इटहरी : कोशी प्रदेश सरकारले लगानी प्राधिकरण मार्फत प्रदेशको आफ्नै डाटा सेन्टर स्थापना गर्ने तयारी गरेको छ । सुनसरीको इटहरीमा सार्वजनिक निजी साझेदारी अन्तरगत डाटा सेन्टर स्थापना गर्ने र सूचना प्रविधि क्षेत्रलाई विस्तार गर्ने योजना अगाडी सारेको हो ।

सार्वजनिक निजी साझेदारी मोडेलमा सम्भाव्यता र अवधारणा योजना स्वीकृत भइसकेको प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए । कोशी प्रदेश आमसञ्चार ऐन मार्फत डिजिटल पूर्वाधारको सबलीकरण र आर्थिक विकासलाई केन्द्रमा राखिएको उनले प्रस्ट पारे । प्रकोप नियन्त्रण तथा व्यवसायीक विकासमा ध्यान दिँदै डिजिटल सरकारको अवधारणामा जोड दिएको उनको भनाइ छ ।

कोशी प्रदेश सरकार निजी क्षेत्रको सहकार्यमा डिजिटल प्रविधिको प्रयोग गर्दै आर्थिक उन्नति गर्ने लक्ष्य लिएको छ । प्रविधिलाई नवप्रवर्तनमा जोड्दै रोजगारी सृजना गर्ने सरकारको उद्देश्य छ । सरकारको तयारीसँगै निजी क्षेत्रले समेत आफ्नो उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइसकेको छ । 

विदेशी बजारमा नेपाली प्रविधि 

बाइक चोरीका घटनालाई नजिक बाट नियालिरहेका युवाहरूले ट्रयाकीङ जिपिएस सिस्टम सुरु गरे । त्यही सिस्टमले सरोज राउत र निशान राई इटहरीमा बसेर अन्तर्राष्ट्रिय बजार सम्म पुर्‍याएको छ । आइटीको क्षेत्रमा व्यापक सम्भावना भएको चर्चा हुनु अगाडी नै राई र राउतले तिन वटा सिस्टमको प्रयोग गरिसकेका छन् । प्रयोग मात्र हैन प्रयोगमा सफल पनि भए । ६ वर्ष अगाडी नै आइटी सोच मार्फत उनीहरूले ब्लग पोर्टल सुरु गरे ।

‘आइटी सोच’ स्थानीय र ग्लोबल रूपमा आएका आइटी सँग सम्बन्धित सूचना र जानकारी दिने पोर्टल हो । आइटीको बजार सँगै पोर्टलका भिजीटर्स बढ्यो । आइटी सोच मोबाइल एप्लीकेसन र वेबसाइट डिजाइनमा लाग्यो । त्यही बिचमा कम्पनी दर्ता गराए । इटहरीलाई केन्द्रित गरेर विज्ञापनको लागि कन्टेन्ट म्यानेजमेन्ट सिस्टम (सिएमएस) तयार पारे ।

त्यससँगै पूर्वको विभिन्न सहरहरूमा टेलिभिजन स्क्रिन जडान गरेर विज्ञापन नयाँ सम्भावनामा काम सुरु गरे । २० ठाउँमा टेलिभिजन राखेर ‘इन्फोर्टेन्टमेन्ट’ नाम दिए । इन्फरमेसन र इन्टरटेन्टमेन्ट सहितको इन्फोर्टेन्टमेन्ट दुई वर्ष सम्म चल्यो । बिचमा आउने विज्ञापनले आम्दानी बढ्दै गए पनि निरन्तरतामा समस्या आयो । एयरपोर्ट र बसपार्कमा हाल्नुपर्ने अवस्था भएपछि लगानी नगर्ने सोचमा पुगे उनीहरू । टेलिभिजन स्क्रिनमा विज्ञापन गरेर पैसा कमाउने गज्जबको उपायबाट बाहिरिए ।

त्यसपछि डिजिटल साइनेज सिस्टमको प्रतिपाद भयो । स्टाटीक साइनेज भन्दा पनि डिजिटल साइनेको माग बढेपछि त्यसलाई विस्तार गरिएको हो । होर्डिङ बोर्डहरूमा देखिने डिजिटल विज्ञापनलाई घरैबाट नियन्त्रण र परिवर्तन गर्न सकिने भएकाले स्टाटीक साइनेज भन्दा फरक भएको उनको भनाइ छ ।

