाले प्रमाणपत्र वितरण, धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा प्रदेश क सभापति सन्तोष लिम्बु, प्रदेश ख पूर्व सभापति मुरारी भट्टराईले सुनसरी १ को काँग्रेस अधिवेशन उदाहरणीय भएको बताए । कार्यक्रममा कोशी प्रदेश सभा सदस्य ममता तामाङको पनि उपस्थिति थियो । उनी सुनसरी १ प्रदेश'ख'बाट निर्वाचित महाधिवेशन प्रतिनिधि हुन ।