धरान : हङकङमा रहेका धरानेहरूका प्रतिनिधि संस्था धरान हङकङ मञ्चको अध्यक्षमा संजोक राई निर्वाचित भएका छन् । मञ्चको बाह्रो अधिवेशनले राईलाई सर्वसम्मतले निर्वाचित गरेको हो ।
हङकङको जोर्डनस्थित किरात याक्थुङ चुम्लुङको सभा हलमा आइतबार भएको अधिवेशनले राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतीबाट गठन गरेको छ । धरान हङकङ मञ्च हङकङमा रहेका धरानेहरुको कहितका लागि सन १९९९ मा स्थापना भएको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रविन तामाङ, सचिवमा विकास चाम्लिङ राई, सहसचिवमा मनोज श्रेष्ठ तथा कोषाध्यक्षमा दिलकुमार राई सज्नु चयन भएका छन् ।
सदस्यहरूमा रोशन लिम्बु, किशोर लिम्बु, विजयप्रसाद राई, जोना गुरुङ, राजकुमार राई, आविष्कार लिम्बु, खगेन्द्र लिम्बु कैलाश र उदय लिम्बु रहेका छन् ।
निर्वाचन समितिका अध्यक्ष, मञ्चका संस्थापक इन्द्र बनेम, सदस्यहरू विष्णु पाख्रिन र नानीचन्द्र लिम्बूले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको घोषणा गरेका थिए । 
अध्यक्ष पदको शपथ ग्रहण गरेपछि संजोक राईले धरान हङकङ मञ्चलाई थप सशक्त र प्रभावकारी बनाउँदै हङकङमा रहेका धरानेहरूलाई एकताबद्ध गरी धरान र धरानेहरूको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अधिवेशन प्रमुख अतिथि हङकङ नेपाली महासङ्घका अध्यक्ष नवीन सुहाङले उद्घाटन गरेका थिए । उनले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।
हङकङ नेपाली महासङ्घका पूर्व अध्यक्ष सिएसटिएसका संयोजक रिता गुरुङले धरान हङकङ मञ्चलाई महासङ्घको ‘मेरुदण्ड’ को संज्ञा दिँदै यसको भूमिकाको प्रशंसा गरिन । महासङ्घका पूर्व अध्यक्ष प्रदीप थापाले धरानमा पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद तथा सामाजिक क्षेत्रमा आवश्यक सहकार्य र सहयोग गर्न आफू सदैव तयार रहने बताए ।
यसअघि बन्द सत्रमा मञ्चका सचिव रमेश चाम्लिङ नाम्राछाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मनोज क्षेत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सदस्य रविन तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
उद्घाटन कार्यक्रममा धरान युथ एसोसिएसनका अध्यक्ष अमोद तुलाधर, किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष शमशेर लिम्बु, धरान–१७ समाज हङकङका अध्यक्ष मधुकुमार राई, जीवन यात्रा समूहका प्रतिनिधि विक्रम आले लगायत सहभागी थिए ।