डिजिटल साइनेज सिस्टम अमेरिका, क्यानडा लगायत देशहरूमा प्रयोगमा आइरहेको छ । विदेशका प्रयोगकर्ता बढिरहेको र डिजिटल साइनेजको नयाँ प्रडक्ट ल्याउने तयारीमा छन् उनीहरू । आइटी क्षेत्रमा नयाँपन दिइसके सबैतिर सम्भावना रहेको बताउँछन् राउत ।

आफ्नै कम्पनीको बाइक चोरी हुन लागेपछि झस्किएका राउत र राईले आइटी क्षेत्रमा अर्को क्रान्ति गरे । बाइकमा जिपिएस जडान गरेर सुरक्षित गर्ने खोजेका उनीहरूले भरपर्दो सिस्टम नपाएपछि आफैले सिस्टम विकास गरेका हुन् ।  जसलाई ट्रयाकन जिपिएसको नामले चिनिन्छ । ‘ट्रयाकन नेपाल’ नामको कम्पनीमा राई र राउत सँगै जोडिए विजय राजवंशी । तिन जना युवाहरूको संयुक्त इफोर्टले टेलीम्याट्रीक्स इन्डस्ट्रीजमा नयाँपन दिएको छ ।

चोरी नियन्त्रणको लागि सुरु भएको सिस्टम अहिले फ्लीट म्यानेजमेन्टको लागि उपयोगी बन्दै गएको छ । भारत र चाइनाबाट ल्याएको सफ्टवेयरमा धेरै झन्झट परेपछि फ्लीट म्यानेजमेन्टको लागि ट्रयाकन जिपिएस प्रभावकारी देखिएको छ । सोही इनोभेसनले आइसिटी अवार्ड दिलाएको छ । सन् २०२३ को आइसिटी अवार्डबाट सम्मानित भयो ट्रयाकन नेपाल । जसले धेरै ऊर्जा र फैसला मिलेको बताउँछन् राउत ।

समय क्रममा ट्रयाकीङ सिस्टम ठुला कम्पनी, विद्यालय, सरकारी कार्यालय र हायर पर्चेजको लागि अनिवार्य बन्ने कम्पनीको विश्वास छ । हायर पर्चेजले गाडीको पैसा असुल्न झन्झट बेहोर्नु पर्ने अवस्थाको अन्त्य हुने देखिएको छ । गाडीको लोकेसन मात्र हैन गाडी चल्नै बन्द गर्ने सम्मको सिस्टम विकास भएको यस सिस्टमले ठुला कम्पनीमा कर्मचारीको खर्च कटौतीमा काम गर्नेछ ।

सवारीसाधनमा एउटा सानो उपकरण जडान गरिन्छ । जसले मोबाइल एप र वेब एप मार्फत सवारी ट्र्याक गर्न मद्दत गर्दछ । मोबाइल एप एन्ड्रोइड र आइओएस दुवै किसिममा उपलब्ध हुन्छ । उपकरणले मोबाइल नेटवर्कमार्फत डेटा पठाउन सिम कार्डको प्रयोग हुन्छ । उपकरणमै समावेश गरिएको सिम कार्डले लोकेसन र सम्पर्क सूत्रको काम गर्छ । ट्रयाकअनको सेवा प्रयोग गर्दा पहिलो वर्षका लागि सिम कार्ड निःशुल्क प्रदान गरिने र हरेक वर्ष न्यून शुल्कमा नवीकरण गर्नुपर्ने बताउँछन् राउत ।

सिस्टममा ‘युनिक सेलीङ प्वाइन्ट’ बढाउन जिओ फेन्स समेत तयार पारिएको छ । गाडी कहाँ पुग्यो भन्ने जानकारीको लागि गाडी गुड्ने बाटोमा ‘जिओ फेस्न’ तोकेपछि सम्बन्धित ठाउँमा पुग्ने बित्तिकै सिस्टमले सङ्केत दिन्छ । पछिल्लो समय लजीस्टीक कम्पनीको रूपमा प्रख्यात ‘नेपाल क्यान मुभ’ले पनि ट्रयाकअन जिपिएस जडान गरेको राउत बताउँछन् ।

