इटहरी : उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा राजनीतिक छाया देखिएको छ । पार्टीगत आबद्धता र उम्मेदवारमा दलीय हस्तक्षेपले निर्वाचन रोचक र राजनीतिक बन्दै गएको हो ।

असार २७ गते हुने इटहरी उद्योग वाणिज्य सङ्घको निर्वाचनमा दुई प्यानल बिच प्रतिस्पर्धा हुने भएको छ । जसमा एकातर्फ नेकपा एमाले र नेपाली काँग्रेस समर्थित व्यवसायीको प्यानल छ भने अर्को प्यानललाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साथ दिएका छन् । नेकपा र रास्वपा समर्थित व्यापारी व्यवसायी गायत्री कटवालको पक्षमा लागेका छन् भने काँग्रेस एमालेको तर्फबाट नवराज काफ्ले नेतृत्वको प्यानल चुनावी मैदानमा छ ।

यसअघि नेपाली काँग्रेसको आधिकारिक उम्मेदवार बनेकी गायत्री यस पटक पनि काँग्रेसबाटै उम्मेदवार बन्ने तयारीमा थिइन् । काँग्रेसले गायत्रीको नाममा सहमति नगरी नवराजलाई उम्मेदवार बनायो । काँग्रेसबाट आधिकारिक उम्मेदवार बनेका नवराजको नेतृत्वमा एमाले सहमत भएपछि दुई दलीय गठबन्धन बनेको हो ।

गठबन्धनका एसोसिएट तर्फका उम्मेदवार विनोद पौडेल सर्वसम्मत निर्वाचित भइसकेका छन् । अन्य पदका भने प्रतिस्पर्धा देखिएको छ । कटवालको प्यानलमा उद्योगमा एक जना, महिलामा दुई र ९ जनाको वाणिज्य तर्फ ४ जनाको मात्र उम्मेदवारी परेको छ ।

गठबन्धनका उम्मेदवार नवराजको नेतृत्वमा प्यानलै घोषणा भएको छ । उद्योगी व्यवसायीको निर्वाचनमा दलीय हस्तक्षेप भएको भन्दै आलोचना भए पनि दुवै प्यानलमा दलको प्रभाव बढ्दै गएको छ । गठबन्धनमा काँग्रेसले अध्यक्ष र कोषाध्यक्ष पाउँदा एमालेले वरिष्ठ उपाध्यक्ष र महासचिव पाउनेगरि सहमति भएको छ ।

एकातर्फ गठबन्धन र अर्कातर्फ दलीय समर्थनले निर्वाचन थप रोचक बन्दै गएको छ । नेकपा सुनसरीका सहसंयोजक मदन चुँडालले यसअघि पनि पराजित भएको र काँग्रेस एमालेको छुट्टै गठबन्धन भएकाले गायत्रीलाई सघाउने बताए । महिलाको नेतृत्वको परीक्षणको लागि गायत्रीलाई विभिन्न राजनीतिक दलहरूले समर्थन गरेको उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्र (नेकपाको पालिका गठन नभएको) इटहरीका अध्यक्ष राजकुमार आचार्यले कटवालकै प्यानलमा सहयोग गर्ने बताएका छन् । माओवादी निकट नेपाल उद्योग व्यापार महासङ्घ कोशी प्रदेश अध्यक्ष समेत रहेका आचार्यले काँग्रेस र एमालेका उम्मेदवारका विरुद्धमा गायत्रीको उम्मेदवारी परेकाले सहयोग गरिएको बताएका हुन् ।

रास्वपा कोशी प्रदेश अध्यक्ष चन्द्र बहादुर राईले दलीय सिन्डिकेट अन्त्य होस् भन्ने अभियानमा रास्वपा रहेकाले गायत्रीलाई समर्थन गरिएको सुनाए । रास्वपा निकट व्यवसायी साथीहरूलाई सोही अनुसार आग्रह गरिएको बताउँदै उनले गायत्रीको पक्षमा रास्वपा रहेको प्रस्ट पारे ।

गायत्रीलाई केही काँग्रेस र राप्रपाका व्यवसायीले समेत साथ दिएका छन् । राप्रपाका नेताहरू उनलाई जिताउन अभियानै बनाएर लागि परेका छन् । मुख्यतः इटहरी उपमहानगरपालिकाका मेयर तथा काँग्रेस नगर सभापति हेमकर्ण पौडेलसँग असन्तुष्टको समूह उनको पक्षमा देखिएको छ । पौडेलले नवराजलाई समर्थन गरेपछि उनको विरुद्धका राजनीतिक दल र स्थानीय व्यापारी गायत्रीको पक्षमा लागेका हुन् ।