धरान : धरानमा जारी तेस्रो मेयर कप स्कुल ओलम्पिक अन्तर्गत मङ्गलवार सम्पन्न क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस स्कुलले सैनिक आवासीय महाविद्यालयलाई ७९ रनले पराजित गर्दै उपाधि जितेको छ।
क्षेत्रीय स्तरको प्रतियोगितामा १० विद्यालयका टोली सहभागी थिए। फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस स्कुलले निर्धारित १२ ओभरमा ६ विकेट गुमाउँदै १३५ रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो।
नेपाल पुलिस स्कुलका लागि हेमन्त यादवले ५२ रनको अर्धशतकीय इनिङ्स खेले भने धबित यादवले ३७ रन जोड्दै टोलीको योगफल मजबुत बनाए।
१३६ रनको लक्ष्य पछ्याएको सैनिक आवासीय महाविद्यालय नेपाल पुलिस स्कुलको अनुशासित बलिङ आक्रमणसामु टिक्न सकेन। सैनिक टोली ८.३ ओभरमा ५६ रनमै समेटियो। सैनिक आवासीयका लागि ऋतुराज कुशवाले सर्वाधिक १२ रन बनाए भने हिमांशु कुमार सिंहले ८ रन जोडे।
नेपाल पुलिस स्कुलका विनय साफीले ३.२ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए। शिवम यादवले ०.३ ओभरमा २ विकेट लिएर टोलीको जित सहज बनाए।
उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाएका हेमन्त यादव ‘म्यान अफ द म्याच’ घोषित भए।
प्रतियोगितामा नेपाल पुलिस स्कुल विजेता तथा सैनिक आवासीय महाविद्यालय उपविजेता बने। लिगामेन्ट आवासीय विद्यालय र विष्णु मेमोरियल स्कुल संयुक्त तेस्रो स्थानमा रहे।



































