नेपाल विद्युत् प्राधिकरणले समेत दुई सय वटा गाडीमा सोही जिपिएस सिस्टम जडान भएको छ । उनका अनुसार ट्रान्सपोर्ट कम्पनीले यसलाई भरपुर प्रयोग गर्न सक्ने देखिएको छ । इटहरी उपमहानगरपालिकाले खरिद गरेको विद्युतीय बसमा समेत सोही जिपिएस जडान भएको छ ।

डकुमेन्टको फिचर मार्फत कम्पनीलाई कुनै डकुमेन्ट चाहियो भने सिस्टममा राख्न सकिने व्यवस्था मिलाइएको छ । गाडीको रिन्यु देखि चालकको लाइसेन्स सम्मको अलर्ट सिस्टमले आफै गर्ने गर्दछ । ड्राइभर म्यानेजमेन्ट सिस्टममा ड्राइभरको तालीका र डिटेल राख्ने व्यवस्थापन गरिएको छ ।

रुट म्यानेजमेन्टको नयाँ सिस्टम ल्याउने तयारीमा छ कम्पनी । कुन रुटमा जाँदा सहज हुन्छ त्यस बारेमा सिस्टमले आफै जानकारी दिने गरी तयार पार्न लागिएको राउतले जानकारी दिए । उनले भने, ‘१० स्थानमा जानुपर्‍यो भने कुन सहज र सरल रुट छ भन्ने एपले देखाउँछ । कुनमा चाँडो जाने र कुनमा अन्तिममा जाने विषयको निर्देशन सिस्टमले दिन्छ ।’

ललितपुरको कुपण्डोल स्थित कार्यालयबाट १२ र इटहरी बाट ३ जनाले काम गरिरहेका छन् । अहिले सिस्टमको माग बढिरहेको अवस्थामा डिलरसीप मार्फत काम गरिरहेको उनले बताए । कम्पनीले वल्कमा डिभाइस विक्री गर्ने गरेको छ । विभिन्न डिलर मार्फत सेवा प्रदान गरिरहेको राउतको भनाइ छ । बिर्तामोड, बुटवल, भैरहवा, इटहरी, जनकपुर लगायत सहरबाट सेवा प्रदान गरिरहेका छन् ।

५ हजार देखी १० हजार डलर सम्ममा विक्री गर्ने गरेको उनले बताए । क्यानडामा विक्री भइसकेको सिस्टम अन्य देशबाट पनि माग भइरहेको बताएका छन्।

Trachon gps

भारतीय बजारमा नेपाली एप 

नेपालमा पहिलो पटक गाडी उत्पादन गरेर सुरेन्द्र गोल्छाले नयाँ क्रान्तिको सुरुवात गरे । विश्वमै विद्युतीय गाडीको भर्खरै विस्तार भइरहेको बेला सुरेन्द्रले हुलास मोटर्स मार्फत विद्युतीय गाडीको आविष्कार भयो । अहिले सोही उद्योगबाट तिनपांग्रे विद्युतीय रिक्सा मात्र उत्पादन हुन्छ । 

सुरेन्द्रका छोरा मुदित गोल्छा आइटी क्षेत्रमा सक्रिय भएर लागेका छन् । मुदितले विकास गरेको ‘लोक्ता’ किराना पसलको हिसाब किताब र स्टक राख्न महत्त्वपूर्ण एप हो । बजारको अनुसन्धान गरेर एप विकास गरेको बताउँछन् उनी । अहिले विश्व नै डिजिटल भइसकेको अवस्थामा विद्युतीय भुक्तानी सँगै विद्युतीय स्टक र मार्केट सर्भेपनि सोही अनुसार हुनुपर्ने उनको भनाइ छ ।

नेपालमा प्रविधिको जुन विकास भएको छ यसले धेरै सम्भावनाको उजागर गरेको उनको विश्वास छ । उनका बा सुरेन्द्रले किरानालाई लक्षित गरेर एप विकास गर्न दिएको सुझाव अनुसार लोक्ताको जन्म भएको हो । कक्षा १२ को अध्ययन सेकेका मुदित आइटीमा धेरै सम्भावना भएको ठान्छन् । सुरेन्द्रले उनलाई आइटीकै सम्भावना बारे र नयाँ इनोभेसन बारे सोध्ने र जानकारी दिने गर्छन् ।

