पथरी : दिनभरि मागेर खाने भिखारीहरू अहिले निकै तनावमा छन् । सामान्य अवस्थामा सडक, पसलहरूमा मागेर खादै आएका भिखारीहरूलाई अहिले के खाने कसो गर्ने चिन्ता छ ।

सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागी लकडाउनमा सर्वसाधारणले सास्ती व्योहोरीरहदा पूर्वी मोरङका राजमार्गमा हिडने माग्ने र भिखारीको बिजोग भएको हो ।

पूर्वी मोरङको उर्लाबारी देखी बेलबारीका सडकका माग्ने र भिखारी ‘लकडाउन’को समयमा पनि सडकमा हिँडिरहेका भेटिन्छन् । मानसिक सन्तुलन गुमाएका, भारतीय मूलका भिखारी र मगन्ते यी सडक खण्डमा बाक्लै भेटिने गरेका छन् ।

‘लकडाउन’ अघि उनीहरू दिनभरमा सहर बजारमा मागेर खान्थे । साँझ जङ्गल छेउछाउका मन्दिर,पाटी र गुम्बामा आश्रय लिएर बस्ने गर्थे । तर, सरकारले‘लकडाउन’ घोषणा गरेयता ती माग्ने र भिखारीहरूलाई समस्या भएको हो । स्थानीय बजारमा माग्ने उनीहरू बजार बन्द भए सँगै समस्यामा परेका हुन् ।

मोरङको पूर्व पश्चिम राजमार्गसँगै जोडिएको बजार पथरी र कानेपोखरीमा भएका त्यस्ता भिखारी र मागी खानेहरूले पानी सम्म पिउन नपाएको स्थानीयको भनाई छ । होटेल, फलफूल पसल, किराना पसल सबै बन्दछन् ।

व्यापारीहरू आफैँ सङ्कटमा परेको बेला भिखारी, मगन्ते र मानसिक सन्तुलन गुमाएका मानिसहरूलाई कसले खान दिने ? स्थानीयवासीको भनाइ रहेको छ ।

भारतबाट विभिन्न सामान बोकेर नेपाल आएका भारतीय गाडीले समेत भिखारी र मगन्ते ल्याउने गरेको स्थानीयवासी बताउँछन् । यसरी भारतीय ट्रकमा आएका भिखारी नेपालका सडकमा वाट भित्री बजार सम्म पुग्ने गरेका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको उर्लाबारीबाट पश्चिम तर्फ बेलबारीसम्म उत्तर-दक्षिण जङ्गल क्षेत्र पर्छ । सोही क्षेत्रमा गाडीले भिखारी र माग्नेलाई छोडिदिने गर्छन् ।