धरान : धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख अइन्द्रबिक्रम बेघाले प्रेस स्वतन्त्रता र उत्तरदायी पत्रकारितालाई प्रोत्साहित गर्न धरान उपमहानगरपालिका स्थानीय सञ्चार क्षेत्र सँग सहकार्य गर्दै अघि बढेको बताएका छन् ।

कावा प्रमुख बेघाले उपमहानगरपालिकाद्वारा मङ्गलवार लिम्बु पत्रकार सङ्घ सुनसरीलाई प्रदान गरिएको तालिम, प्रशिक्षण सञ्चालन गर्न आवश्यक उपकरण प्रोजेक्टर हस्तान्तर गर्दै उक्त कुरा बताएका हुन ।

उनले नेपाल पत्रकार महासङ्घ, आदिवासी जनजाति पत्रकार महासङ्घ, अनलाइन मिडिया एशोसिएशन सहित सञ्चार संस्थाहरूलाई संस्थागत विकासका साथै सञ्चारकर्मीहरूको वृत्ति विकासका लागि सक्दो सहयोग प्रदान गरेको बताए ।

कार्यवाहक प्रमुख बेघाले भने ‘स्थानीय सरकारले गरेका कार्यहरूलाई स्थानीय सञ्चार तथा धरानमा कार्यरत राष्ट्रिय सञ्चार माध्यमका सञ्चारकर्मीहरूले निष्पक्ष समीक्षात्मक दृष्टिकोण रहोस्, राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो लेखियोस् भन्ने हाम्रो आग्रह छ।’

लिम्बु पत्रकार सङ्घका केन्द्रीय सल्लाहकार हर्ष सुब्बाले सङ्घको सुनसरी शाखालाई तालिम, गोष्ठीहरूका लागि आवश्यक उपकरण प्रोजेक्टर प्रदान गरेर धरान उपमहानगरपालिकाले सञ्चार क्षेत्रलाई संस्थागत रूपमा सशक्तीकरण गर्ने असल नीति अपनाएकोमा कार्यवाहक प्रमुख बेघाप्रति आभार प्रकट गरे ।

सो अवसरमा सङ्घलाई प्राप्त प्रोजेक्टर कावा प्रमुखबाट सङ्घकी सुनसरी जिल्ला सचिव टिना लिम्बु, जिल्ला सदस्य जीवन तेयुङलाई हस्तान्तरण गरियो । हस्तान्तरणको अवसरमा सङ्घका केन्द्रीय सल्लाहकार भैरव आङ्ला, जिल्ला सल्लाहकार सङ्गीता सुब्बा लगायत उपस्थित थिए ।

उपमहानगरपालिकाले सङ्घ सुनसरीलाई ओप्टोमा प्रोजेक्टर (एक्स ४०० लाइभ) १ थान प्रदान गरेको हो । लिम्बु पत्रकार सङ्घले समय र युग अनुसार प्रविधिलाई पछ्याउन लिम्बू पत्रकार सङ्घले विभिन्न ट्रेनिङ सञ्चालन गर्दा आवश्यक पर्ने भएकोले उपमहानगरपालिकासँग प्रोजेक्टर माग गरेको थियो।