सुरेन्द्रको त्यही आइडिया भारतीय बजारसम्म पुगेको छ । भारतका व्यापारीहरू लोक्ताको ग्राहक बनेका छन् । मुख्यतः किराना पसलमा उपयोग हुने सो एपले नेपाली र भारतीय बजारलाई प्रभावमा पारेको छ ।

नयाँ प्रविधिसँग नजिकिएर मात्र आर्थिक विकास हुने बा छोराको बुझाइ छ । मुदितले भने, ‘लोक्ताले किराना पसलको समस्या समाधान गर्छ । मार्केट सर्भे गर्दा ससाना खर्च र आम्दानीको रेकर्ड नगर्ने बानी धेरै रहेको पाइयो । त्यही कारणले धेरैको व्यापारिक चेन बिग्रिएको देखिन्छ । अब ससाना कुरालाई कसरी समेट्ने र व्यापारको खास स्वरूप के छ भन्ने जानकारी गराउन लोक्ताले काम गर्छ । सामानको विक्रीको अवस्था र आगामी दिनमा धेरै चल्ने सामानको बारेमा एपले अगाडी नै जानकारी दिन्छ । व्यापारीलाई पूर्व तयारीको लागि समेत एपले सचेत गराउँछ । जसबाट सामान स्टोरेज हुने समस्या समाधान हुन्छ ।’

बिजनेस हाउसमा डेल्टा 

सन् २०१६ मा एकता गोल्छाले ‘डेल्टा टेक’ स्थापना गरिन् । डेल्टा टेकले ‘डेल्टा सेल्स एप’ निर्माण गरेर भारतका विभिन्न कम्पनीलाई उपलब्ध गराएको छ । पछिल्लो समय व्यापक बन्दै गएको डेल्टा सेल्स एपले उद्योगीलाई व्यवसाय सञ्चालनमा सहयोगी बनेको छ । व्यवसाय सँग सम्बन्धित नयाँ सफ्टवेयर डेभलपमेन्टमा पनि डेल्टाले काम गरिरहेको छ । डेल्टा सेल्स एपले उद्योग व्यापारका हरेक गतिविधिलाई रेकर्ड र ट्र्याक गर्ने गर्दछ । भारत र अमेरिका सम्म बिजनेस विस्तार गरेको डेल्टा सेल्स एपले मार्केटिङको नयाँ तरिका विकास गरेको छ । 

बजारको पैसा उठाउन, अर्डर गर्न र मार्केटको अवस्थाबारे एपले ट्र्याक गर्छ । बजारको आवश्यकतालाई मध्यनजर गर्दै एपले मुख्य गरी कम्पनीका विभिन्न गतिविधिको ट्रयाकिङ र रेकर्ड राख्ने काम गर्छ । डिस्ट्रिव्युटर प्यानल, बिक्रेता र बीटुबी इकमर्स एप गरी तीन वटा मुख्य फिचर एपका समावेश गरिएको छ । कम्पनीमा काम गर्ने सेल्सम्यान वा म्यानेजर परिवर्तन पछि हुने झन्झट हटाउन एपको रेकर्डबाट विगतका सम्पूर्ण डिटेल पत्ता लगाउन सकिन्छ ।

डिजिटल कोशीको अवधारणमा सरकार 

कोशी प्रदेशका युवाहरूले डिजिटल बजार विस्तार गरेपछि सरकार उत्साहित भएको छ । प्रदेश सरकारले स्टार्टअप परियोजनामा लगानी गर्ने र त्यसमा डिजिटल क्षेत्रलाई समेत समेट्ने बताएको छ । कोशी प्रदेशका आन्तरिक मामिला मन्त्री इन्द्रमणी पराजुलीका अनुसार यो डिजिटल समय भएकाले युवाहरूको रुचि र क्षमता अनुसार सरकारले नीति तय गरेको छ । 

प्रदेश सरकारले आइटी क्षेत्रलाई रोजगारी र आर्थिक विकासको मेरुदण्डको रूपमा अगाडी बढाउने मन्त्री पराजुलीले बताए । सरकारले सुरक्षित र व्यवस्थित रूपमा आइटी क्षेत्रलाई विस्तार गर्ने र युवाहरूको उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने उनको भनाइ छ ।

koshi data