धरान : धरान-पोखरा रुटमा डेढ करोड रुपैयाँ लगानीको सुविधा सम्पन्न सुपर भिआइपी लक्जरी बस सञ्चालनमा आएको छ।
नयाँ बस जगदम्बा ट्राभल्स प्रालिले आज शुक्रवार देखी नियमित रात्रिकालीन सेवामा सञ्चालन गरेको हो।
भानुचोकबाट छुट्ने बस सेवाको उद्घाटन यातायात व्यवसायीहरूको उपस्थितिमा कोशी प्रदेश यातायात संयोजक सरोज श्रेष्ठले गरेका छन् ।
जगदम्बा ट्राभल्स प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीका अनुसार बसले हरेक दिन धरान–पोखरा रुटमा रात्रिकालीन सेवा सञ्चालन गर्नेछ। यो सेवा पूर्वाञ्चलकै पहिलो सुपर भिआइपी लक्जरी बस भएको उनले दाबी गरे ।
बसमा ३६० डिग्रीसम्म समायोजन गर्न मिल्ने सिट, सिट बेल्ट, रिमोटबाट सञ्चालन हुने सिट, कम्बल तथा पर्याप्त लेग–स्पेसको व्यवस्था र भएको शौचालयको सुविधा छ ।
बस पूर्ण वातानुकूलित प्रणाली (एसी), हिटर–कुलर, रेफ्रिजेरेटर, फुड ट्रली र टेलिभिजन जस्ता सुविधायुक्त छ।यात्रुले व्यक्तिगत मिडिया स्क्रिन, उच्च गुणस्तरको साउन्ड सिस्टम तथा निःशुल्क वाइफाइ प्रयोग गर्न सक्नेछन्।
यात्राका क्रममा निःशुल्क ब्रेकफास्ट, चिया–कफी, चिसो पेय पदार्थ, मिनरल वाटर र दैनिक पत्रिका उपलब्ध गराइने कम्पनीले जनाएको छ।
सुरक्षालाई प्राथमिकता दिँदै बसमा अनुभवी चालक, प्राथमिक उपचार सामग्री (फर्स्ट एड बक्स) तथा ट्यागसहितको व्यवस्थित लगेज व्यवस्थापनको सुविधा राखिएको कम्पनीले जनाएको छ ।
भिआइपी बस सेवाको टिकट दर प्रतिव्यक्ति करिब २ हजार रुपैयाँ निर्धारण गरिएको छ। रात्रिकालीन लक्जरी बसमा यात्रुको चाप रहने भएकाले अग्रिम बुकिङ गर्न कम्पनीले यात्रुलाई आग्रह गरेको छ।
कार्यक्रममा कोशी प्रदेश यातायात व्यवसायी राष्ट्रिय महासङ्घ संयोजक सरोज श्रेष्ठले जगदम्बाको लक्जरी बस कोशी प्रदेशमै पहिलो प्रकृतिको अत्याधुनिक सेवा भएको बताएका छन्।









































































