धरान : राष्ट्रिय धान दिवसको अवसरमा धरानमा आयोजित १२ औँ धरान रोपाई महोत्सव सोमवार कोशी प्रदेश कृषि मन्त्री इस्राईल मन्सुरीले प्रारम्भ गरेका छन् । देशभर २३ औँ राष्ट्रिय धान दिवस मनाइरहेको बेला धरानमा रोपाइँ महोत्सव आयोजना गरिएको हो ।
धरान–६ पानबारीमा आयोजित कार्यक्रममा उनले भने ‘जलवायु परिवर्तन, खडेरी र हावाहुरीका कारण किसानहरू प्रभावित भइरहेकाले आधुनिक प्रविधिको प्रयोग गरेर कृषि उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता बढेको छ ।’
उनले कृषि ज्ञान केन्द्रको तथ्याङ्क उद्धृत गर्दै हालसम्म सुनसरी जिल्लामा १९ प्रतिशत र कोशी प्रदेशभर १५ दशमलव ३४ प्रतिशत धान रोपाइँ भएको जानकारी दिए । प्रदेशका १४ जिल्ला मध्ये भोजपुरमा सबैभन्दा बढी ६८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने झापामा सबैभन्दा कम ६ दशमलव १३ प्रतिशत मात्र रोपाइँ भएको उनले बताए ।
मन्त्री मन्सुरीले प्रदेश सरकारले कृषिको यान्त्रिकीकरणलाई प्राथमिकतामा राख्दै आधुनिक कृषि औजार तथा उपकरणको प्रयोग विस्तार गर्ने नीति लिएको बताए। यसबाट उत्पादन लागत घट्ने,श्रमको अभाव कम हुने र उत्पादन वृद्धि हुने विश्वास उनले व्यक्त गरे।
उनले चालु आर्थिक वर्षको बजेटमा कृषि प्राविधिक परिचालन, सिँचाइ विस्तार, उन्नत बीउको व्यवस्था, रासायनिक मलको सहज उपलब्धता,कृषि उपजको बजारीकरण तथा किसान बीमा कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए ।
राष्ट्रिय धान दिवस किसानको श्रम, योगदान र समर्पणप्रति सम्मान व्यक्त गर्ने अवसरसमेत भएको उल्लेख गर्दै उनले किसानलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्रविक्रम बेघाले पनि रोपाइँमा सहभागी हुँदै कृषकहरूलाई प्रविधिमैत्री कृषि प्रणाली अपनाउन आग्रह गरे।
आधुनिक प्रविधिको प्रयोगले कृषि उत्पादन बढाउनुका साथै उत्पादन लागत घटाउन पनि सहयोग पुग्ने उनको भनाई थियो । प्रविधिमा आधारित खेती नै कृषि क्षेत्रको दिगो विकासको आधार भएको उनले बताए।
सहभागी कृषि सहकारी संस्थाद्वारा ‘जलवायुमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि र आत्मनिर्भरता’ राष्ट्रिय मूल नाराका साथ महोत्सव गरिएको हो । महोत्सवमा जनप्रतिनिधि,कृषि क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधि, सहकारी कर्मी, किसान तथा स्थानीयवासी सहभागी थिए ।